शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कांग्रेसलाई प्रचण्डको जवाफ :  सभामुख र उपसभामुख कुनै पनि पार्टीमा छैनन् भने किन फेर्ने ?

मङ्गलबार, २९ जेठ २०७५, ११ : ३३
मङ्गलबार, २९ जेठ २०७५

चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाका सभामूख र उपसभामूख अहिले कुनै पनि पार्टीमा नभएको बताएका छन् । कांग्रेसले एकै पार्टीबाट सभामुख र उपसभामुख भएको भन्दै  फेर्नुपर्ने आवाज उठाइरहेको बेला प्रचण्डले कुनै पनि पार्टीमा नरहेकाले फेर्न आवश्यक नरहेको बताए । 

मंगलबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘संविधानमा सभामूख र उपसभामूख एउटै दलको नहुने व्यवस्था छ । जतिबेला सभामूख र उपसभामूखको चुनाव भयो, त्यतिबेला उहाँहरु फरक पार्टीबाट नै त्यहाँ पुग्नुभो । अहिले सभामूख र उपसभामूख पनि कुनै पार्टीमा हुनुहुन्न । उहाँहरु दुवैले पार्टीबाट राजीनामा दिनुभएको छ ।’ उनले पार्टीमा हुँदै नभएको  सभामुख तथा उपसभामुख पार्टीकै हो भन्नुनै गलत भएको बताए । 

प्रचण्डले अहिलेको बजेट विकास र सुशासनको दीर्घकालीन महत्वलाई लक्षित गरेर आएको बताए । उनले भने, ‘पहिलापहिला सरकार नौं महिना टिक्छ कि दश महिना  भन्ने चिन्ता हुन्थ्यो, त्यसैले सबै सरकारले राज्यको सामथ्र्य नभए पनि लोकप्रिय कार्यक्रम ल्याउँथे, अहिले हामी त्यो बाध्यतामा छैनौं । अहिले अर्थतन्त्र सुदृढ गर्नेतिर सोचेका छौं ।’ 

कार्यकारी राष्ट्रपति देशका लागि आवश्यक रहे पनि तत्कालको एजेण्डा नभएको प्रचण्डले बताए । ‘कार्यकारी राष्ट्रपतिबारे हाम्रो पुरानो मान्यतामाथि औपचारिक छलफल भएको छैन । तर, तत्कालका लागि विकास, समृद्धि र सुशासन नै हाम्रो एजेण्डा हो, हामी अरु कुरामा अल्झदैनौं ।’ उनले कांग्रेस सरकारमा आउन  नहुने र ल्याउने योजना पछि नरहेको भन्दै राजपाले चाहेको खण्डमा  भने उसलाई सरकारमा सहभागि गराउन सकिने बताए ।    

प्रचण्डले ठेकेदारहरुले गुणस्तरीय काम गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै भने, ‘ठेकेदारहरुले समयमा गुणस्तरीय काम गर्नुपर्छ, यसमा कसैसँग सम्झौता हुँदैन । गल्ती गरेको भए मेरो घरभेटीलाई पनि कार्वाही हुन्छ । राज्यभन्दा माथि कोही पनि छैन ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप