केन्द्रीय संस्करण

एकतापछिका चुनौती

person access_timeजेठ २८, २०७५ chat_bubble_outline0

माओवादी केन्द्र र एमालेबीच यही जेठ ३ गते एकता घोषणा भएको छ । एकता भन्ने वित्तिकै हौसिने र फुट भन्ने वित्तिकै आत्तिने अतिवादी सोच नेपालको राष्ट्रिय राजनीतिको पर्याय नै बनेको छ । तर एकता र फुटको रणनीतिक उद्देश्यमा अन्तरनिहित वस्तुमा यसको औचित्य लुकेको हुन्छ । एकता र फुटको द्वन्द्ववाद नै यही हो । आलोचनात्मक दृष्टिबाट हेर्दा यो एकताको सम्भावना र चुनौती बराबरी रहेको छ । यसबारेमा विभिन्न टीकाटिप्पणीहरू भइरहेको छ । एकता पक्षधरहरूले यसलाई बनिबनाउ समाधन ठानिरहेका छन् । कतिपयले सामन्य दलीय जुटफुटको रूपमा लिएका छन् । कसैले दक्षिणपन्थी गठजोड भनेर टिप्पणी गरिरहेका छन् । 

टिप्पणीमा विविधता आउनु मुख्य कुरा होइन । मूलतः एकता किन र केका लागि भन्ने प्रश्नको उत्तरमा यसको सार्थकता अडेको हुन्छ । यो सार्वभौम नियम हो । यसमा एकता प्रक्रियामा सामेल राजनीतिक दल र नेतृत्वको भित्री उद्देश्य जिम्मेवार मात्र होइन निर्णायक हुन्छ । एकताका सूत्रधारहरूले यसलाई समाजवादको आधार तयारीका रूपमा व्याख्या गरिरहेका छन् । उनीहरूले एकतापछिको स्थायित्वले विकास र समृद्धिमार्फत सामाजवादमा सङ्क्रर्मण गर्ने चाहना राखेका छन् । यद्यपि लामो ऐतिहासिक प्रक्रियाबाट हासिल गरिने उन्नत सामूहिक चेतसहितको समाजवादी शासनव्यवस्था कसैको मनोगत चाहना र सदासयताले मात्र स्थापित हुने सवाल होइन ।  एकता भयो यो सकरात्मक कुरा हो । तर एकतापछि सम्याउनुपर्ने चुनौतीका पहाडहरू धेरै छन् ।

एकताका लागि सङ्गठनात्मक व्यवस्थापन सहायक विषय हो । विचार, राजनीति, रणनीति, कार्यनीति र कार्यक्रमहरू मिलेपछि मात्रै सङ्गठनको च्याप्टर खोल्नु वस्तुसङ्गत हुन्छ । मूलभूत सैद्धान्तिक मुद्दाहरूमा स्पष्टता र एकरूपता भएपछि सङ्गठन स्वतः मिल्नेगर्दछ । तर मूलभूत मुद्दाहरूलाई थाँती राखेर प्राविधिक किसिमले एकतामा हाम फालियो भने साङ्गठानिक समस्या झनै डरलाग्दो हुन्छ ।

पहिलो, सामन्यतय एकता राम्रो कुरा हो । यो असाध्यै सुझबुझ र छलफल बहसको लामो प्रक्रियाबाट टुङ्गोमा पुग्नुपर्छ । अन्यथा एकतादेखि एकतामा सीमित हुनपुग्दछ । साँचो र सार्थक एकतामा कार्यनीतिक कार्यक्रम र रणनीतिक उद्देश्यको स्पष्टता, दृढता र प्रतिबद्धता अपरिहार्य हुन्छ । रानीतिक स्टेप व चरणहरूमा एकरूपता हुनुपर्छ । कम्युनिस्टहरू आम मानव समाजलाई रूपान्तरण गर्ने महाअभियानमा हुन्छन् । यसो भएपछि एकता प्रक्रिया पनि कसैबाट लुकाउनु, छिपाउनु र डराउनु पर्ने कुनै कारण हुँदैन । खुल्ला, स्पष्ट र छलछाम नगर्नु उसको न्यूनतम संस्कार हो । यसो नगर्ने कम्युनिस्ट हुनसक्दैन । तर सिद्धान्तभन्दा प्राविधिक पक्षहरूमा केन्द्रित भएर अस्पष्टता र अन्यौलताहरू कायम  राख्दै हतारमा एकता गर्नु आफैमा फुटको बिजारोपण गर्नुतुल्य हुन्छ । पदीय भागवण्डा वा नेता कार्यकर्ताहरू व्यवस्थापन सहायक विषय हो । गणितीय हिस्सा वा प्रतिशत नितान्त गौण पक्ष हो । थालनी नै सहायक मुद्दाहरूमा सीमित भयो भने स्वभावतः मुख्य मुद्दाहरू ओझेल पर्ने गर्छ । यो कसैको तर्क होइन, सार्वभौम नियम हो । नचाहेर पनि यो एकतामा गणितीय भागवण्डा मुख्य जस्तो बनेको छ । त्यसैले यो एकतालाई रणनीतिक गन्तव्य प्राप्तीसम्म टिकाउनु ठूलो चुनौतीको पहाड देखिन्छ । यसमा जिम्मेवार कमरेडहरू गम्भीर हुनु जरुरी छ ।

दोस्रो, मार्गदर्शक सिद्धान्त र आधारभूत स्कुलिङ दुवै दलको भिन्नभिन्न थियो । माओवादीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद, लेनिनवाद र माओवाद हो भने एमालेको माक्र्सवाद र लेनिनवाद मात्रै हो । दुवै कम्युनिस्ट पार्टीले अङ्गीकार गर्दै आएको स्कुल अफ थट सारभूत रूपमै भिन्न थियो । माओवादीले वर्गसङ्घर्ष वा बल प्रयोगको अवधारणालाई प्रधान रूपमा ग्रहण गरेको थियो । यता एमालेको शान्तिपूर्ण संसदीय चुनावी स्कुल हो । माओवादीहरू मानव समाज रूपान्तरण निरन्तर सङ्घर्षको लामो ऐतिहासिक प्रक्रियाबाट मात्र सम्भव हुन्छ भन्ने माक्र्सवादी स्कुलबाट आएका हुन् । यता एमालेले संसदीय चुनाव वा वैधानिक बाटोबाटै जान सकिन्छ भन्ने थियो । यद्यपि माके पनि संसदीय प्रक्रियामा आइसकेपछि फरक नरहेको विश्लेषण पनि गरिँदै आएको छ । तर पनि नेता कार्यकर्ताको ठूलो पङ्क्क्तिमा अझै पनि मालेमावादी क्रेज विद्यमान रहेको छ । यसकारण मार्गदर्शक सिद्धान्तमा एकरूपता अर्को चुनौतीको पहाड देखिन्छ । नेतृत्वले यसमा हेक्का राख्नैपर्दछ ।

तेस्रो, कार्यदिशा र कार्यक्रममा एकरूपता अनिवार्य सवाल हो । एक्काइसौँ शताब्दीको जनवाद र जनताको बहुदलीय जनवादबीच सारभूतरूपमै भिन्नता थियो । यो रणनीतिक गन्तव्यमा पुग्ने फरक प्रक्रियाहरू हुन् । बलप्रयोग वा वर्गसङ्घर्षको प्रक्रियाविना कुनै पनि सामाजिक सत्ता ढाल्न सकिन्न भन्ने माओवादी अवधारणा हो । राज्यसत्ता बन्दुकको नालबाट जन्मिने गर्छ भन्ने शास्वत नीतिवाक्य माओवादी बटमलाइन हो । यसले उत्पीडित जनताको पूर्ण अधिनिायकत्वसहितको जनवादी राज्यरूपको वकालत गर्दछ । तर जुनसुकै पनि सत्तामा पहुँच वैधानिक तरिका वा चुनावबाट जान सकिन्छ भन्ने एमाले अवधारणा हो । यसले वर्गीय अधिनायकत्वलाई स्वीकार गर्दैन, जुन अमूक जनवाद हुन जान्छ । अमुक जनवादको सार भनेको बुर्जुवा लोकतन्त्र वा प्रजातन्त्रमा अभिव्यक्त हुनेगर्दछ । अर्थात फौजी र शान्तिपूर्ण कार्यदिशाको फरक स्कुलिङ र मनोविज्ञानबाट आएकाहरूको दीर्घकालिक मिलन एउटा अर्कोमा पूर्ण विलयको अवस्थाबाहेक त्यति सहज नहुन सक्छ । यसमा पनि नेतृत्वहरूले ध्यान जानुपर्ने देखिन्छ । 

चौथो, एकताका लागि सङ्गठनात्मक व्यवस्थापन सहायक विषय हो । विचार, राजनीति, रणनीति, कार्यनीति र कार्यक्रमहरू मिलेपछि मात्रै सङ्गठनको च्याप्टर खोल्नु वस्तुसङ्गत हुन्छ । मूलभूत सैद्धान्तिक मुद्दाहरूमा स्पष्टता र एकरूपता भएपछि सङ्गठन स्वतः मिल्नेगर्दछ । तर मूलभूत मुद्दाहरूलाई थाँती राखेर प्राविधिक किसिमले एकतामा हाम फालियो भने साङ्गठानिक समस्या झनै डरलाग्दो हुन्छ । त्यसमा पनि उपभोक्तावादी संस्कृतिले हरेक  व्यक्ति, गुट, समुदाय र वर्गहरूलाई असाध्यै आत्मकेन्द्रित व्यक्तिवादी बनाएको छ । यस्तो स्वार्थी परिवेशमा साङ्गठानिक व्यवस्थापन चुनौतीपूर्ण हुन्छ । अर्थात सैद्धान्तिक रणनीतिमा दृढ रहेर गरिएको एकतामा सिद्धान्त र रणनीति प्रधान हुन्छ । उता पदीय भागवण्डा र अङ्कगणित जस्ता प्राविधिक पक्षहरूमा केन्द्रित एकतामा सधैँ सहायक मुद्धाहरू नै हावी हुन्छ । यो सार्वभौम नियम हो । यसकारण आगामी दिनमा नेता कार्यकताहरूको व्यवस्थापनले अग्लै पहाडको रूप लिने खतरालाई नजरअन्दाज गर्नसकिन्न । यसमा पनि नेतृत्वले सोच्न आवश्यक छ ।

वास्तवमा कम्युनिस्ट सिद्धान्त र यसको रणनीतिक उद्देश्य महान हुन्छ । समानता र सामाजिक न्यायमा आधारित उत्पीडित जनताको अधिनायकत्वसहितको वैज्ञानिक समाजवादी पद्धति यसको बटम लाइन हो । अर्थात जनवादी र समाजवादी साधनमार्फत् साम्यवादी साध्यमा पुग्ने अभियान्ताहरूको सङ्गठित सत्ता नै कम्युनिस्ट पार्टी हो । यसको चानचुन ऐतिहासिक अभिभारा छैन । त्यो महानतम उद्देश्य प्राप्तीको महाअभियानमा लामबद्ध हुनु गौरवको विषय हो । यस्तो महान तथा ऐतिहासिक जिम्मेवारी पूरा गर्ने मिसनमा दृढ भएर ऐतिहासिक प्रक्रियामा अगाडि बढ्दा आत्मकेन्द्रित व्यक्तिवादी चिन्तन स्वतः कमजोर हुन्छ । अर्थात व्यक्तिगत र गुटगत स्वार्थहरू गौण हुन्छ । तर कम्युनिस्ट महान आदर्शबाट च्यूत भयौँ भने व्यक्तिगत र गुटगत जस्ता प्राविधिक आयामहरू नै हाबी हुन्छ । 

वास्तवमा कम्युनिस्ट आन्दोलन भनेको चिट्ठावश र भाग्यवश भौतिक सुविधा र पद प्राप्तीमा मात्र सीमित कर्मकाण्ड होइन । तर विडम्बना नै भन्नुपर्छ आज पद र सुविधाका लागि ट्याक्टफुल बनेर साम, दाम, दण्ड र भेदको खेलमा लाग्नेहरू मात्र हाबी हुँदैछ । अधिकांशको ध्यान यसैमा छ, जसले पद, पैसा र प्रतिष्ठा प्राप्ती होला । चुनाव पनि जितिएला । ठूलो दल र मान्छे पनि भइएला । तर कम्युनिष्ट आन्दोलनको प्रक्रिया अघि वढ्न सक्दैन । मुलतः कम्युनिष्ट आन्दोलन भनेको  लामो बलिदानीपूर्ण, कष्टसाध्य र जोखीमपूर्ण सङ्घर्षको ऐतिहासिक प्रक्रिया हो । तसर्थ यो एकता पनि सङ्घर्षकै प्रक्रियाको अदृश्य र अव्यक्त कार्यनीति हो भने टिकाउ हुनुको साथै गुणात्मक परिणाम दिन सफल हुन्छ नै । अन्यथा गुटीय र पदीय पकड्को गोलचक्करमा फस्ने सम्भावना देखिन्छ । यसो भएमा इच्छा नहुँदा–नहुँदै पनि नेपाली समाजले अर्को विकल्प नखोज्ला भन्न सकिन्न । किनकि यो समाज गतिशीलताको साश्वत नियम हो । यसमा पनि सरोकारवालाहरूले गम्भीर ध्यान दिन जरुरी छ ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X