शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गर्भपतन विरोधी क्रिश्चियन प्रचारकहरुको निशानामा नेपाली महिला

शनिबार, २६ जेठ २०७५, १८ : ३०
शनिबार, २६ जेठ २०७५

सरकारको परिवार नियोजन लगानी खेर जाने सम्भावना

(पश्चिमी राष्ट्रहरुमा क्रिश्चियनहरुको रुढीवादी हिस्साले गर्भपतनलाई ईश्वरको काममा दख्खल दिएको रुपमा लिन्छ । ती रुढीवादी क्रिश्चियनहरुले गर्भपतनबारे भ्रम फैलाउन विभिन्न अभियान चलाउने गर्छन् । त्यसका साथै उनीहरुले गर्भपतनको प्रचार गर्ने चिकित्सकहरुलाई धम्क्याउने, अपहरण गर्ने, गर्भपतन गराउने, क्लिनिकहरुका हमला गर्ने जस्ता कार्य गर्ने गरेका छन् । 

यस्ता घटना अन्य राष्ट्रहरुको तुलनामा अमेरिकामा निक्कै उघ्र रुपमा हुने गरेको छ । सन् १९९० यता मात्र अमेरिकामा गर्भपतन विरोधीहरुले ११ जनाको हत्या गरिसके । त्यसका साथै सन् १९७७ यता गर्भपतन गराउने क्लिनिकहरुमा ४१ बम हमला र १७३ आक्रमणका घटना भएका छन् । 

पछिल्लो समय यस्ता समूहले गरिब देशमा पनि लगानी गरेर गर्भपतनको विरोध गराउन थालेको छ । त्यस्ता समूहले नेपाललाई पनि प्राथमिकतामा राखेको कुरा सिएनएनमा प्रकाशित यो आलेखमा खुलाइएको छ । रोजिता अधिकारीको सहयोगमा सिएनएनकी तारा टोद्रस–व्हाइटहिलले तयार पारेको उक्त आलेखको अनुवाद प्रस्तुत छ ।)

पास्टर सुमन राई र उनका स्वयम्सेवीहरुको समूह काठमाडौंबाट सिन्धुपाल्चोकको शिलापर्वत आइपुगेका छन् । तीन वर्ष अगाडी आएको विनाशकारी भूकम्पले उक्त गाँउलाई निक्कै असर गरेको थियो । राजधानीबाट ८० किमी पूर्वमा रहेको यो गाँउ पुग्ने एउटै विकल्प भनेको धुलाम्मे गोरेटो र तुइन मात्र हो ।

त्यहाँ पुगिसकेपछि राई र उनको समूहले टेबलमा आफूले ल्याएको पम्प्लेटहरु फिजाए र ठूलो अक्षरमा लेखिएको एक तुल झुण्डाए । तुलमा एक बच्चाको तस्बिर वरपर ‘म जीवन रोज्छु’ भन्ने लेखिएको थियो । ब्यानरको पिँधमा राईको संस्थाको नाम लेखिएको थियो –भ्वाइस अफ फेटस, नेपाल (भूर्णको आवाज, नेपाल) ।

राईले सँगै एक ठूलो कालो रङ्गको बक्सा ल्याएका छन् । त्यसमा चार वटा गर्भमा रहेको बच्चाको आकारको गुडिया छन् । उनी आफूले गर्ने प्रत्येक प्रस्तुतीमा यो गुडियाहरु भीडमा बाँडेर आफूले बोलिरहेको कुरा प्रष्ट पार्न खोज्छन् ।

राईको संस्थाको उद्देश्य देशभरका चर्च, स्कुल र स्थानीय समुदायका अगुवाहरुमा गर्भपतन विरोधी सन्देश प्रचार गर्नु हो । 

आलोचकहरुले अमेरिकामासमेत अन्तर्राष्ट्रिय अनुदानबाट चलाएको जस्तो अभियानले नेपाल सरकारले चलाइरहेको सुरक्षित र कानुनी गर्भपतन अभियानलाई नकारात्मक असर गरिरहेको बताउँदै आएका छन् ।
परिवार नियोजना र गर्भपतन सेवा दिँदै आएको मेरी स्टोप्सले राईजस्ता ‘प्रो लाईफ’ भनिने गर्भपतन विरोधी अभियन्ताहरुले ग्रामिण क्षेत्रका नेपाली महिलाहरुलाई गर्भपतन सेवाबारे भ्रम सिर्जना गराइरहेको बताएको छ ।

‘(प्रो–लाइफ अभियन्ताहरुको) यो मुद्दाले समुदायहरुमा सुरक्षित र कानुनी गर्भपतनबारे नकारात्मक धारणा बनाएको छ । गर्भपतनप्रतिको यो घृणाको विस्तारले गर्भपतन सेवा चाहने महिलाहरु र सुरक्षित र कानुनी गर्भपतन सेवा प्रदान गरिरहेकाहरु बीचमा विभाजन ल्याएको छ ।’ मेरी स्टोप्स नेपालकी मिडिया र सञ्चार म्यानेजर सिर्जना बज्रचार्यले भनिन् ।

सूचनाको अभाव
१५ वर्षअघि नेपालले गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको हो । हाल देशभर १३०० आधिकारिक गर्भपतन क्लिनिकहरु सञ्चालन भइरहेका छन् ।

अघिल्लो वर्षको प्रारम्भतिर नेपाल सरकारले गर्भपतन सेवालाई सरकारी स्वास्थ केन्द्रहरुमा निःशुल्क गरायो । तर ग्रामिण क्षेत्रका एकदमै थोरै महिलाहरुलाई मात्र यसबारेमा जानकारी रहेको पाइयो ।

सूचनाको अभाव, गर्भपतनबारे रहेको नकारात्मक धारणा र सरकारी सेवाहरुप्रति अविश्वासको कारणले ग्रामिण क्षेत्रका अधिकांश महिलाहरुले स्वास्थ स्वयम्सेवकहरुलाई प्रश्न सोध्न अहसज मान्छन् ।

ग्रामिण क्षेत्रमा धेरैलाई स्वास्थ जटिलताको अवस्थामा क्लिनिकमा जानुपर्ने हो कि औषधी पसलमा भन्ने पनि थाहा छैन । यही अज्ञानताको खाडल रहेको अवस्थामा पास्टर राइ र उनको संस्थाले खेल्न खोजिरहेको छ ।

सन् २००९ मा स्थापना भएदेखि राईको एनजीओले नेपालभरका ३२,००० पास्टरहरु र चर्चका अगुवाहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष तालिम दिएर गर्भपतन विरोधी सन्देश फैलाएको दावी छ ।

सन् २०१४ मा नेपालमा लगभग ३,२३,००० गर्भपतन गरिए । यो संख्या १५–४९ वर्ष समूहको जनसंख्यामा प्रत्येक १००० महिलाहरुमा ४२ को दर हो । 

तर नेपालमा भएका कुल गर्भपतनमा आधा जोखिमपूर्ण हिसाबले अवैधानिक रुपमा गरिन्छ । यसको पछाडीको कारणमा मानिसहरुलाई स्वास्थ केन्द्रहरुमै वैधानिक रुपमा गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी छैन ।

‘गर्भपतन क्लिनिकहरु ठूला शहर केन्द्रित छन् । ग्रामिण महिलाहरु त्यहाँसम्म जाँदैनन् । यही कारण नै गामिण क्षेत्रमा ठूलो संख्यामा अवैधानिक रुपमा गर्भपतन हुने गर्छ ।’ नेपाल पारिवारिक स्वास्थका निर्देशक डा.विकास देवकोटाले भने ।

समग्र एसियामा वार्षिक रुपमा लगभग प्रजनन उमेर (१५–४४) का प्रत्येक हजार महिलाहरुमा ३६ महिलाले गर्भपतन गर्छन् । यो दर अविवाहित महिलाहरुमा प्रत्येक हजारमा २४ रहेको छ ।

धर्म परिवर्तन
राई र उनको संगठन पहिलो पटक सन् २०१५ को भूकम्पपछि यो क्षेत्रमा आएको थियो ।

यहाँ आएर उनले गरेका काममध्ये एउटा पम्पप्लेट बाँड्नु पनि थियो । जसमा भूकम्पले गर्भलाई नकारात्मक असर गर्छ भन्ने हल्लाको प्रतिरक्षा गरिएको थियो । उनको संस्थाले त्यो समयमा खाना, ब्लाङ्केट र झुल पनि बाँडेका थिए ।

प्रभावित क्षेत्रमा विभिन्न संस्थाहरुले घर निर्माण गर्न सघाएका थिए । त्यसमा अन्तर्राष्ट्रिय एनजीओ र विभिन्न अन्तर्राष्ट्रिय क्रिश्चियन आधारित समूहहरु पनि समावेश थिए । 

शिलापर्वत गाँउको आफूहरुले गरेको कामबारेमा बोल्दै राईले भने, ‘हामी कसैलाई डराउन वा भावुक बनाउन खोजिरहेका छैनौं । हामी खाली तिनलाई सत्य बताइरहेका छौं ।’

सीएनएन रिपोर्टरहरु गएका तीन चर्चहरुको प्रार्थनामा सहभागीहरुले पछिल्लो दुई वर्षमा यो क्षेत्रमा क्रिश्चियनहरुको सङ्ख्यामा ५०% ले वृद्धी भएको बताए । हाल क्रिश्चियनहरु अल्पसङ्ख्यक रहेको देशको लागि यो सङ्ख्या निक्कै ठूलो हो ।

नेपाल क्रिश्चियन समाजका अध्यक्ष बर्नवास श्रेष्ठले सन् २०११ को जनगणना अनुसार नेपालमा क्रिश्चियनहरुको हिस्सा १.४% रहेको जानकारी दिए । श्रेष्ठका अनुसार यो सङ्ख्या गलत छ ।

उनी र उनको सस्थाले नेपालमा क्रिश्चियनहरुको सङ्ख्या १५ लाख भएको दावी गर्दै आएका छन् । २ करोड ६४ लाख जनसङ्ख्या भएको देशमा यो सङ्ख्या लगभग ५% हुन आउँछ ।

मेरी स्टेप्स नेपालकी बज्र्रचार्यले धर्म परिवर्तन गर्ने धेरैजसो हिन्दु धर्ममा अपहेलित दलितहरु रहेको बताइन् । ‘र, गर्भपतन विरोधी अभियन्ताहरु पनि नेपालको यही समूदायहरुमा बढी सक्रिय छन् ।’ बर्जचार्यले बताइन् ।

सन् २००१ मा कानुनी रुपमा गैरकानुनी घोषणा गरिएको भए पनि जातिय छुवाछुत नेपालको समस्या रहँदै आएको छ । विशेष गरी ग्रामिण क्षेत्रमा समस्या झनै विकराल छ । त्यी क्षेत्रमा दलितहरुमाथि भेदभादको उग्ररुप हिंसा समेत हुने गरेको पाइन्छ । ति समूदायको लागि क्रिश्चियन धर्म अंगााल्नु एक हिसाबले त्यस भेदभावबाट पार पाउने प्रयास हो । 

भूकम्पले शिलापर्वतमा रहेको चर्च ध्वस्त गरिदियो । त्यसपछि यसलाई एक स्तुपा छेउ निर्माण गरियो, जुन भने अझैँ भग्नावशेष अवस्थामा छ ।

स्थानीय प्रभाव
राईको भाषण सुन्न आएका महिलाहरुलाई गर्भपतन के हो भन्ने सम्म थाहा नभएको पाइयो । साथै उनीहरु त्यहाँ आउदाँ त्यहाँ प्रस्तुत गर्न लागेको विषयबारे पनि जानकार थिएनन् ।

उनीहरुलाई स्थानीय पाश्चरले बोलाएकाले आएका थिए । गर्भपतन बारेमा जिज्ञासा राख्दा केही सहभागिहरुले यसको नाम नै नसुनेको बताए ।

राईले आफ्नो प्रस्तुती जेसस क्राइस्टको साधारण प्रार्थनाबाट शुरु गरे ।

त्यसपछि उनले महिलाहरुको शरिरले कसरी काम गर्छ व्याख्या गरे र केही स्लाइडमार्फत जीवनको शुरुवात भ्रूणबाट हुने उल्लेख गरे ।

त्यसपछि राईले आफूले ल्याएको चार वटा भ्रूणको गुडियाहरु झिके र गर्भको विभिन्न चरणबारे बताउँदा त्यसलाई देखाए, जुन चिकित्सकीय हिसाबले ती ठ्याक्कै सही नहुन सक्थे । जस्तो १२ हप्ताको भ्रूण देखाउँदा उनले हात खुट्टाको औंलाहरु रहेको एक गुडिया देखाएका थिए ।

त्यसपछि राईले आफ्नो मुख्य कुरा खोले : गर्भपतन बच्चा मार्नु जस्तै किन हो त ?
त्यसका लागि उनले प्रयोग गरेको धेरै जसो तर्कहरु विश्वका अन्यत्र गर्भपतन विरोधीहरुले प्रस्तुत गर्ने तर्कसँग समान थिए ।

जस्तो उनले देखाएको एक स्लाइडमा गर्भपतनको क्लिनिकहरुले कसरी आफ्नो व्यापारीक फाइदाको लागि जीवन देख्नुअघि नै भ्रूणको हत्या गर्छन् भनिएको थियो ।

अर्को स्लाइडमा एक ‘पाई चार्ट’मा उनले विश्वमा गर्भपतनबाट हिटलर, स्टालिन र पोलपोर्ट जस्ता तानाशाहले मारेको कुल मानिसभन्दा धेरै भ्रूण मारिसकेको बताए ।

त्यसपछि उनले देखाएको गर्भपतन गरिएका भ्रूणका तस्बिरहरु अमेरिका तिर ‘प्रो–लाइफ’ भनिनेहरुले निकाल्ने ¥यालीमा प्रयोग गरिने तस्बिरजस्तै निक्कै हृदयविदारक थियो । 

त्यसपछि नजन्मिएका बच्चाहरुले आफ्नो आमालाई आफूलाई किन गर्भपतन गर्न लागेको भनेर सोधेको सानो फिल्म देखाइयो । त्यहाँ उपस्थित धेरै महिलाहरु यो हेर्दा शुक्क–शुक्क गरिरहेका थिए । केहीले सारीको छेउले आँशु पुछिरहेका थिए ।

सन् २०१० मा बायोमेड सेन्ट्रलमा प्रकाशित भएको एक आलेख अनुसार औसतमा नेपालका हिन्दू र मुस्लिमहरुभन्दा क्रिश्चियन र बौद्ध महिलाहरुले कम बच्चा पाउने देखिएको थियो । 

त्यस अतिरिक्त नेपालका क्रिश्चियनहरु पश्चिमा क्रिश्चियनहरु जस्तो परिवार नियोजनका साधनहरुको प्रयोगप्रति नकारात्मक नरहेको पाइएको थियो ।

तर राईले आफ्नो सम्बोधनको अन्त्य यस्ता परिवार नियोजनका साधनको विरोध गरेर गरे । उनले भने, ‘यस्ता आधुनिक परिवार नियोजनका साधनको प्रयोग गर्नु स्वत गर्भपतन गर्नु हो ।’

उनले प्राकृतिक ‘रिदेमिक तरिका’ मात्र उपयुक्त विकल्प भएको बताए । (उनले कण्डम पनि उपयुक्त भए पनि कहिलेकाहिँ यसले बच्चा रोक्न सक्ने बताए । जुन चिकित्सकीय हिसाबले गलत हो ।)

उनले बच्चा जति पाए पनि राम्रो भएको बताउँदै यदी आवश्यक भएमा बरु पाल्न दिनुपर्ने वकालत गरे ।

राईले दिएको भाषणले स्पष्ट रुपमा धेरै सहभागिहरुलाई प्रभावित बनाएको देखिन्थ्यो । भाषणपछि गर्भपतनबारे उनीहरुको धारणा सोध्दा धेरैले यसलाई हत्यासँग तुलना गरे । त्यसका साथै चिकित्सकीय परिवार नियोजनको साधन प्रयोग गर्नु साटो प्राकृतिक परिवार नियोजनको साधनको प्रयोग गर्नुपर्ने बताए । 

भेलामा सहभागि भएकी १६ वर्षीया मूनाले वत्ता क्रिश्चियन भएकाले परिवार नियोजनको साधनबारे उनले बताएका कुरा पक्कै पनि सही हुनु पर्ने बताइन् ।

राईको भाषणले चर्च जानेहरुको मन मात्रै बदलेको होइन की त्यसले अनुदान संस्था र नेपाल सरकारले परिवार नियोजनमा गरेको ठूलो लगानीमा असर गर्ने देखिन्छ ।

नेपालको परिवार स्वास्थका पूर्व निर्देशक नरेश प्रताप केसीले सीएनएनसँग कुरा गर्दै यसलाई साँच्चैको चुनौतीको रुपमा स्वीकारे । 

प्रताप केसीले सरकारको ठूलो प्रयास नगरेका महिलाहरु यस्ता दुस्प्रचारको खतरामा पर्ने सम्भावना निक्कै बढी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप