बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लिखुखोला जलविद्युत परियोजना ठप्प पार्ने चेतावनी

मङ्गलबार, २९ जेठ २०७५, १९ : ४३
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौं– लिखुखोला जलविद्युत परियोजनाका विस्थापितहरुले १५ दिनभित्र स्थानीय बासिन्दाका मागहरु सम्बोधन नगरे आयोजनाको सम्पूर्ण काम नै ठप्न पार्ने चेतावनी दिएका छन् ।  सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाका स्थानीय बासिन्दाले सो चेतावनी दिएका हुन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरेर उनीहरुले सडक निर्माण गर्दा डिपिआर अनुसार गरिनुपर्ने, परियोजना प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक रोजगारी दिनुपर्ने, स्वास्थ्य, शिक्षा भौतिक पूर्वाधार सहित ५० शैयाको अस्पताल निर्माण गर्नुपर्ने, समाजिक वातावरणमा देखिएको विकृतिको अन्त्य गर्नुपर्ने, जग्गाको मुल्य पारदर्शी हुनुपर्ने लगायतका २० बुँदे मागहरु अघि सारेका छन् । आफ्ना मागहरु सम्बोधन नगरे आयोजना निर्माण कार्यनै ठप्प पार्ने उनीहरुको चेतावनी थियो । 

अधिवक्ता एवम् स्थानीयबासी विनोद कार्कीले आफूहरुको मागहरु सम्बोधन नभएसम्म परियोजनाको निर्माण कार्य रोकिदिने चेतावनी दिए । उनले भने, ‘मैले एमभी दुगड गु्रपसँग पनि भनेको छु, स्थानीयका मागहरु सम्बोधन गरेर योजना सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा पहिलो पंक्तिमा उभिन सक्छु, यदि स्थानीयका मागहरु सम्बोधन नभएको खण्डमा आयोजना रोकिनुपर्छ भनेर पहिलो पंक्तिमा उभिन तयार छु, समयमै सचेत भएर काम गर्नुहोस् भनेको छु, कम्पनीले केही गल्ति गरिसकेको छ, यसरी गल्ती गर्दै जाने हो भने स्थानीय चुप लागेर बस्दैनन् ।’

त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका निवर्तमान सभापति आङ्गेलु शेर्पाले परियोजनासँग जोडिएका सबै कुराहरु पारदर्शिताका साथ स्थानीय जनताहरुमा जानकारी हुनुपर्नेमा जोड दिए । 
कार्यक्रमको अध्यक्षता गरेका शुभराम बस्नेतले परियोजनाले स्थानीय बासिन्दाहरुको धैर्यतामाथि कुठाराघात गरेको आरोप लगाएका छन् । बस्नेतले अबका १५ दिनभित्र आफूहरुका मागहरु सम्बोधन नभए परियोजना रोक्ने चेतावनी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप