केन्द्रीय संस्करण

लेप्टोस्पाइरोसिसबाट कसरी बच्ने ?

person access_timeजेठ २८, २०७५ chat_bubble_outline0

लेप्टोस्पाइरा जातिको जीवाणुको सङ्क्रमणबाट मुसा तथा गाईभैंसी जस्ता पशु र मानिसमा समेत हुने रोगलाई लेप्टोस्पाइरोसिस वा छोटकरीमा ‘लेप्टो’ पनि भन्ने गरिएको छ । सामान्यतया यो पशुहरूमा लाग्ने रोग हो । 

विश्वको धेरै देशहरूमा यो रोग महामारीको रूपमा  देखापर्ने गरेको छ ।     पशुहरूमा सङ्क्रामक रोगका रूपमा लाग्ने यस रोगले मानिसमा समेत सर्न सक्ने हुनाले यसलाई जुनोटिक रोगको सूचीमा राखिएको छ । यो रोगको महामारी बेला बखतमा हुने गरे पनि आम मानिसमा यसबारे निकै कम जानकारी भएको महसुस गरिएको छ । यो रोगलाई विभिन्न देशमा विभिन्न नामले चिनिने गरेको छ । जस्तैः मड फिवर, क्यानिकोला फिवर, वेल्स डिजिज, हेमोरेजिक जन्डिस, स्वाम्प फिवर, आदि । नेपालमा यो रोगको वस्तुस्थितिबारे खास अध्ययन नभएका कारण यो रोगलाई केही सङ्क्रमित मानिसमा इन्सेफालाइटिस, मेनेन्जाइटिस्, इन्फ्लुएन्जा भने गलत निदान गरिएको हुनसक्छ । 

यो रोग  निम्न दुई अवस्थामा देखिन्छः
    (क) वेल्स डिजिज – सङ्क्रमित मुसा वा छुचुन्द्राको पिसाबबाट (कमलपित्त –जण्डिस)को रूपमा देखिने ।
    (ख) हार्डजो लेप्टो– सङ्क्रमित गाईवस्तुको पिसाबबाट ज्वरोको रूपमा देखिने ।

यो रोगका मुख्य लक्षणहरू के–के हुन् ? 

यो दुवै प्रकारको रोग मानिसमा लाग्दा सुरुमा ‘फ्लुु रोगको सङ्क्रमणझैं लक्षणहरू देखापर्छ । लगातार धेरै टाउको दुख्ने, वान्ता आउने, जिउ दुख्ने र अन्त्यमा कमलपित्त हुने, मस्तिष्कको सुजन (मेनेन्जाइटिस) र मिर्गाैलाले काम नगर्ने हुन्छ । कहिलेकाहीँ यस रोगले मानिसको ज्यान समेत लिन सक्छ ।


 यो रोगको जोखिममा को–को पर्न सक्छन्  ? 

मुसा, मुसाको पिसाब, गाईभैंसीको मलमूत्र वा पाठेघरबाट  निस्कने श्रावको संसर्ग वा सम्पर्कमा आउने कुनै पनि व्यक्तिमा संक्रमण हुन सक्छ । अतः गाईभैंसीको हेरचाह गर्ने वा अन्य अप्रत्यक्षरूपमा संलग्न हुने व्यक्तिहरू (भेटेरिनरियनहरू, भेटेरिनरी प्राविधिकहरू, मासु निरीक्षकहरू, पशु बध गर्ने मानिसहरू, ढल तथा फोहरमैला सरसफाइ गर्ने व्यक्तिहरू) मा यो रोग सर्ने सम्भावना सबैभन्दा बढी रहन्छ । ताल तलैया तथा घोल क्षेत्रमा गई  पौडी खेल्ने र माछा मार्ने पेसामा संलग्न व्यक्तिहरूमा पनि रोगको जोखिम बढी रहन्छ । गाईभैंसीको मलमूत्रबाट प्रदूषित पोखरी, नहर, नदीको पानीबाट पनि यो रोगको सङ्क्रमण हुन सक्छ । बाढीको प्रकोप भई घर कम्पाउन्ड डुबानमा पर्दा पनि मानिस तथा पशुमा यो रोगको सङ्क्रमण फैलन सक्छ ।

लेप्टो रोग मानिसमा कसरी सर्न सक्छ ? 

यो रोगको जीवाणु मानिसको शरीरमा काटिएको घाउचोट, मुख, घाँटी, आँखा आदिमा सङ्क्रमित पानी वा सङ्क्रमित पशुको पिसाब पर्दा रोगको सङ्क्रमण सजिलैसँग सर्न सक्छ । जमेको पानी, नाला पोखरीको पानी आदिमा सङ्क्रमित पशुको पिसाबबाट प्रदूषण भएको छ भने यस्तो पानीबाट पनि रोग फैलन सक्छ । गाईभैंसी गोठमा काम गर्ने व्यक्तिहरू सजिलैसँग यिनीहरूको पिसाबको माध्यमबाट सङ्क्रमित हुन सक्छन् । गाईभैंसीको दाना राख्ने भण्डार कक्षमा मुसाले सहज प्रवेश पाउने हुँदा दानामा मुसाको पिसाबबाट प्रदूषित हुन गई रोग सर्न सक्छ ।

यो रोगलाई कसरी रोकथाम गर्न सकिन्छ  ?

(क)    मुसाहरू नियन्त्रण गर्ने । खुल्ला हातले मुसालाई कहिल्यै नछुने ।

(ख) घाउ, चोटपटक लाग्दा तुरुन्तै साबुन पानीले राम्ररी सफा गर्ने र पानी नछिर्ने  पट्टी बाधेर मात्र पुनः काममा जाने ।

(ग)    सुरक्षित पोसाक लगाउने ।

(घ) पशुसँग काम गरिसकेपछि, फोहोर मैला छोएपछि साबुन पानीले राम्ररी हात  धुने । हात नधोई, सुर्ती, चुरोट, खैनी तथा अन्य खानेकुराहरू सेवन नगर्ने ।

रोगबाट बच्न थप के गर्न सकिन्छ ?

(क)    प्रदूषित पानी नपिउने ।

(ख) पशुहरूको पिसाब मिसिएको वा मिसिन सक्ने पानीमा, पोखरी वा आहालमा ननुहाउने ।

(ग)    मुसा नियन्त्रण गरी दाना तथा खाद्य पदार्थमा मुसाको पिसाब पर्नबाट जोगाउने ।

(ध)    यो रोग विरुद्ध कुकुर तथा गाईभैंसीमा नियमित खोप लगाउने (यदि खोप उपलब्ध छ भने) । 

(पशु स्वास्थ्य व्यवस्थापन विज्ञ, डिभाइन भेटेरिनरी क्लिनिक सिनामङ्गल ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X