शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

किम जोंग उनको कारसँगै दौडने रहस्यमयी समूहको विशेषता

मङ्गलबार, २९ जेठ २०७५, १२ : ४५
मङ्गलबार, २९ जेठ २०७५

बीबीसी

संसारले पुनः एकपटक सिंगापुरमा उत्तर कोरियाका नेता किम जोंग उनको कारको पछिपछि उनका बडिगार्डलाई दौडिरहेको देखे ।

यो कुनै देखावटी थिएन । न नै यो पहिलो पटक भएको थियो । यसअघि दक्षिण कोरियाका राष्ट्रपति मून जे–इनसँगको भेटघाट अघि पनि यस्तै प्रकारको दृश्य देखिएको थियो ।

जतिबेला  नेताको सुरक्षाको कुरा आउँछ, उत्तर कोरियाले यसमा कुनै सम्झौता गर्दैन । तर उनको गाडी पछाडि दौडने रहस्यमयी समूह आखिर को हो ?

विश्लेषक माइकल म्याडनले यसबाट पर्दा हटाएका छन् । माइकल म्याडन उत्तर कोरिया लिडरशीप वाचका निर्देशक हुन् र अमेरिकाको जोन होपकिंस युनिभर्सिटीका भिजिटिङ स्कलर पनि ।

उत्तर कोरियाका नेता किम जोंग उनलाई तीन श्रेणीमा सुरक्षा दिइन्छ । सिंगापुरमा उनको सुरक्षाका लागि कालो सुट लगाएका बडिगार्ड दौडिरहेको देखिए ।

यी बडिगार्ड उनको विलासी कार सँगसँगै दौडिरहेका थिए । उनीहरुलाई मेन अफिस अफ एडजुटेन्ट्स भनिन्छ । यी सेनाका अधिकारी हुन् जसले देशका प्रमुख व्यक्तिलाई सुरक्षा दिने गर्दछन् ।

अचुक सुरक्षाका लागि किमलाई चौतर्फी घेराबन्दी गरिन्छ ।

यसको चयन कोरियन पिपल्स आर्मीबाट गरिन्छ । उनीहरुको उचाई किम जोंग उन जत्तिकै हुन्छ । उनीहरु मार्शल आर्टस् र बन्दुक चलाउन दक्ष हुन्छन् ।

कसरी गरिन्छ चयन ?

किमलाई सुरक्षा दिने समूहमा संलग्न हुनुअघि उनीहरुको पृष्ठभूमिको कठोर अनुसन्धान गरिन्छ । उनीहरुका पछिल्ला दुई पीढिको समेत अनुसन्धान गरिन्छ ।

समूहका धेरैजसो सुरक्षाकर्मी कि त किम जोंग उनसँग सम्बन्धित हुन्छन् वा उत्तर कोरियाका चर्चित परिवारका सदस्य ।

बडीगार्डको प्रस्तावलाई एक पटक स्विकार गरेपछि काम छोड्न पाइँदैन । उनीहरुलाई कठोर प्रशिक्षण दिइन्छ, विशेष अपरेशनका लागि आर्मीलाई दिइने प्रशिक्षण जस्तै ।

सुरक्षाकर्मीको घेराले चारैतर्फ नजर राख्छ । किम जोंग उन तीनदेखि पाँच सुरक्षाकर्मीका बीच हुन्छन् । तीमध्ये एक समूहका निर्देशक हुन्छन् । उनीहरु सबैले टाई सुट लगाएका हुन्छन् ।

कस्ता हुन्छन् सुरक्षाको प्रबन्ध ?

किम जोंग उनका ड्राइभरले लेनन वा छालाको पंजा लगाएका हुन्छन् । गाडीलाई नियन्त्रणमा राखिराख्न यस्तो गरिएको हो । बारम्बार सूचना पाइराख्न उनीहरुले कानमा इयरपिस लगाएका हुन्छन् ।

उनीहरुको पहिचान विशेष तरिकाले गरिन्छ । लुगामा विशेष प्रकारको पिन र ब्याज लगाइएको हुन्छ । यतिमात्र होइन, पुष्टिका लागि उनीहरुले विशेष कोडमा कुरा गर्नुपर्ने हुन्छ ।

मेन अफिस अफ एडजुटेन्ट्समा करिब दुई सयदेखि तीनसय सुरक्षाकर्मी हुन्छन् । यीमध्ये आधा बडिगार्ड र बाँकी ड्राइभर र प्राविधिक स्टाफ हुन्छन् ।

चुरोटसम्मको प्रबन्धः

किमको सुरक्षा पंक्तिमा दोस्रो र तेस्रो घेरा गार्ड कमान्डको हुन्छ । उनीहरुको काम कि जता जान्छन् त्यहाँको निगरानी गर्नु हो ।

उनीहरुले किम जोंगका लागि विशेष फोन लाइनको व्यवस्था गर्दछन् । साथै, उनको उपयोगका लागि विशेष कम्प्युटरको पनि प्रबन्ध गर्दछन् ।

किम जोंग उनले के खान्छन्, के पिउँछन्, यहाँसम्म कि चुरोटको समेत प्रबन्ध मिलाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप