बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कीराले दिमागलाई उत्तेजित गर्छ र छारेरोग लाग्छ, तर हुन्छ उपचार

शनिबार, २६ जेठ २०७५, ०९ : ५९
शनिबार, २६ जेठ २०७५

काठमाडौँ–हाम्रो समाजमा छारेरोगीलाई स्वास्थ्य संस्था लानुभन्दा पनि धामी झाँक्रीकोमा लाने चलन अझै हराएको छैन । छारेरोगको समस्या कुल जनसङ्ख्याको १ प्रतिशतलाई हुन्छ । त्यसमा पनि रोगीमध्ये २५ प्रतिशत मात्रै स्वास्थ्य संस्था आइपुग्ने गरेका छन् । त्यो पनि अन्तिम अवस्थामा मात्रै । 

छारेरोग कस्तो रोग हो ? बिरामी तथा परिवारले अपनाउनुपर्ने प्रावधान, उपचारलगायतको विषयमा शिक्षण अस्पताल महाराजगञ्ज टिचिङका नसा विभागका प्रमुख डाक्टर राजेश कर्णले जानकारी दिएका छन् । डाक्टर कर्णको शब्दमा । 

छारेरोग 

छारेरोग एक विशेष प्रकारको नसा रोग हो । यो रोगले भेटेपछि मस्तिष्कको एक भाग वा मस्तिष्कको पूरै भागमा विद्युतीय तरङ्ग भई बिरामी अचानक बिहोस हुन्छ र आँखा पल्टाउन थाल्छ । 
साथै दाँत बाँध्ने, जिब्रो टोक्ने, मुखबाट फिँज काड्ने छारेरोगको सङ्केत हो ।

सामान्य भाषामा छारेरोगलाई मिर्गी पनि भन्ने गरिन्छ । नेपालको हिसाबमा करिब १ प्रतिशत नागरिकमा छारेरोग रहेको विभिन्न तथ्याङ्कले देखाएको छ । छारेरोग अन्य रोग जस्तै सामान्य रोग हो र यसको पनि समयमा उपचार भए पूर्ण रूपमा निको पार्न सकिन्छ ।

तर नेपालको हिसाबमा कुरा गर्ने हो भने छारेरोगी स्वास्थ्य संस्थामा नै आउँदैनन् । आए पनि अन्तिम अवस्थामा मात्रै आउँछन् ।

समय परिवर्तनसँगै देश विकासले पनि फड्को मारिरहेको बेलामा नेपालमा अझै पनि छारेरोगलाई नकारात्मक दृष्टिले हेर्नेको सङ्ख्या उल्लेख्य मात्रमा रहेको छ ।

छारेरोग भएका व्यक्तिलाई पारिवारिक र सामाजिक काममा पनि समस्या हुने गरेको छ । विवाह, जागिरमा समस्या हुने कारणले पनि  युवा÷ युवतीले छारेरोग लुकाउँदै आएका छन् ।

गर्न नहुने कुरा 

छारेरोगले बिरामी ढलेको बेलामा हाम्रो समाजमा चम्चा, हात प्रयोग गरेर दाँत खुलाउन खोज्छन् । तर यो गलत हो । यस्तो गरेमा दुर्घटना हुन सक्छ । बिरामी बेहोस् भएको बेलामा पानी छ्याप्ने पानी खुवाउने गर्नाले पानी सर्केर मृत्यु पनि हुने सक्छ ।  

यस्तै गन्हाउने प्याज, जुत्ता, मोजा सुगाउने वा नाक, मुक थुन्ने काम पनि गलत हो । यसो गर्नाले उल्टै बिरामीलाई समस्या हुन्छ । तसर्थ छारेरोगी ढलेको बेलामा सकेसम्म स्वास्थ्य संस्था लानुपर्छ । 

छारेरोग विभिन्न प्रकारका हुन्छन् । रोग पहिचान गरेर औषधि सेवन गरेपछि निको पार्न सकिन्छ । यो रोग मेडिकल उपचारबाट निको पार्न सकिन्छ । नेपालमा देवी, देवता र धामी, झाँक्रीतिर लगेपछि मात्र स्वास्थ्य संस्थामा निकै ढिला आउने गरेका छन् ।

उपचार नपाउनुको मुख्य कारण भ्रम 

भ्रम नै छारेरोगको बिरामी अस्पताल नआउनुको प्रमुख कारण हुन् । हाम्रो नेपालको कुरा गर्ने हो भने अझै ७५ प्रतिशत छारेरोगी स्वास्थ्य संस्थामा आएका छैनन् । जसका कारण अकालमा मृत्यु हुनु, चोट पकट लाग्नु, बौद्धिकतामा ह्रास आउनु, आफ्नो परिवारबाट तिरष्कृत हुनु, वैवाहिक जीवनमा समस्या आउनु, विवाह भएको व्यक्तिको परिवारमा समस्या आउनु जस्ता समस्या छारेरोगीको जीवन भोगाइमा समस्या हुँदै आइरहेको छ । 

नेपालमा छारेरोगको बिरामी पनि निकै मात्रामा बढ्दै छन् । यो रोगसँग सामाजिक भ्रम बढी छ ।  स्वास्थ्य संस्थाभन्दा पनि  उपचार नगराउने झारफुकमा लाग्ने, धेरै नेपालीको चासो रहेको छ । छारेरोग लागेर ढलेपछि हाम्रो समाजमा दाँत खुलाउन चम्पाको प्रयोग गर्ने, जुत्ता सुँगाउने गर्छन् । यो कार्य गलत हो । यसो गर्दा बिरामीको ज्यानै जान सक्छ । छारेरोगको उपचारपछि निको हुन्छ, अस्पताल जानुपर्छ भन्ने सोचाइ निकै कम नेपालीहरूमा छ । 

छारेरोगको सबैभन्दा राम्रा पक्ष एउटा मात्रै औषधि प्रयोगले एक सय जनामा ७० जनाको रोग निको हुन्छ । रोगका कारण औषधि सेवन गर्नुपर्ने हुन्छ । सामान्यतया २ वर्षसम्म औषधि खानुपर्ने हुन्छ । ७० प्रतिशतमा एउटा औषधि प्रयोग गरेको भरमा रोग निको हुन्छ । यस्तै केही रोगीमा भने २ देखि ३ वटा औषधि प्रयोग गर्नुपर्ने हुन्छ ।  

कसैलाई ब्रेन ट्युमरका कारण छारेरोग लागेको हुन्छ भने कतिको वंशाणुगत, मस्तिष्कको घात पनि यो रोग लागेको हुन्छ ।  

छारेरोग मानसिक तनाव, अनिन्द्रा, अल्कोहल सेवन गर्दा यस्तो अवस्थामा दोहोरिने सम्भावना हुन्छ । त्यसकारण मानसिक र शारीरिक तनावबाट मुक्त हुनुपर्छ । अनिद्रामा नबस्ने, मदिरा सेवन नगर्ने, टल्किने खालका वस्तु धेरै नहेर्नाले दोहोरिने सम्भावना कम हुन्छ ।

यसरी पुग्छ दिमागमा कीरा 

छारेरोग विशेषतः सबै उमेर समूहको व्यक्तिलाई लाग्ने रोग हो । तर कारण फरक फरक हुन्छ । बालबालिकामा धेरैजसो ज्वारो आउने, काम्ने समस्या हुन्छ । बालबालिकामा छारेरोग ज्वारोसँगै आउने हुन्छ । बालबालिकाको हकमा कुरा गर्ने हो भने मेनेन्जाइटिस इन्सेफ्लाइटिस, जसलाई मस्तिष्क ज्वारो पनि भनिन्छ, त्यसले पनि बालबालिकामा छारेरोगजस्तै देखिन्छ । तर उपचारपछि निको हुन्छ । वयस्क व्यक्तिको कुरा गर्ने हो भने मस्तिष्कघात धेरैजसो दुर्घटनाको कारणले हुँदै आइरहेको छ । दिमागमा देखिने समस्याको कुरा गर्ने हो भने समस्या भएकामध्ये ४० प्रतिशत नेपालीमा दिमागमा भित्ते कीराको अण्डा भेटिन्छन् । वयस्क व्यक्तिमा दिमागको समस्या देखिने मुख्य एउटा कारण यो पनि हो । यो कीराको फूल हामीले खाएको खानाबाट आन्द्रामा पुग्ने आन्द्राबाट रगत हँुदै दिमागमा पुग्छ  । कीराले दिमागलाई उत्तेजित पार्न काम गर्छ, छारेरोग लाग्छ । 

सलाद, राम्रोसँग नपाकेको साग खाँदा पनि यो समस्या हुन्छ भने कसैको आन्द्रामा भित्तेकीराको इन्फेक्सन छ भने आन्द्राबाट दिसामा पास हुन्छ । पानीको अभावका कारण साजसब्जी राम्रोसँग सफा नगर्ने, काँचै खान रुचाउने हुँदा भित्तेकीरा, जुकाको अण्डा मर्दैनन् र पेटबाट रगतमार्फत दिमागमा पुग्छन् । 

रोगी सुँगुरको मासु राम्रोसँग नपकाई खाएको खण्डमा पनि कीराको अण्डा दिमागमा पुग्ने सम्भावना बढी हुन्छ । नेपालको कुरा गर्ने हो भने सलाद र सागसब्जीबाट भित्तेकीराको जुकाको अण्डा दिमागमा पुगेको देखिन्छ । यो कारणले पनि छारेरोग लाग्ने सम्भावना बढी हुन्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप