केन्द्रीय संस्करण

६० वर्षदेखि जमिनका लागि सङ्घर्ष

person explore access_timeजेठ २९, २०७५ chat_bubble_outline0

बिहानको गहिरो निन्द्रामा थिएँ । ५ बजे खाटमै एकजना ७५ वर्षका बूढाबाले खुट्टा सुमसुमाउन थाले । दुःखका कुराहरू गुनगुनाउँन थाले । एकछिन पछि मेरो निन्द्रा हरायो । जुरुक्क उठेँ । बूढाबा विगत र वर्तमानका सबै सुखदुःखका कुराहरू बिसाउन थाले । म भने एकटक सुनिरहे । उनले आफ्नो पीडा यसरी पोखे :


सानै छँदा बुबा आमा हैजा प्रकोपले मरे । खडेरीले समय विक्षिप्त थियो । सही नसक्नु दुःख झेलेँ । जमिन थियो पैसा थिएन । पैसा हुनेको अनाज थिएन् । जीवन भोकको छटपटीमा बाँचेर पनि मरे सरह थियो ।

बुबा आमाले भनेको, आफ्नै कानले सुनेको र आफ्नै आँखाले देखेको धेरै कुरा थाहा छ । तर मलाई थाहा छ । १२ कट्ठा जग्गा एउटै कित्ताको थियो । त्यसमध्ये बुबा असर्फी मोचीले ५ कट्ठा जग्गा २०० सय रुपियाँमा बन्धकी राखेर जोहो गर्ने सोचे । धेरै ठाउँ धाए । धेरै गाउँ चहारे । कसैले दिन मानेनन् । मुंगाई ठाकुर मालिक ( जमिनदार) साहेबले भोलि आउनु म दिन्छु भनेका थिए । उनले ५ कट्ठा जग्गा बन्धकीमा २०० सय रुपियाँ दिए । 

निरन्तरको चर्को खडेरीले २०० सयमा किनेको अन्न धेरै दिन टिकेन । बाँकी ७ कट्ठामध्ये ३ कट्ठा जग्गा १२५ रुपियाँमा फेरि उसैलाई सोधभर्ना दिए । बाँकी चार कट्ठा जग्गा आफैले खनजोत गर्दै थिए ।

दुई वर्षपछि जमिन फिर्ता लिन बुबा असर्फी मोची ३२५ रुपिया बोकेर जमिनदार ठाकुर नजिक पुगेका थिए । ठाकुरले जग्गा फिर्ता दिन मानेनन् । जमिन लिलाममा (जफत) परिसकेको भने । असर्फी त्यति बेलै मूर्छित भए । 

बैमानी, चोरी, तस्करी, घुसखोरी, भ्रष्टाचारी, नातावाद, कृपावाद र जातिवाद पहिला पनि थियो । तर अहिलेको जस्तो विरोध गर्न पाइँदैनथ्यो । विरोधको आवाज गौण थियो । कसैले विरोध गरे सीधै जल्नु पथ्र्यो । गाउँघरमा मालिक मुखियाहरूकै बोली चल्थ्यो । बोलेको कुरा पुग्थ्यो । बाँकी ४ कट्ठा जग्गामा पनि मालिक मुंगाई ठाकुरले नै कब्जा गरे । उसैले खनजोत गर्न थाले ।

२०१६÷१७ सालतिरको कुरा हो । राजा महेन्द्र सप्तरीको बोदेबरसाइन आएका थिए । त्यही वर्षदेखि  तराईमा चर्को खडेरीको सामना गर्नु प¥यो । भोकको झोँकमा सबैले राजालाई पनि गाली गर्थे । म ११ वर्षको थिएँ । बुबा आमा हैजाको प्रकोपमै मरिसकेका थिए । बुबा दुई दाजुभाइ हुनुहुन्थ्यो । 

परिवार त त्यतिबेलाको हैजाले सखाप भए । लहानवाली काकी मात्र जीवित थियो । जेठो भाइको नाताले चारैजना भाइहरूलाई पाल्ने र हुर्काउनेदेखि बिहेवारीसम्म गरँे । आफ्नै जग्गा आफैले उब्जाएर सबै अनाज ठाकुरलाई दिन्थे । आफू एक पसेरी धान (पाँच केजी धान) ज्याला लिएर घर फर्किन्थेँ । आक्रोसले मेरो मन जलिरह्यो । जलेर के गर्नु सहिरहँे । अरू विकल्प नै थिएन । २०२२ को सालको नापीमा ठाकुरले सुटुक्क मोही दर्ता गराए । हामीलाई त्यो पनि थाहा भएनौँ । उनीसँग अन्जानमा बनाइएका केही भरपाई २ र ४ नम्बर अनुसूची मात्र छ । हामीसँग लालपुर्जा छ । लालपुर्जा र अन्य ठाउँमा ठाकुरको कुनै मोही हकदाबीको प्रमाण छैन । कैयौँ पटक समाजले जग्गा फिर्ता गर्न आग्रह गरे पनि कानुनी धाक देखाउँदै आए । समाजका भरभलादमीहरूले सुझबुझ देखाएपछि पटक पटक आफ्नो जमिन जोत्न जाँदा उल्टै अपमानित र पटक पटक कुटाइ खाएर घर फर्केको छु । ६० वर्षदेखि आफ्नै जमिनमा आफैले बाली लगाउन पाएको छैन । उल्टो ५ वर्षदेखि ठाकुरले सप्तरी भूमि सुधारमा ५ जना दाजुभाइमाथि मुद्दा चलाएर । भूमि सुधारसँग मोही दर्ताको प्रमाणपत्र र लालपुर्जाको माग गरेको छ ।

देशमा सङ्कटकाल थियो । गाउँघरका युवाहरू द्वन्द्वको दोहोरो मारमा थिए । हामी बुढाबुढी बिरामी भइरहन्थ्यौँ  । घरमा ऋणको भार बढ्यो । २०६०÷६१ सालतिर जेठो छोरालाई विदेश पठाउन त्यही जग्गा एक लाखमा धितो राखेँ । अझै पनि त्यो जग्गा दिनेश यादवकै नाममा रजिस्ट्रेसन छ । उसैको नाममा मुद्दा चलिरहेको छ । बुढो मान्छे वर्षौंदेखि तारिख धाइरहेको छु । कुनै निर्णय भएको छैन । बोलबालाहरूकै कानुनी सञ्जाल छ । थुप्रैका निर्णयहरू भैसके । यतिबेला हाम्रो मुद्दा निष्कृय छ । मुद्दा लगाएर जमिनदार मुंगाई ठाकुरको छोरा विश्वनाथ ठाकुर पैसाको बलमा बसेको छ । हामी भने मुद्दा वरिपरि चक्कर मारिरहेका छौं । बूढो हड्डी सुकिरहेको छ ।

यसअघि एक पटक मैले पनि मुद्दा चलाउन सुरु गरेको थिएँ । लेखनदासले कागजमा मेरो ठेगाना फरक पारिदिए । कानुनी  सुझबुझ थिएन् । जमिनदारीहरूको पकडका कारण चौतर्फी दबाबले मुद्दा लड्न सकिएन । गाविसदेखि भूमि सुधारसम्म उसकै हालीमुहाली देखेँ । उनका मान्छेहरूले मुद्दा हार्नु हुन्छ भनेर सधैँ डर देखाइदिए । मुद्दा विनाफैसला तुहाइदिए । धनीको जग्गामा गरिबको मोहियानी हकको लालपुर्जा भएर पनि धेरै गरिबहरू मोहियानी हकबाट वञ्चित भएको यही आँखाले देखेको छु । कतै जमिनदारहरूको जग्गामा मोहियानी हक नभएर पनि मोहियानी हक दाबी गरेर गरिबका जग्गा जमिन बेचिदिएको यही आँखाले देखेको छ । कानुन त कानुन हुन्छ । सत्यको पक्षपाति हुन्छ । तर यहाँ चलखेलको पक्षपाति छन् । कमजोर वर्गको पक्षमा होइन, बलिया वर्गहरूको पक्षमा छन् । आन्दोलन र विद्रोहको नाममा प्रामाणहरू गायव गरिएका छन् ।

यहाँ धेरै पीडादायी उदाहरणहरू छन् । जमिनदारको जमिनमा किसानको मोहियानी हुनुपर्नेमा किसानको जमिनमा जमिनदारको मोहियानी छ तर पनि हक पाएको छैन । किसानको जमिनमा उल्टो जमिनदारको मोहियानी हक छ । गरिब, मजदुर र किसानले न्याय पाउन सकेका छैनन् । मुलुकमा न्ययाय नपाएका यस्ता थुप्रै बुढाबाहरू छन् । वर्षौंदेखि न्यायालयका ढोका घचघच्याइ रहेका छन् । न्यायलाई पर्खिंदा पर्खिंदै एउटा पुस्ताको अन्त्य भई अर्को पुस्ताले सही न्यायका लागि मुद्दाको भारी बोकिरहनुपरेको अवस्था छ । 

मुलुकमा लोकतान्त्रिक व्यवस्था आए पनि ६० वर्षदेखि एक जना बुढाबा आफ्नै जमिनका लागि सङ्घर्ष गरिरहेका छन् । उनको पुस्ता पनि अहिले अन्तिम चरणमा छन् । 

न्यायलयको पहुँचमा भूमाफियाहरूको हालीमुहाली छ । बूढाबाले आफ्नै जमिन पाउन सकेको छैनन् । जल र जमिनमाथि हरेक नागरिकको आफ्नो अधिकार हुन्छ । हरेक नागरिकको न्यायमा समान पहुँच र न्ययको प्रत्याभूति गराउने दायित्व सरकारको नै हुन्छ । त्यसैले राज्यले सर्वसाधारण नागरिकलाई लोकतान्त्रिक व्यवस्थाको प्रत्याभूति गराउन पहल गर्नैपर्छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...