केन्द्रीय संस्करण

मैले पुँजी बजारबारे आँ गर्दा पनि बहस चल्न थालिसक्योः अर्थमन्त्री

person access_timeजेठ २५, २०७५ chat_bubble_outline0

काठमाडौं–अर्थमन्त्री डा. युवराज खतिवडाले आफूले पुँजी बजारबारे आँ गरेपनि बहस चल्न थाल्ने बताएका छन् । 

यसबारे बोल्दा निकै  ध्यान दिएर शब्द चयन गर्नुपर्ने अवस्था आएको उनको भनाई छ ।  पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डको २६ औं बाषिकोत्सवको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले सेयर बारे केही बोल्यो की बहस चलिहाल्ने गरेको बताए ।

जोखिम लिन सक्ने लगानीकर्ताका लागि सेयर बजार उपयूक्त र जोखिम लिन नचाहने लगानीकर्ताका लागि ऋणपत्र उपयूक्त भएको डा. खतिवडाले बताए । 

 सेयर बजार पारदर्शी, स्थिरता र व्यावसायिकता होस् भन्ने आफू चाहेको बताउँदै उनले लगानीकर्तालाई सूचना विश्लेषण गर्नसक्ने क्षमता राख्न पनि आग्रह गरे ।

‘लगानीकर्तामा सूचना विश्लेषण गर्ने क्षमता नहुँदा कतिपय अवस्थामा पुँजी बजार अपत्यारिलो शक्तिबाट प्रयोग भएको त छैन भन्ने आशंका उब्जने गर्छ’, उनले भने, ‘नियामक निकायको निर्देशन सबै कम्पनीले पालना गर्नुपर्छ । यदि उनीहरुले नियामकलाई टेरेनन् भने अराजकता निम्तन्छ ।’ 

कुनैपनि कारोबार नियामकको अनुमति विना नगर्न पनि उनले सचेत गराए । 

‘हामीले युनिटि प्रकरण बिर्सेका छैनौ, नियामकको अनुमति बिना कारोबार गरे खतरा निम्तन्छ’, उनले थपे, ‘नियामकको पनि नियमन गर्ने नियामक छ, सबैले नियामकको आदेश पालना गनुृपर्छ ।’

यस्तै नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले  नेपालको सेयर बजार पुड्के भएको बताए । 
 
डा. नेपालले पुँजी बजारमा सोचे जस्तो विकास हुन नसकेको औल्याए । लामो समयसम्मको राजनीतिक अस्थिरताका कारण नेपालको पुँजी बजारले पनि गति लिन नसकेको उनको भनाई छ । डा. नेपालले भने, ‘बजार अघि बढ्न राजनीतिक स्थायित्व चाहिन्छ, राजनीतिक अस्थिरताले गर्दा हाम्रो पुँजी बजार बढ्न सकेन जबकि छिमेकी देश भारत हामी भन्दा एक वर्ष मात्र कान्छो हो तर पुँजी बजारमा विश्वमा पाँचौ स्थानमा छ ।  नेपाल भारत भन्दा जेठो हो तर बढ्न सकेन, पुड्के भयो ।’
उनले दिनप्रतिदिन सुचिकृत कम्पनीको संख्या बढ्दै गएको अवस्थामा पनि नियामक धितोपत्र बोर्डको जनशक्ति कम भएको जनाए । 
उनले भने, ‘हामी राष्ट्र बैंक पनि नियामक हौ । ३०० संस्थालाई नियमन गर्छौ । ९८० जना कर्मचारी छौ तर पनि नियमन गर्न हम्मे हम्मे पर्छ । तर, बोर्डमा ५० जना कर्मचारी छन्, झण्डै ४०० सुचिकृत सँस्थाको नियमन गर्छ । यो अपर्याप्त जनशक्ति भयो’ । 
डा. नेपालले  बोर्डकको आफ्नै भवन र पर्याप्त जनशक्तिको व्यवस्था गर्नुपर्ने खाँचो समेत औल्याए । 

  

रातोपाटी संवाददाता

मूलधारको लोकप्रिय अनलाइन बन्न सफल रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ