शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन तस्कर ‘गोरे’ का सहयोगी तिवारी र गणेश लामा विजनेस पार्टनर !

शुक्रबार, २५ जेठ २०७५, १० : १२
शुक्रबार, २५ जेठ २०७५

काठमाडौँ । सनम शाक्यको हत्या गरेपछि सुन तस्कर ‘गोरे’ भारतको कोलकाता पुग्छन् । भारत पुगेपछि अपराध महाशाखाका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रजित केसीसँग टेलिफोन संवाद हुँदा केसीले उनलाई भेटेर कुरा गर्नुपर्ने प्रस्ताव गर्छन् । केसीको प्रस्तावमा नकार्दै गोरेले भनेका छन्, ‘म आउनै पर्दैन, काठमाडौँमा मेरो विश्वासपात्र राम तिवारी भन्ने छ, उसलाई भेट्नुस्, तपाईंलाई ५० लाख दिन्छ ।’ 

त्यसपछि प्रजित केसीले प्रतिप्रश्न गर्छन्, ‘जो पायो उसलाई मैले भेट्दिन कोहो त्यो मान्छे ?’ गोरेले जवाफ दिँदै भनेका छन्, ‘पुलिसका हाकिम र न्यायाधीश सँग राम्रो सम्बन्ध भएको मान्छे हो, सबैतिर सेटिङ मिलाउने काम गर्छ !’ 

‘गोरे’ ले भनेका तिनै सेटिङ मास्टरलाई सुन तस्करीबारे छानबिन गर्न गठित सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले पक्राउ गरेर बयान लिइरहेको छ । दक्षिण कोरियामा उपचार गरेर फर्किंर्दै गर्दा जेठ २२ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका तिवारी काभ्रेको नमोबुद्ध गाउँपालिकास्थित मेथिनकोटका स्थायी बासिन्दा हुन् । 

सामान्य सावाँ अक्षर मात्र चिनेका तिवारीले ‘गुण्डा नाइके’ गणेश लामासँग मिलेर सिन्धुपाल्चोकमा क्रसर उद्योग सञ्चालन गरेको समितिसमक्ष बयान दिएका छन् । समितिमा बयान दिँदै उनले भनेका छन्, ‘गणेश लामा, मान बहादुर तामाङ्ग र मैले संयुक्त लगानीमा सिन्धुपाल्चोकमा क्रसर उद्योग चलाएका छौँ, त्यसमा मेरो बीस प्रतिशत शेयर छ ।’ 

२०५० सालतिर काभ्रेबाट काठमाडौँ छिरेका तिवारीले दुई वर्षअघि मात्रै ‘गोरे’ सँग चिनजान भएको बताएका छन् । ‘तर, उनको सम्पति हेर्दा चिनजान र सहयात्रा लामो समयदेखि भएको देखिन्छ,’ समितिका एक सदस्य भन्छन्, ‘काठमाडौँको मुख्य ठाउँमा घर जग्गा जोडेको देखिन्छ, उनले बयान दिएको सम्पति विवरण हिसाब गर्दा करोडौँ पुग्छ ।’ 

काभ्रेको सामान्य परिवारबाट आएका र पढाईलेखाई समेत नभएका राम तिवारीले काठमाडौंको कोटेश्वर र गौरीघाटमा ‘गोरे’को सँगै घर बनाएका छन् । 

सुन तस्कर गोरेको गर्जन - ‘म पैसामा बिक्ने मान्छे हैन, दायाँबायाँ भए उडाइदिन्छु !’ (फोन संवाद–अडियोसहित)

काठमाडौँको मुटु मानिने ठमेलको दुई ठाउँमा उनको जग्गा रहेको पाईएको छ । ‘ठमेलमा एक ठाउँमा ७ आना, अर्को ठाउँमा ४ आना जग्गा रहेछ’ समितिका एक सदस्य प्रश्न गर्दै भन्छन्, ‘आनाकै एक करोड हाराहारी पर्ने जग्गा उनले कुन स्रोतबाट खरिद गरे ? हामी अनुसन्धान गरिरहेका छौँ ।’ 

काठमाडौँको कालोपुलमा ‘रेनल्ट’ नामक गाडीको सर्भिस सेन्टर छ । त्यहाँ आफैँले जग्गा लिएर भाडामा दिएको तिवारीले बताएका छन् । ठूलो कम्पाउन्डमा फैलिएको उक्त जग्गा आफुले पनि भाडामा लिएर ग्यारेज खोल्न दिएको दाबी गरेका तिवारीले त्यसबापत आफूलाई मासिक ७ लाख आम्दानी हुने गरेको बताएका छन् । 

सुन तस्कर ‘गोरे’का लागि जग्गा खरिद–बिक्री गरिदिने तिवारीले ललितपुरका कुपण्डोलस्थित युएन पार्कमा समेत मोटर ग्यारेज सञ्चालन गरेको पाइएको छ । 

दुई श्रीमती, लक्जरियस गाडीमा यात्रा !
सुन तस्कर ‘गोरे’को सहयोगी तिवारी २५ वर्षदेखि काठमाडौं बस्दै आएका थिए । चार वर्षअघि उनले दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीसँग अदालतमा पारपाचुके मुद्दा चलिरहेको सुन तस्करी छानविन समितिसमक्ष उनले बयान दिएका छन् । दुईवटी श्रीमतीलाई उनले कोटेश्वर र गौरीघाटको छुट्टाछुट्टै घरमा राखेका छन् । 

लक्जरियस गाडी चढेर हिँड्ने राम तिवारी साढे ३३ केजी सुन र सनम शाक्य हत्या प्रकरणमा गृह मन्त्रालयले छानविन शुरु गरेपछि दक्षिण कोरिया पुगेका थिए । ‘उपचार गर्न दक्षिण कोरिया गएको हुँ,’ समितिसमक्ष बयान दिँदै तिवारीले भनेका छन्, ‘मेरो गर्धनको दायाँतिर दुःखाईको समस्या छ ।’ 

सुन तस्करको कनेक्सनमा रहेर अकुत सम्पति आर्जन गरेका तिवारीको नाममा काठमाडौंको चपली हाईटमा पनि ठूलो परिमाणमा जग्गा रहेको पाइएको छ ।

सुन तस्कर ‘गोरे’ लाई भाञ्जा भन्ने गरेका ‘सेटिङ मास्टर’ राम तिवारीले केही प्रहरीका उच्च अधिकारी, केही न्यायाधीश र निजामतितर्फ केही सह–सचिवहरु चिनेको बयान दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप