केन्द्रीय संस्करण

समृद्धिका लागि योभन्दा राम्रो अवसर कहिल्यै आउँदैन : महन्थ ठाकुर

person access_timeजेठ २७, २०७५ chat_bubble_outline0


देश स्थिरतातर्फ अगाडि बढिरहेको हुनाले अबको कार्य आर्थिक समृद्धि र विकासमा छ । देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई देशका जनताले पनि पर्खेर बसेका छन् । राजनीतिक अधिकार, पहिचान र लडाइँ निरन्तर चल्ने प्रकृया हो । त्यो सँगसँगै आर्थिक समृद्धि पनि महत्वपूर्ण पाटो बनेको छ । मधेसी, आदिवासी जनजजाति, दलित, पिछडा वर्ग, मुस्लिम, अपाङ्गलगायतले अधिकारका लागि थुप्रै लडाइँहरू लडे । कति कुरा प्राप्त गरे, कति कुरा प्राप्त गर्न सकेको छैनन् । यद्यपि सबैको मूल जरो भनेको आर्थिक समृद्धि नै हो ।

राजनीतिक परिवर्तन सँगैसँगै गाउँ र देहातमा पनि विकासका टुसा पलाएका छन् । गाउँघरका मुहार फेरिएका छन् । सहर बजारको मुहार फेरिएको छ । चाहे त्यो खाडी मुलुकको रेमिट्यान्सबाट होस् या स्वदेशकै पसिनाले होस् । जनता आफूलाई सुखी जीवनमा ढाल्न खोजिरहेका छन् । गाउँघरतिर विस्तारै कच्ची घरहरू भत्किँदैछन् । पक्की घरहरू बन्दैछन् । गाउँघरमा बिजुली, इन्टेरनेट पुगेकै छन् । केटाकेटीहरू बोर्डिङ स्कुलमा पढ्दैछन् । अर्थात मानवीय जीवनमा थुप्रै परिवर्तन आइसकेको छ । 

तर यसको मतलब गरिबी, अशिक्षा छैन भन्ने होइन । अहिले पनि एकछाक खान नपाएर भोकै बस्ने नेपालीहरू पनि छन् । बस्नका लागि घर छैन । आङ छोप्नका लागि लुगा छैन । यस्ता व्यक्तिहरू पनि समाजमा छन् । यिनै गरिबी, अशिक्षा हटाउनका लागि आर्थिक परिवर्तन हुनु आवश्यक छ । 

तर त्यसका लागि साधन चाहिन्छ । साधनले परिणामलाई निर्धार गर्छ । आर्थिक समृद्धि र विकासका लागि विभिन्न साधन स्रोतको आवश्यकता पर्छ । साधन स्रोतविना विकासको कल्पनासमेत गर्न सकिँदैन । 

जनशक्ति

आर्थिक समृद्धि र विकासका लागि सबभन्दा पहिले जनशक्तिको आवश्यकता पर्छ । देश विकासका लागि चाहिने जनशक्ति भयो भने परिवर्तन हुन समय लग्दैन । त्यसका लागि दक्ष जनशक्ति भनिएको छ । परिवर्तन त गर्ने हो तर कसरी त्यसका लागि जनशक्ति चाहिन्छ । त्यो जनशक्ति हामीसँग छ कि छैन ? त्यो कुराको मापन पहिले गर्नुपर्छ । यदि जनशक्ति छैन भने त्यसका लागि प्राविधिक शिक्षालगायत अन्य शिक्षा र तालिमहरूको व्यवस्था गर्नुपर्छ । 

नेपालमा जनशक्तिको अभाव देखिएको छ । भएका जनशक्तिले काम नपाएर विदेश पलायन भएका छन् । कुनै पनि नेपाल जनशक्तिलाई विदेश गएर दुःख पाउने रहर हुँदैन तर आफ्नो क्षमता अनुसारको काम स्वदेशमै पाउनुपर्छ । त्यो कुराको अभाव देखिएको छ । अहिले भन्ने हो भने नेपालमै विभिन्न क्षेत्रमा जनशक्ति पाउन छाडिसक्यो । त्यसको सबभन्दा ठूलो असर कृषिमा परेको छ । आर्थिक समृद्धि र देश विकासमा सबभन्दा महत्वपूर्ण भूमिका खेल्ने कृषि नै हो तर त्यसका लागि जनशक्तिको अभाव देखिएको छ । भएका कृषिकर्म ठप्प हुने अवस्थामा छ । 

श्रमिक (जनशक्ति) नपाएर थुप्रै जमिन बाँझै हुन्छन् । त्यसैले आर्थिक समृद्धि र विकास भनेर मात्र हुँदैन । त्यसका लागि कर्म गर्नुपर्छ । त्यसका लागि पूर्वाधार तयार गर्नुपर्छ । कृषिपछि पर्यटनमा थुप्रै सम्भावना छन् । नेपाल नै यस्तो देश हो जहाँ सबभन्दा बढी पर्यटनलाई भित्र्याउन सकिन्छ तर त्यसका लागि कुनै काम भएको छैन । त्यसको प्रचार प्रसार भएको छैन । जनशक्ति लगाएको छैन । कृषि क्षेत्रमा केही भएको देखिए पनि पर्यटकीय क्षेत्रमा खासै ध्यान दिएको जस्तो लाग्दैन । 

विश्वका थुप्रै देशहरू पर्यटक तानेर धनी भएका छन् । तर हाम्रो देशमा त्यसको सम्भावना हुँदा हुँदै पनि चासो लिएको देखिएको छैन । हिमालदेखि तराईको समथर भागसम्म पर्यटक आकर्षित गर्ने थुप्रै ठाउँ छन् । मधेसकै कुरा गर्ने हो भने गल्ली गल्लीमा त्यस्ता ठाउँ छन्, जहाँ पर्यटकलाई तान्न सकिन्छ तर त्यसका लागि जनशक्ति चाहिन्छ । आर्थिक स्रोत चाहिन्छ । कृषि टुरिजमको लागि धेरै सम्भावना भएको देश नेपाल हो । ठूला ठूला कृषि फर्महरू बनाएर त्यहाँ पर्यटकलाई आकर्षण गर्न सकिन्छ । 

माछा पालन, गाईपालन, बङ्गुर पालनलगायतका कार्य गरेर आर्थिक क्षेत्रमा टेवा पु¥याउनुको साथै पर्यटक क्षेत्रमा पनि प्रगति गर्न सकिन्छ । 

स्वास्थ्य
आर्थिक समृद्धिका लागि जनशक्ति (शिक्षा) को जति आवश्यकता पर्छ । त्यति नै आवश्यकता स्वास्थ्यको पर्छ । जनशक्ति स्वस्थ्य भएन भने काम गर्न निकै गाह्रो हुन्छ । त्यसैले भनिन्छ, स्वस्थ्य नै जनशक्ति हो । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क हेर्ने हो भने नेपालीको स्वास्थ्य अवस्था त्यति सन्तोषजनक छैन । जसरी काम गर्नका लागि तालिम प्राप्त जनशक्ति चाहिन्छ, त्यसरी राम्रो काम गराउनका लागि स्वस्थ्य जनशक्ति नै चाहिन्छ । तर समान्य स्वास्थ्यको के कुरा यही नेपालमा सिटामोल र जीवनजल खान नपाएर मर्ने नेपालीहरू पनि छन् । 

स्वास्थ्य सबै जनताको पहुँचमा छैन । समृद्धि र रूपान्तरणका लागि जनस्वास्थ्यमा ख्याल गर्नु आवश्यक छ । जनताले जबसम्म स्वस्थ्य महसुस गर्दैनन् तबसम्म जति समृद्धि र विकासको कुरा गरे पनि केही लाग्दैन । त्यसैले विकासका र समृद्धिका लागि स्वास्थ्य नै धेरै नै महत्वपूर्ण कुरा हो । समृद्ध नेपाल र सुखी नेपालको नारा यो सरकारले दिएको छ । त्यसका लागि चाहिने आधारभूत कुरामा स्वास्थ्य पर्छन् । कुल ग्राहस्थ उत्पादनमा स्वास्थ्य क्षेत्रको हिस्सा १.७४ प्रतिशत रहेको छ । जुन धेरै कम हो । यो गतिले देशलाई आर्थिक समृद्धि कसरी बनाउन सकिन्छ ? यद्यपि स्वास्थ्य क्षेत्रको वृद्धि दर ६ प्रतिशतभन्दा बढी छ । यो तथ्याङ्कबाट बुझ्न सकिन्छ, स्वास्थ्य क्षेत्रमा वृद्धि भए पनि लक्ष्यअनुसार देशका लागि योगदान दिएको छैन । 

वैदेशिक रोजगार
नेपालबाट दिनहुँ जुन मात्रामा जनशक्ति विदेश पलायन भइरहेको छ, त्यसलाई नियन्त्रण गर्न एकदमै जरुरी भएको छ ।  थुप्रै जनशक्ति विदेश जान बाध्य भएका छन् । त्यसका लागि एउटा नीति नै बनाएर नियन्त्रण गर्न सकिन्छ । वैदेशिक रोजगारीमा जाने कार्यलाई नियन्त्रण नगरेसम्म आर्थिक समृद्धिको मुद्दा र एजेन्डालाई कदापी पूरा गर्न सकिँदैन । 

दैनिक नेपालको कुल गार्हस्थ उत्पादनमा वैदेशिक रोजगारीले लगभग एक चौथाइभन्दा बढी योगदान दिएको छ । देशका लागि एकातिर राम्रो पक्ष भए पनि दीर्घकालीन रूपमा नराम्रो हो । देशका जनशक्ति अरू देशमा गएर श्रम पसिना चुहाएर नेपाललाई एक चौथाई सहयोग पु¥याइरहेको छ भने ती जनशक्ति यही काम पायो भने कति फाइदा हुन्छ भने सहजै अनुमान लगाउन सकिन्छ । विदेश गएका जनशक्तिको कमाइबाट ५६ प्रतिशतभन्दा बढी परिवारले विप्रेषण प्राप्त गरिरहेका छन् । प्राप्त विप्रेषण (पैसा) को ८० प्रतिशतभन्दा बढी नियमित उपभोगमै खर्च गर्छन् ।

त्यसले गाउँघरको लिभिङ स्ट्यान्डर बढेको छ । नेपालबाट वैदेशिक रोजगारीका लागि ११० वटा देशमा जनशक्ति जाने गरेका छन् । यो वैधानिक आँकडा हो । लुकेर जाने देश थुप्रै होला ।  नेपाली श्रम बजारमा श्रम समूहको औसत वार्षिक पाँच लाख १२ हजार व्यक्ति भित्रने गर्छन् । नेपालमा औपचारिक रूपमा सम्पूर्ण जनशक्तिको झण्डै तीन प्रतिशतले मात्र स्वदेशमा रोजगारी पाइरहेका छन् भने बाँकीले कृषि, घरेलु व्यवसाय र वैदेशिक रोजगारीमै निर्भर रहेको तथ्याङ्कले देखाएका छन् ।

नेपालका जनशक्तिको यस्तो डरलाग्दो अवस्था हुँदाहुँदै पनि आर्थिक समृद्धिको सपना देख्छन् । आर्थिक समृद्धिका लागि पाइला चाल्नका लागि पहिलो पाइला यसैमा चाल्नुपर्छ ।

स्थिर सरकार
विश्वको राजनीतिक स्ट्याबिलिटीको कुरा गर्ने हो भने जहाँजहाँको पोल्टिक्स स्ट्याब्लिटी छ त्यहाँत्यहाँ विकास भएको देखिन्छ । आर्थिक रूपमा परिवर्तन हुनका लागि मुख्य रूपमा राजनीतिक स्थिरता हुनु आवश्यक छ । नेपालमा त्यो कुराको अभाव देखिएको छ । नेपालमा कहिल्यै स्थिर सरकार वा राजनीतिक स्थिर रहेन । जहिले पनि एउटा न एउटा समस्या रहँदै रह्यो । त्यसले गर्दा पनि नेपालमा विकास हुन सकेन । नेपालको इतिहास हेर्ने हो भने जुनबेला अलिकति भए पनि देशको राजनीतिक स्थिर भएको छ त्यो बेला थुप्रै विकास भएको छ । 

चाहे त्यो राणा शासनको समय होस् वा शाहवंशीय शासन होस् । जसको पालामा अलिकति स्थिर भएको छ त्यो बेला केही न केही भएको छ । त्यसैले आर्थिक समृद्धि, सुखी नेपालका लागि राजनीतिक स्थिरता चाहिन्छ । अहिलेको सरकार पनि पाँच वर्षका लागि स्थिर सरकार भएको छ तर मानसिकता पनि उही पुरानै छ । अहिलेको सरकारलाई अब कामबाहेक अरू केही विजनेस नै छैन । दुई तिहाइभन्दा बढी मतका सरकार बनेको छ । देशका लागि गर्न चाह्यो भने त्यसका लागि कसैले केही अवरोध गर्दैनन् । 

स्थिर सरकार बनेको छ । त्यसका लागि हाम्रो पनि शुभेक्षा र सद्भाव छ । दुःख पाएका, सङ्घर्ष गरेका अनुभवी नेताहरूको हातमा सरकार छ । यसले केही गर्न सक्छ भन्ने अपेक्षा धेरैले गरेका छन् । सरकारले केही गरेर देखाउने बेला पनि यही हो । अब उसले केही बाहाना पनि बनाउन पाउँदैन । पहिला दुई दलको सरकार थियो । अब एउटै दल भएको छ । यो झन् राम्रो भएको छ । पार्टी एकीकरण गरेपछि जनतामा एउटा विश्वास जागेको छ– यसले केही गर्छ । तर यस अवस्थामा पनि केही गर्न सकेन भने राजनीतिक दलबाट जनताको विश्वास टुट्छ । दुई तिहाइमा केही कमी थियो । त्यसलाई पूरा गर्न लागि सङ्घीय समाजवादी फोरम नेपाल पनि सरकारमा गएको छ । त्यसलै यी दलका लागि काम गर्ने योभन्दा राम्रो अवसर कहिल्यै पनि आउन सक्दैन । 

अधिकार पहिचान र विकास
एक समय थियो जतिबेला हामीले अधिकारका लागि मात्र हामी लडाइँ गरेका थियौं । त्यो लडाइँ अझै जारी छ । तर अब हामीले विकासको एजेन्डा पनि सँगसँगै लगिरेहका छौँ । विकास र समृद्धिसँग जोडिएका थुप्रै कुराहरू मागभित्र रहेका छन् । त्यसका साथै अन्य विषयहरूलाई पनि आर्थिक समृद्धिसँग जोडेर अगाडि बढाएका छौँ । पहिलो कुरा त यो सरकारले आर्थिक विकास र समृद्धिका लागि गठन भएको भन्छन् । त्यसमा हाम्रो पनि समर्थन छ । विकास र परिवर्तनका लागि सरकारले गर्ने हरेक कार्यमा हाम्रो समर्थन रहनेछ । 

तर त्यो जनपक्षीय हुनुपर्छ । गरिबी र अभावबाट मधेस पछाडि परेको हो र राज्यले यो जानी जानी यस्तो गरेको हो भन्ने हाम्रो बुझाइ हो । सरकारले आर्थिक समृद्धिका लागि चाल्ने कदममा कुनै प्रकारको विदेभ नहोस् भनी हामीले सचेत गराउँदै आएका छौँ । आर्थिक बजेट ल्याउँदा हामीले जनसङ्ख्याका आधारमा बजेटको व्यवस्था गर्नुपर्ने भनेका थियौँ तर राज्यले त्यसमा बेवास्ता गरेको छ । हामीले संसदमा पनि यो कुरा उठाएका छौँ । राज्यको हरेक निकायमा समान प्रतिनिधित्व र जनसङ्ख्याका आधारमा बजेटको व्यवस्था गरेन भने आर्थिक समृद्धि कल्पना मात्र हुनसक्छ ।

(राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग एसके यादवले गरेको कुराकानीमा आधारित ।)
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X