बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खड्काको राजीनामापछि मन्त्री यादवले भने, ‘निगमको कार्यकारी निर्देशक अब खुला प्रतिस्पर्धाबाट’

बिहीबार, २४ जेठ २०७५, १२ : २०
बिहीबार, २४ जेठ २०७५

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिका यादवले नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएकोमा धन्यवाद दिएका छन् । 

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले खड्कालाई धन्यवाद दिँदै भने, ‘मन्त्रालयलाई काम गर्न सहज वातावरण बनाइदिनुभयो, यसका लागि उहाँलाई धन्यवाद छ ।’

मन्त्री यादवले नेपाल आयल निगममा नयाँ नियुक्तिका लागि छलफल थाल्ने पनि बताए । उनले निगममा अब नयाँ नियुक्ति गर्दा प्रतिस्पर्धाका आधारमा गरिने भन्दै निगमलाई सुधारेर लैजाने दावी गरे ।

‘आयल निगमलाई राम्रो बनाउने योजना छ । अहिले निगमप्रति कसैको पनि राम्रो धारणा छैन, अब भने सबैको आयल निगम बनाउने प्रयास गरिनेछ,’ मन्त्री यादवको भनाई छ । 

पत्रकार सम्मेलनमा छोटो बोलेका मन्त्री यादवले आयल निगमको जग्गा खरिदबारे भएको भ्रष्टाचार प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेरिरहेकाले मन्त्रालयले कुनै हस्तक्षेप गर्न नमिल्ने बताए । ‘यो विषय अख्तियारले हेरिरहेको छ, मनत्रालयले केही गर्न मिल्दैन,’ मन्त्री यादवको जवाफ थियो । 

उनले पेट्रोलियम पदार्थ भण्डारका लागि मन्त्रालयले जग्गा खोजिरहेको भन्दै जग्गा पहिचान भएपछि टुङ्गो लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेपनि मन्त्रालय मातहतका निकायले गरेका काम कारवाहीबारे अध्ययन भइरहेको मन्त्री यादवको भनाई थियो ।  

आयल निगमको जग्गा खरिद काण्डमा मुछिएपछि विवादीत बनेका खड्काले आजै राजीनामा दिएका छन् ।

राजीनामाबारे पत्रकार सम्मेलनमा बोल्दै  खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप लगाएका छन् ।

गोपाल खड्काले दिए राजीनामा, भने - 'राम्रो काम गर्न खोज्दा थन्काएर राखे'

‘देशी विदेशी शक्तिले केही मिडियालाई प्रयोग गरेर मलाई काम गर्न दिएनन्,’ उनले भने, ‘राम्रो काम गर्न खोज्दा पनि काम गर्न दिएनन् ।’

२०७२ माघमा आयल निगमको कार्यकारी निर्देशकको पदमा नियुक्त भएपछि तीन वर्षको अवधिमा आफ्नो पदीय जिम्मेवारी कानूनसम्मत रुपमा देशवासीको सेवा गरेको खड्काको दाबी थियो ।

‘पाँच वर्षमा सक्ने पेट्रोलियम भण्डारणको काम अघि बढाएको थिएँ,’ उनले भने, ‘राम्रो काम गर्दा पनि थन्काएर राखे ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप