शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अफ्ठ्यारो बाटो, भिरालो जमिन : जाजरकोटमा लडेर मृत्यु हुनेको संख्या धेरै

बिहीबार, २४ जेठ २०७५, १० : ५५
बिहीबार, २४ जेठ २०७५

हेमन्त के सी 

जाजरकोट । अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । 

एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना सार्वजनिक भएको हो । 

अन्य दूरदराज ठाउँमा भएका घटनाको बारेमा थाहा नहुँदा कतिको अकालमा मृत्यु हुन्छ भन्ने थाहा नै नहुने गरेको छ । गत फागुनमा बाटोमा पैदलयात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भिरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो । 

जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो । नलगाड–५, ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको चैत महिनाको दोस्रो हप्ताको सोमबार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो । घर नजिकैको भिरबाट लड्दा करीब ३०० मिटर तल उनी मृत फेला परेका थिए । 

गत चैतमा जंगलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुंगा लागेर मृत्यु भयो । माथिबाट आएको ढुंगा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो । 

नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको चैतमा नै मृत्यु भयो । नलगाड–५, गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उनको ज्यान गएको थियो । 

यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोटमा हिँड्दाहिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दाहिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ । 

जिल्ला प्रहरी कार्यालयसँग पैदलयात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ । खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाको शव परीक्षण गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो । 

जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम शाही भने । 

उनले भने, “माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ, तल सुसाउने खोला र नदी, हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग गर्छ ।” महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यो बाटो हिँड्न निकै सकस खेप्नुपर्छ । जुनिचाँदे जाने बाटोमा भिरबाट खसेर तथा ढुंगा लागेर पाँचजनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन । 

गाडी नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा मानिस मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् । 

जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ । नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने क्रममा पुरानोबाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिस भीरको बाटोमा हिँड्न बाध्य भएको शाहीले बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप