बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाम्लिङ राई भाषा बोल्ने गैरचाम्लिङ

शुक्रबार, २५ जेठ २०७५, १२ : ४६
शुक्रबार, २५ जेठ २०७५

दुर्छिम (खोटाङ) । ९६ वर्षमा हिँडिरहेका कर्णबहादुर राउतलाई चाम्लिङ राई भाषा फररर्र बोल्न आउँछ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडानिवासी राउत दाबी गर्छन्, ‘बोल्नमात्रै होइन, पितृ बुझाइदिन्छु ।’

भोटीमाया विश्वकर्मासमेत चाम्लिङ राई भाषा फररर्र बोल्छिन् । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मानिवासी ७२ वर्षीया विश्वकर्माको भनाइ छ, ‘६ महिना लगाएर गाउँकै बाल्यकालका साथीहरू ज्ञानिम्मा, बद्रीम्मा, कोपिलेम्मा, डोरेम्माहरूसँग भाषा सिकेकी हुँ ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडानिवासी पदमबहादुर राउतलाई पनि चाम्लिङ राई भाषा बोल्न आउँछ । ६२ वर्षीय राउतले सुनाए, ‘कसैले झुक्याउन सक्दैनन् ।’

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा चाम्लिङ भाषा बोल्ने राउतद्वय र विश्वकर्मा प्रनितिधि पात्रमात्रै हुन् । गैरचाम्लिङले चाम्लिङ भाषा बोल्नु अनौठो हुँदै होइन । र, मानिदैन पनि । तर, चाम्लिङ राई समुदायकाले मातृभाषा बोल्न छाड्दै जानु र पछिल्लो पुस्ताले बोल्न आउँदैन भन्दा राउतद्वय र विश्वकर्मा उदाहरणीय मानिन्छन् । 

समाजमा विभिन्न समुदायको बसोवास हुन्छ । उनीहरूमध्ये एकले अर्काको संस्कार, संस्कृति जानीनजानी आत्मसात् गरिरहेका हुन्छन् । गर्दै आएका छन् । एकले अर्काको संस्कार, संस्कृति आत्मसात् गर्दा सम्बन्धित समाज बलियो हुन्छ । सांस्कृतिक अन्तरघुलनले सम्बन्धित समाज जोड्न र बलियो बनाउन सघाउँछ । 

‘नेपालमा राष्ट्रिय एकता अपूरो, अधुरो छ भनिन्छ । पृथ्वीनारायण शाहले राजनीतिक एकीकरण गरे पनि सांस्कृतिक र भावनात्मक एकीकरण गर्न सकेनन्,’ संस्कृति अध्येता भोगीराज चाम्लिङको बुझाइ छ, ‘पृथ्वीनारायण शाहको दिव्योपदेशमा नेपाल ‘आसिल हिन्दुस्थान’ हो भन्ने उल्लेख छ । शाहले हिन्दु धर्मबाहेक अन्य संस्कृतिको सम्मान र सहअस्तित्व स्वीकारेनन् । अरूलाई आफ्नो छाताभित्र अटाउन खोजे । एकले अर्को समाजको संस्कृति आत्मसात् गर्न चाहेनन् । तर, पृथ्वीनारायण शाहले गरेको अपूरो, अधुरो कामलाई पूर्णता दिन, सच्याउन सामाजिकस्तरमै सामाजिक अन्तरघुनमार्फत आफ्नैपाराले अघि बढाइँदै छ । त्यसको गतिलो उदाहरण हलेसी–तुवाचुङ नगरपालिका–५ निवासी राउतद्वय र विश्वकर्माले चाम्लिङ भाषा बोल्नु हो ।’

गैरचाम्लिङले चाम्लिङ भाषा बोल्नु भनेको सम्बन्धित समाजमा रहेकाले अपनत्वबोध गर्नु हो । सितिमी मासिक सम्पादक तिलक चाम्लिङले भने, ‘अरूको संस्कारसँग घुलमिल हुनु हो । भाषाले एउटै समाजका विभिन्न समुदायलाई जोडेको छ । एकले अर्को समुदायको भाषा बोल्नु भनेको भाषिक संरक्षण गर्नु पनि हो ।’

गैरचाम्लिङले चाम्लिङ भाषा बोलेको सुन्दा शिक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भूपेन्द्रकुमार राईलाई कम्ती खुसी लाग्दैन । ‘आफू चाम्लिङभाषी भए पनि भाषा फरर्र बोल्न आउँदैन,’ हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम साल्तेम्मानिवासी शाखा अधिकृत राईले दुःखेसो पोखे, ‘अरूले बोलेको बुझे पनि मातृभाषा बोल्न नआउँदा आत्मग्लानि भएको छ ।’

विद्यालयमा मातृभाषा बोल्ने वातावरण थिएन । ‘उच्चशिक्षाका लागि गाउँ छाडेपछि चाम्लिङ भाषा बोलचाल गर्ने कुरै भएन,’ उनले सुझाए, ‘तर, सम्बन्धित समुदायका मात्रै होइन, चाम्लिङ भाषा बोल्ने कर्णबहादुर राउत, पदमबहादुर राउत र भोटीमाया विश्वकर्माको सम्मान र संरक्षण गर्न सके कति जाती हुन्थ्यो ।’ 

भाषाको शक्ति र महत्व बुझाउन नसक्दासमेत सम्बन्धित समाजमा बसोवास गर्ने आदिवासी जनजातिले मातृभाषा बोलचाल र पुस्ता हस्तान्तरणमा ध्यान दिएको देखिँदैन । ‘त्यतिबेला विद्यालयमा चाम्लिङ भाषा पठनपाठन हुँदैनथ्यो । पछिल्लो समय सुरु भएको छ,’ युवा नेता राजुविक्रम चाम्लिङको ठम्याइ छ, ‘भाषा बोल्ने अभिभावकसँग उनका छोराछोरीले सिक्ने प्रयास गर्दैनन् । त्यसमाथि कतिपय अभिभावकले मातृभाषा नै नबोलेपछि पुस्तान्तरण हुने कुरै भएन ।’

नेपाल बहुभाषी मुलुक हो । भाषालाई उद्योगका रूपमा विकास गर्नुपर्छ । तर, तात्कालिक माओवादीले थालेको सशस्त्र युद्धताका आदिवासी जनजातिलाई सुरक्षाका नाममा टेलिफोनमा समेत मातृभाषामा कुराकानी गर्न बन्देज लगाइएको थियो । त्यतिबेला भाषिक स्वतन्त्रतामाथि लगाइएको बन्देजको जति नै भत्र्सना गरे पनि कमै हुन्छ । 

यसैगरी, ढंगाखानीमा काम गर्ने छन्त्याल समुदायलाई मातृभाषामा बोल्न निषेध गरिएको प्रसंग बेलाबखत उठ्ने गर्छ । त्यतिमात्रै होइन, नेपाल भाषामा कविता प्रकाशित गर्दा चित्तधर हृदयले १० वर्ष कैदी जीवन बिताउनुपरेको थियो । नेपाल भाषामै कविता लेख्दा युगकवि सिद्धिचरण श्रेष्ठको सर्वस्वहरण गरिएको सम्झनेहरू छँदै छन् ।

‘राज्यले आदिवासी जनजातिलाई आकाश त दियो तर उड्ने पखेटा काटिदियो,’ ‘डिलबहादुर घर्टी’ लाई किन नेपाली बोल्न आउँदैन आलेखमा नरेश रेग्मी शर्मा लेख्छन्, ‘टेक्नका लागि जीवन दियो, हिँड्ने खुट्टा भाँचिदियो । उनीहरूलाई अंग्रेजी भाषा महत्वपूर्ण लाग्यो । अंग्रेजी भाषा अनिवार्य हुँदै गयो तर आफ्नै देशका विविध भाषालाई सौतेलो व्यवहार गरियो ।’

सबै भाषालाई सम्पदा ठान्ने हो भने भाषालाई उद्योगका रूपमा परिणत गर्न सकिन्छ । भाषालाई उद्योगका रूपमा विस्तार गर्न सके सबैले फुल्ने र फल्ने अवसर पाउने थिए ।
   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप