शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन तस्कर गोरेको गर्जन - ‘म पैसामा बिक्ने मान्छे हैन, दायाँबायाँ भए उडाइदिन्छु !’ (फोन संवाद–अडियोसहित)

बिहीबार, २४ जेठ २०७५, ०९ : ४४
बिहीबार, २४ जेठ २०७५

काठमाडौँ । सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ का विश्वासपात्र राम तिवारी मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ परे।

तिवारी पक्राउ परेसँगै उनले भाञ्जा भन्ने गरेका सुन तस्करका नाईके ‘गोरे’ र तिवारीबिच भएको टेलिफोन संवाद रातोपाटीले फेला पारेको छ । गोरेकै भनाईमा न्यायालयदेखि सबैतिर सेटिङ मिलाउन सक्ने तिवारीलाई ‘गोरे’ ले कलकत्ताबाट फोन गरेका छन् । 

टेलिफोन संवादमा असन्तुलित बोली बोल्ने गरेका गोरेले तिवारीलाई मामा साईनो लगापनि कहिले ‘तँ’ भनेर सम्बोधन गर्छन् भने कहिले ‘तपाईं’ । तिवारीलाई थर्काउँदै गोरेले भनेका छन्, ‘दायाँ बायाँ दिमाग लगाइस् भने तँलाई उडाइदिन्छु ।’ 

उनीहरुको बीचमा भुजुङ गुरुङ र उनको सालो छिरिङले फोन नउठाएको बारेमा कुराकानी हुन्छ । सुन तस्करीको नाफा जग्गामा लगानी गर्दै आएका ‘गोरे’ को जग्गाको कारोबार तिवारीले सम्हाल्दै आएको टेलिफोन संवादबाट प्रष्ट हुन्छ । 

संवादका क्रममा तिवारी र गोरेले जिल्ला प्रहरी कार्यालय मकवानपुरका तत्कालिन प्रहरी उपरिक्षक (एसपी) विकासराज खनालको पनि प्रसङ्ग निकालेका छन् । तिवारीले विकास काठमाडौं आएका छन्, उसँग सल्लाह गर्छु भन्दा गोरेले अहिले मेरो कुरा नगर विकास मामालाई अप्ठ्यारो हुन्छ भन्दै रोकेका छन् ।  

यस्तो छ, ‘गोरे’ र ‘तिवारी’ बीचको अडियो संवाद - 
गोरे - के रे मामा के रे ? 

राम तिवारी - पैसा दिएकौ छैन मेरो ।  

गोरे - कति ?

राम - मेरो एक पचास (वान फिप्टी)

गोरे - के भन्छ ? 

राम - अब म दिन्छु, यहाँ वहाँ भनिराछ मैले झगडा गरेर थकाईसकेँ । 

गोरे - अँ, (केहीबेर रोकिएर) हेटौंडाबाट यसलाई तान्ने ? 

राम - अँ हेटौंडाबाट तानौं न त, विकास आइराको छ अहिले घरमा हैन, म सल्लाह गर्छु यस्तो–यस्तो हो भनेर ।  

गोरे - नाई नाई त्यो नगर, किन भन नँ ? यिनीहरुको पनि सर्कल छ, नी चिनेका छन् नि यिनीहरुरुले पनि । अप्ठ्यारो, मामालाई अप्ठ्यारो हुन्छ । 

राम - हो ? 

गोरे - अँ, त्यो हैन सुन तँ केही पनि नगर पैसा त योसँग त्यतिकै उठाइदिन्छु, तेरो डेढ पनि उठाईदिन्छु म पर्खी है, एकछिन पर्खी, एकछिन होल्ड ।
(विमान उडेको आवाज) 

राम - कसलाई भुजुङलाई गर्न लागेको ? भुजुङलाई नगर भन्या । 

गोरे - हँ, के भन्छ भन्छ ?

राम - हैन, उसलाई नगर भन्या उसलाई कुरै नगर क्या, मलाई उसले आज ४ बजेको टाईम दिएको छ, अहिले नगर चार बजेसम्म के गर्दो रहेछ हेरौँ हैन ? 

गोरे - नाईं मत केही पनि गर्दिन अब जे गर्ने इन्डियनले गर्छ, मारे मार्छ जे सुकै गर्छ । 

राम - हैन त्यो भन्दा पनि अहिले नगर, त्यसपछि चार बजेसम्मको टाइम छ, त्यतिन्जेल पख अनि कुरा गरौँ अनि तिमी र म भेट्नु पर्ने भयो कहिले भेट्ने ? एकपटक भेट्नै पर्ने भयो यार, कहिले भेट्ने ? 

गोरे -  अब तँ मलाई भेट्न कलकत्ता आउँछस् । 

राम - ल ल त्यहाँ आउनुपर्ने भयो, यसलाई ढाकढुक गरेर अब यतापट्टिको जग्गा अहिले किन्दैन, यसमा भड्किहाल्यो । अब भड्कियोस्, म अर्को मान्छे लगाइरहेको छु, अर्कोलाई भिडाइदिन्छु सिद्धिहाल्यो टेन्सन नलेउ । तिमी कन्ट्याकमा चाहीँ बस्नुप¥यो । 

गोरे - यहि नम्बरमा कल गर न म जहिले कन्ट्याक हुन्छु त । 

राम - अँ अँ कन्ट्याकमा बस्नुपर्छ, त्यसपछि ट्याक्क सित गर्नुपर्छ भाञ्जा तिमी टेन्सन नलिउ, अब जे भएपनि भगवानले पार लाउँछन् त्यहि हो ल । ...हन्ड्रेड पर्सेन्ट त्यसकै सालोले हो, हन्डेड पर्सेन्ट हो । 

गोरे - हो ? 

राम - हन्ड्रेड पर्सेन्ट हो त्यसकै सालो । 

गोरे - फोन नै उठाएको छैन, अहिले त 

राम - अँ उठाएको छैन, मैले थर्काएँ त्यहि भएर त्यसले उ गरेको छ उठाउँदैन् । 

गोरे - सुन न, त्यो विकास मामाको नम्बर छ ? 

राम - अँ, ९८५१०––––– । 

गोरे - मामा कि सँगै हो ? 

राम - छैन छैन, भगवान कसम छैन । 

गोरे - अहिले कुराकानी मेरो केही पनि नगर, (अश्लिल शब्द) वेश्याजस्तो, बोलिस् भने, ओई सुन, ओई बोलिस् भने तँ उड्छस् फेरि यति चाहिँ बुझ । 

राम - होइन,होइन । कसैलाई थाहै छैन चुप लागेर बस् टेन्सन छैन ।

गोरे - तँलाई थाहा छ नी हैन ? (हि...हि.. हाँस्दै) 

राम - यिनीहरुले पुलिसमा चाहिँ निवेदन दिइसकेको रहेछ है तिमीलाई । 

गोरे - मलाई किन दिनु ? मेरो छैन अरे केश, अहिले भर्खर रिपोर्ट नै आयो । 

राम - तिम्रो छैन रे ? छैन भने त राम्रो भो । 

गोरे - ३३ जनाको चाहिँ उसमा छ रे, अनि ३–४ जनाको छुट्टै हो फरक पर्दैन भनेको छ ।

राम - ए, ल भैहाल्यो त्यो भए त राम्रो भो । 

गोरे - पहिले नै चेक गरेको हो नी यार मैले । 

राम - यिनीहरुले त्यो गरे होलान्, फोन नै उठाएन है त्यसको सालोले ? 

गोरे - छैन, छैन । 

राम - त्यसले उठाएको छैन । त्यसले पुलिसलाई रिपोर्ट हालेको छ । 

गोरे - रिपोर्ट चाहिँ किन हाल्नु अरे ? 

राम - हैन मलाई जबर्जस्ती पैसा उठाउँदै छ, ब्ल्याकमेल गर्र्दै छ भनेर क्या । 

गोरे - तेरो भाञ्जोले कहिल्यै त्यसो गर्छ ? 

राम - त्यहि त मैले तिमीलाई भनिहालेँ । 

गोरे - (अश्लिल शब्द) ...पैसामा कहिल्यै पनि नबिक, तलाईं थाहा छ म पैसामा बिक्ने मान्छे हैन (अश्लिल शब्द), दायाँ बायाँ दिमाग लगाइस् भने म जान्दिँन, तपाईंले मलाई यसमा बचाउनुपरो ल, तेरो लागी म जहिल्यै छु । 

तलाईं म कलकत्ता बोलाउँला भोली या पर्सी । ल । 

राम - ल हुन्छ भाञ्जा हुन्छ, हवस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप