शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किशोरकिशोरी र प्रजनन् स्वास्थ्यमा अझै काम बाँकी

सोमबार, २८ जेठ २०७५, १९ : २४
सोमबार, २८ जेठ २०७५

काठमाडौँ । नेपालले किशोरकिशोरी र प्रजनन् स्वास्थ्यमा काम गर्न धेरै बाँकी रहेको औँल्याइएको छ । 

बैंककमा भएको छैठौँ एसिया प्यासिफिक जनसंख्या र विकास सम्मेलनले तयार गरेको प्रोग्राम अफ एक्सन कार्यान्वयन बारेको आज यहाँ आयोजित छलफलमा सरोकारवालाले विद्यालयदेखि कार्यस्थल, सार्वजनिक कार्यालय लैङ्गिकमैत्री, अपांगतामैत्री हुन नसकेको बताएका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा पुष्पा चौधरीले स्वास्थ्य सेवाको पहुँच सवैभन्दा टाढाको समुदायमा बिस्तार गर्न र स्वास्थ्यको गुणस्तरमा सुधार गर्नु प्रमुख समस्या रहेको बताइन् । उनले धेरै काम गर्न चाहेपनि स्वास्थ्यमा अपेक्षित बजेट नहुनु अर्को समस्या र चुनौती रहेको पनि उल्लेख गरिन् । पछिल्लो समय किशोरी र महिला स्वास्थ्यमा उपलब्धि हासिल गरेको उनको भनाइ छ । 

उनले संस्थागत प्रसूति अपेक्षित नभएकाले स्थानीय तहबाटै आधारभूत स्वास्थ्य सेवालाई बढावा दिन स्वास्थ्य विमा कार्यक्रम तथा आमा सुरक्षा कार्यक्रम प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । 

उनले भनिन्, ‘हामीले स्वास्थ्य क्षेत्रमा चुनौतिका बाबजुद धेरै उपलब्धि हासिल गरेका छौँ, मातृमृत्युदर, बालमृत्युदर, नवजात शिशुमृत्युदरमा कमी ल्याउन सकिएको छ तर अझै धेरै काम गर्न बाँकी छ ।’’ 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका नीति, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले सन् २०१३ मा बैंककमा भएको जनसंख्या तथा विकास सम्मेलनले बुँदाबद्ध गरेका ११ विषयगत क्षेत्रमध्यमा काम भइरहेको बताए । 

‘बैंककमा भएका ती ११ विषयमा रहेका काम गर्ने जुन घोषणा भएको थियो त्यसमा कति उपलब्धि हासिल भयो, कति हुन सकेन, के कारणले भएन, अब के गर्ने भन्ने सुझाव सहितको रिपोर्ट आगामी नोभेम्बरमा वैंककमा हुने अर्को जनसंख्या तथा विकास सम्मेलनमा प्रस्तुत गर्नेर्छौँ ।’–उनले भने । 

त्यहाँ प्रस्तुत भएको प्रतिवेदन आगामी वर्षको सेप्टेम्बरमा हुने संयुक्त राष्ट्रसंघको महासभामा प्रस्तुत भई घोषणा हुने मन्त्रालयका प्रवक्ता समेत रहेका श्रेष्ठले बताए । 

उनले गरिबी उन्मूलन, रोजगारी, स्वास्थ्य, यौन र प्रजनन् स्वास्थ्य सेवा, पहुँच, शिक्षा, लैंगिक समानता, महिला सशक्तीकरण, किशोरकिशोरी र युवा, उमेर, अन्तर्राष्ट्रिय प्रवास, शहरीकरण, आन्तरिक प्रवास, जनसंख्या र दिगो विकास र तथ्यांक कार्यक्षेत्रका ११ प्राथमिकता रहेको जानकारी दिए । 

यूएनएफपिएका देशीय निर्देशक लुब्ना बाकीले यो समीक्षाले नेपाललाई क्षेत्रीय, विश्वव्यापी अन्तर्राष्ट्रिय सम्मेलनमा बलियो नेतृत्वको भूमिका जारी राख्दै महिला, बालबालिकाको अधिकार स्थापित गर्न मत पुग्ने बताए । 

लैङ्गिक विज्ञ पिंकीसिंह राणाले प्रस्तुती दिँदै विद्यालयको पाठ्यक्रममा समावेश गरेर र स्वास्थ्य तथा जनसंख्या विषय अध्यापन गराउने शिक्षकहरूको क्षमता अभिवृद्धि गराएर विद्यालय जाने किशोरकिशोरीहरूलाई यौनिकता शिक्षा दिनुपर्ने, विद्यालय बाहिर रहेका किशोरकिशोरीहरूका लागि पनि अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरूमा पनि यौनिकता शिक्षालाई समावेश गराई समुदाय स्तरसम्म पु¥याउँदा प्रभावकारी हुने बताइन् । 

कार्यक्रम स्वास्थ्य मन्त्रालय र यूएनएफपीएले संयुक्तरुपमा आयोजना गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप