शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किम र ट्रम्पको भेटवार्तामा यी बास्केटबल खेलाडी

सोमबार, २८ जेठ २०७५, ०८ : १०
सोमबार, २८ जेठ २०७५

बीबीसी

मंगलबार हुन लागेको बहुप्रतिक्षित भेटघाटका लागि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उन सिंगापुर पुगिसकेका छन् ।

संसारभरीका राजनीतिक विश्लेषण र सर्वसाधारणसमेतको ध्यान यो भेटघाटमा केन्द्रीत छ ।

भेटघाटमा दुबै देशको तर्फबाट थुप्रै कूटनीतिक समावेश हुनेछन् जसबारे आधिकारिक जानकारी उपलब्ध छैन । तर यो भेटघाटमा किम ट्रम्पबाहेक अर्का एक व्यक्ति पनि संलग्न हुँदैछन् जसको राजनीतिक र अन्तर्राष्ट्रिय कूटनीतिसँग कुनै सम्बन्ध छैन ।

किमलाई मनपर्ने बास्केटबल खेलाडी

यी व्यक्ति अमेरिकी बास्केटबल खेलाडी डेनिस रोडम्यान हुन् जो किम जोंग उनका नजिकका मानिन्छन् ।

सन् १९६१ मा जन्मेका डेनिस रोडम्यानले आफ्नो सुरुवाती पढाई अमेरिकी प्रान्त टेक्ससको एक सामुदायिक क्याम्पसबाट गरे ।

त्यसपछि उनले नेशनल बास्केटबल असोसिएशनका लागि खेल्न सुरु गरे । स्मल फरवर्ड पोसिजनबाट सुरु गरेपछि उनी एक प्रभावशाली खेलाडीको रुपमा आफ्नो पहिचान स्थापित गर्न सफल भए ।

रोडम्यान एक व्यवसायिक रेसलर पनि हुन् र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यवसायिक रेसलिंगसँग पुरानो सम्बन्ध पनि छ ।

डेनिसले जून ८ तारिखमा आफ्नो ट्वीटर अकाउन्टमार्फत आफू ऐतिहासिक सम्मलेनका लागि सिंगापुर जान लागेको घोषणा गरेका थिए । आफूले अमेरिकी राष्ट्रपति ट्रम्प र मार्शल किम जोंग उनलाई जस्तो मद्दतको आवश्यकता पर्छ, त्यस्तै उपलब्ध गराउने बताएका थिए ।

रोडम्यान निकै लामो समयदेखि दुबै देशबीच शान्तिपूर्ण सम्बन्धका पक्षधर हुन् ।

हालै जब उत्तर कोरियाले तीन अमेरिकी नागरिकलाई रिहा गरेको थियो तब उनले दुबै देशलाई धन्यवाद दिँदै ट्वीट गरेका थिए ।

रोडम्यानले सन् २०१३ मा गार्जियनलाई दिएको अन्तर्वार्तामा किम जोंग उनलाई उत्कृष्ट व्यक्ति बताएका थिए ।

यद्यपी, उनले उत्तर कोरियाको जेलमा राखिएका अमेरिकी नागरिकको रिहाईको कोसिसमा समावेश भएको कुरालाई अस्विकार गरे ।

उनले भनेका थिए, ‘केनेथ बेबारे कुरा गर्नु मेरो काम होइन ।’

आखिर किन विशेष छन् रोडम्यान ?

यदि यस सम्मेलनमा भाग लिनका लागि उनको योग्यताको कुरा गर्ने हो भने उनी यस्ता एक्ला अमेरिकी नागरिक हुन् जो अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाको सर्वोच्च नेता किम जोंग उन दुबैलाई भेटेका छन् ।

डेनिसले पाँच पटक उत्तर कोरियाको यात्रा गरिसकेका छन् । उनले एकपटक किम जोंग उनको परिवारसँग समुन्द्र किनारामा रमाइलो गरेको बताएका थिए ।

साथै, उनी ट्रम्प राष्ट्रपति हुनुअघि उनको टेलिभिजन शो सेलिब्रिटी अप्रेन्टिसमा दुई पटक समावेश भइसकेका छन् ।

साथै, उनले ट्रम्पले लेखेको किताब ‘द आर्ट अफ डील’ किम जोंगलाई दिएको दाबी गरेका छन् ।

रोडम्यानले सन् २०१३ मा पहिलो उत्तर कोरियाली यात्रा गरेका थिए । उक्त यात्राको क्रममा उनको समूहले एक बास्केटबल म्याच खेले जुन हेर्नका लागि किम र रोडम्यान सँगै बसे ।

विशेष कुरा यो छ कि उत्तर कोरियको सरकारी टेलिभिजनले रोडम्यानको यात्राको पूर्ण कभरेज गर्यो ।

रोडम्यानको भूमिका के रहला ?

रोडम्यान यो शिखर सम्मेलनका क्रममा कुनै सांस्कृतिक समारोहमा एक महत्वपूर्ण पाहुनाको रुपमा समावेश हुने सम्भावना छ ।

एनके लिडरशीप वाच नामको वेबसाइट चलाउने जानकार माइकल म्याडन भन्छन्, ‘रोडम्यान एक प्रकारका सद्भावना दूतजस्तै हुन् । यदि दुबै पक्ष सांस्कृतिक आदानप्रदानका लागि तयार हुन्छन् भने रोडम्यान त्यसको महत्वपूर्ण हिस्सा हुनेछन् । र यो बास्केटबलको रुपमा हुने सम्भावना छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप