शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘तोकेको मितिभन्दा २ दिन अघिनै सकियो काम’

बिहीबार, २४ जेठ २०७५, १५ : ४५
बिहीबार, २४ जेठ २०७५

– नारायण अधिकारी 

चितवन– विगत तीन वर्षयता नारायणगढ–मुग्लिन सडकखण्डको विस्तारका कारण दिन र रातको समयमा सवारी रोकिँदा यात्रुले हैरानी बेहोर्दै आएका थिए ।  खाल्डाखुल्डी सडक, छिनछिनमा झर्ने पहिरो र दैनिक आवागमन रोकिँदा यात्रु र चालकको यात्रा कष्टकर हुँदै आएको थियो । सो सडक हुँदै दैनिक दश हजार हाराहारीमा सवारी गुड्ने गर्दछन् ।

यो राजधानीसँग जोड्ने लाइफलाइन पनि हो । समयमा काम सक्न ठेकेदार कम्पनीहरुलाई दबाब परिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा भिडियो सन्देश जारी गरे । त्यसमा जेठ २५ गतेबाट नारायणगढ मुग्लिन सडक नरोकिने उल्लेख थियो । यससँगै कालोपत्रको पहिलो तह सकेर बाटो खोल्नुपर्ने दबाबमा नारायणगढ मुग्लिन सडक आयोजना पर्यो । 

यस आयोजनाका संयोजकसमेत रहेका सडक विभागका वैदेशिक महाशाखा प्रमुख इन्जिनियर सञ्जयकुमार श्रेष्ठ भन्छन्, “प्रधानमन्त्रीको सन्देशअनुरुप नै रातदिन नभनी काम अघि बढायौँ”, उनले थपे, “हामी जेठ २५ गतेअघि नै सडक सञ्चालनमा ल्याएर प्रधानमन्त्रीको सन्देशको वाचा पूरा गर्न चाहन्थ्यौँ ।” फलस्वरुप जेठ २२ गते राति १२ बजे सडकको पूरै भाग कालोपत्रले जोडेर भोलिपल्ट अर्थात् जेठ २३ गतेबाटै सडक सञ्चालनमा ल्याएको उनले बताए । 

नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । यस सँगै दैनिक बिहान १० बाट दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकामा सवारी नरोकी बाँकी काम अघि बढाइएको हो । 

सडकको पहिलो तहको कालोपत्र सकिएसँगै यो सडक ३० मिनेटदेखि एक घण्टा सम्ममा आवतजावत गर्न सकिने भएको छ । सौराहा काठमाडौँ चल्ने बा१प १३९१ नंको पर्यटक बसका चालक राजकुमार चौधरीले एक घण्टामा सजिलै बाटो पार गर्न सकिएको बताए । १५ घण्टासम्म सडकमा बिताएका ना३ख ७१६१ नंका ट्रक चालक रामचन्द्र खत्रीले एक घण्टा पनि नपुग्दै सडक पार भएपछि समयमा नै सजिलै गन्तव्यमा पुग्न सकिएको बताए । 

साना सवारीधनीहरुले ३० देखि ४५ मिनेटमा नारायणगढ मुग्लिन सडक पार गर्न सकिएको भन्दै खुशी व्यक्त गरेका छन् । गैँडाकोटका विष्णु शर्माले विगतमा लामो समय सडकमा जोखिमपूर्ण यात्रा गर्नु परेकामा अहिले सहज हुँदा खुशी लागेको बताए । गत वर्षको असार ८ गते सो सडकको कालीखोलामा पहिरो खसेसँगै ४२ घण्टा सवारी आवागमन रोकिएको थियो । सो आयोजनाका सूचना अधिकारी खनालले गत वर्ष २५० घनमिटरभन्दा ठूला ३१४ पटक पहिरो खसेको र जसमध्ये दुई हजार घनमिटरभन्दा माथिका ५३ पटक पहिरो खसेको बताए । 

आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले चार किलो र भालुढुङ्गा नजिकै पहिरो रोक्न कठिन भए पनि अन्यत्र पहिरो रोक्ने काम भइरहेको बताए । कुनै ठाउँमा पहिरो खसेमा तयारी अवस्थामा पहिरो पन्छाउने उपकरण रहने भएकाले तत्काल पहिरो पन्छाएर सडक सञ्चालन गर्न सकिने बताए । सो सडकमा पहिरो खस्नबाट रोक्नका लागि काम भइरहेको छ भने दोस्रो र तेस्रो तहको बाँकी कालोपत्र गर्ने काम, सडक सुरक्षाको काम र मुग्लिन नजिकै सडक चौडा गर्न रक एङ्करिङ्को काम भइरहेको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । लगत्तै गएको भूकम्प, नाकाबन्दी र दुई वर्षसम्म बर्सात बढी भएका कारण समय थप गरिँदै आएको हो । चौथोपटक समय थपको म्याद सकिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप