बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सहमति तोडिएसँगै धमाधम बढ्न थाल्यो ब्याजदर, विकास बैङ्क र फाइनान्स कम्पनीलाई दबाब

मङ्गलबार, २९ जेठ २०७५, १३ : ३१
मङ्गलबार, २९ जेठ २०७५

काठमाडौँ । वाणिज्य बैङ्कहरूले ब्याजदरको भद्र सहमतिलाई तोड्ने निर्णय भएसँगै बैङ्कहरू धमाधम निक्षेपको ब्याजदर  बढाउन थालेका छन् । आइतबार बैङ्कर्सहरू बीच आफूहरूले गरेको ब्याजदर स्थिरताको सहमति तोडेका हुन् । यो सँगै बैङ्कहरूलाई आफ्नो अनुकूल ब्याज बढाउने बाटो खुला भएको छ ।

ब्याजदरको लगाम अन्त्य भएकै भोलिपल्ट एनआईसी एसियाले मुद्दती निक्षेपको ब्याजदर १२ प्रतिशत पु¥याएको छ । यता, सिभिल बैङ्कले पनि मुद्दती निक्षेपको ब्याजदर १२.२२ प्रतिशत पु¥याएको छ । सिभिलले बचतमा पनि १० प्रतिशत ब्याजदर पु¥याएको छ । झण्डै पाँच महिनाअघिको मुद्दति निक्षेपमा ११ प्रतिशत र बचतमा ८ प्रतिशतभन्दा माथि जान नपाइने निर्णय आइतबार खारेज भएपछि यी बैङ्कले ब्याजदर बढाएका हुन् । 

एनएमबी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी बैङ्कहरू पहिले पनि सिस्टममै रहेको र आगामी दिनमा पनि सिस्टममै बस्ने तर्क गर्छन् । निक्षेपको ब्याजदर धेरै बढाउँदा ऋणको ब्याजदर पनि सोहीअनुसार बढाउनुपर्ने भएकाले महँगोमा ऋण लिन कोही नआउँने हुँदा  निक्षेपको ब्याजदर स्वतः साइजमा आउने सीईओ केसीको भनाइ छ । 

अर्का एक बैङ्कर्स निक्षेपको  ब्याजदर धेरै बढ्दा समग्र उद्योगमै समस्या निम्तन सक्ने खतरा रहेको औँल्याउँछन् । बैङ्कहरू धेरै आवेगमा आएका ब्याजदर कसको बढी भन्ने खेलमा नलाग्नु नै उचित हुने ती बैङ्कर्सको धारणा छ । 

बैङ्किङ प्रणालीमा  लगानीयोग्य रकमको अभाव भएको भन्दै धमाधम ब्याजदर बढाएका बैङ्कहरू ब्याजदर बढाउँदा समेत सोचे अनुसारको निक्षेप सङ्कलन नभएपछि गत पुसमा मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशतभन्दा माथि नजाने भद्र सहमति गरेका थिए । त्यही सहमतिलाई तोड्दै एनआईसी एसिया बैङ्कले ब्याजदर बढाएपछि बैङ्कहरूले एनआईसीसँग अन्तरबैङ्क कारोबार नै नगर्ने चेतावनीसमेत दिए । राष्ट्र बैङ्कसमेतको सहभागितामा एनआईसी एसिया ब्याक भएपछि सो विवाद मिल्यो । तर अप्रत्यक्ष रूपमा बैङ्कहरूले ब्याजदर भने बढाइ नै रहे । एनआईसी एसियालाई सङ्घले ब्याजदर वृद्धिमा लगाएको रोकलाई कतिपयले ब्याजदरमा सिन्डिकेट लादेको आरोपसमेत लगाए ।  अन्ततः त्यही आरोप अर्थात ब्याजदरको सिन्डिकेट समेत अन्त्य भएको छ ।

विकास बैङ्क र फाइनान्स कम्पनीलाई ब्याजदर बढाउन दबाब 

वाणिज्य बैङ्कहरूको धमाधम ब्याज वृद्धिसँगै विकास बैङ्क र फाइनान्स कम्पनीलाई पनि त्यसको दबाब महसुस हुन थालेको छ । वाणिज्य बैङ्कले नै विकास बैङ्क र फाइनान्स कम्पनीभन्दा बढी ब्याज दिन थालेपछि निक्षेपकर्ता त्यतैतिर  आकर्षित हुने डर अहिले उनीहरूका देखिन थालेको छ । 

ज्योति विकास बैङ्कका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली वाणिज्य बैङ्कहरूले धमाधम बढाउन थालेको निक्षेपको ब्याजदरले अर्थतन्त्र र समग्र बैङ्किङ उद्योगलाई नै धरासायी बनाउने बताउँछन् । उनले भने, ‘दुईवटा बैङ्हरूले अहिले ब्याज बढाइसकेका छन् । बाँकीले एक/दुई दिनमै बढाउँछन् । यसले गर्दा  बैङ्कहरू निक्षेपको लागत बढ्यो भन्दै ऋणको बढाउन थाल्छन् । जबसम्म ऋणको ब्याजदर जतिबेला पायो त्यति बेला बढाउने सहमतिको अन्त्य हुँदैन । तबसम्म यस्ता विकृतिहरू चलिरहन्छ ।’ 

उनले वाणिज्य बैङ्कहरूले बढाएको ब्याजका कारण विकास बैङ्कलाई पनि ब्याजदर बढाउन दबाब पर्ने बताए । बैङ्कहरूले १२ प्रतिशतको ब्याजदर भने पनि संस्थागत निक्षेपकर्तालाई २ प्रतिशत बढी बिड गर्न सक्ने भएकाले अहिले निक्षेपको ब्याजदर १४ प्रतिशत पुगिसकेको उनले भने ।

फाइनान्स कम्पनीका अर्का एक अधिकारीले वाणिज्य बैङ्कहरूको निक्षेप तान्ने होडबाजीले आफूहरूलाई चुनौती थपिदिएको बताउँछन् । 


  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप