केन्द्रीय संस्करण

रवीन्द्र मिश्रको कम्युनिस्ट कखरा

person access_timeजेठ २३, २०७५ chat_bubble_outline0

विवेकशील साझा पार्टीका संयोजक ÷नेता तथा कवि रवीन्द्र मिश्रले २०७५ ज्येष्ठ १५ गते एक दैनिक पत्रिकामा ‘नेकपा ? कृपया नाम फेर्नोस्’ शीर्षकको लेखमा कम्युनिस्टलाई बाँदर, खोल, झूटको पराकाष्ठा, माक्र्सको सपना बेचुवा, भ्रष्टाचारवादी, कम्युनिस्टको क पनि बाँकी नभएका आदि लाञ्छित शब्दावली बहुल अनेक विम्ब, प्रतीक शब्दावली प्रयोग गरेका छन् । यो लेख मिश्रको कम्युनिस्ट कखरा जस्तो देखिन्छ ।

यो लेख  कम्युनिस्ट विषयका आंशिक, अर्ध र न्यून सत्य आधारित जस्तो देखिए पनि मूलतः सतही र आग्रही राजनीतिक प्रतिशोधी भावनाबाट उत्प्रेरित देखिन्छ । यो लेख पूर्व एमाले वा एकीकृत कम्युनिस्ट पार्टीका आफूलाई उच्च पदीय, पुरस्कार र सरसुविधा भोग लिप्त, पठन संस्कति न्यून बौद्धिक, प्राज्ञिक तथा स्रष्टा  व्यक्तित्वको नाडी छाम्ने उद्देश्यका साथ लेखिएको भान हुन्छ । कार्ल माक्र्स जयन्तीका द्विशतवार्षिकी प्रायोजित गर्ने तर बन्दुकविहीन विरोधी सलबलाई रहँदा मौन साँधेर बस्ने नेतालाई पनि यस लेखकले वैचारिक प्रतिवाद गर्न खुल्ला चुनौती दिएको छ ।  मिश्रलाई कम्युनिस्ट, माक्र्सवाद जस्ता विषय पाँच कक्षादेखि पीएचडीसम्मको पढाइ हुन्छ भन्ने जानकारी हुनुपर्ने हो  । त्यसैले मिश्रको लेखलाई माक्र्सवादको कखरा र दशरामसरा हो भन्न खोजिएको हो । यसो किन  पनि भनियो भने लेखमा उनले साम्यवाद र कम्युनिस्टसित सम्बन्धित केही विषय र सन्दर्भ टिपनटापन गरेर लेखको लेपन दिएका छन् । उनको लेख अनेक भ्रम बाहक, अन्यौल विस्तारक तथा  प्रायोजित देखिन्छ ।

कम्युनिस्ट र साम्यवादको शब्द—सार भनेको शताब्दियौँ अघिदेखिका सबै खालका असमानता र अन्यायको विरोध हो र त्यसलाई कलात्मक हस्तक्षेपका साथ विस्थापन गरी  समतामूलक समाज स्थापना गरिछाड्ने मान्यता हो । तर मिश्रले लेखमा जति नै प्रयास गरे पनि समाजलाई साम्यवादी बनाउनै सकिन्न किनभने त्यो प्रकृतिक नियमविपरीत रहेको उल्लेख गरेर माक्र्सवादलाई दशरामसरा गरेका छन् । मिश्रमा  साम्यवाद भनेको सबैलाई समान अवसरको उपलब्धता हो भन्ने माक्र्सवादको  मूल अन्तर्य  बोधको समस्या स्पष्ट देखियो । उनले साम्यवाद प्रकृति विपरीत सिद्धान्त हो भनेर मानिसका हातका पाँच औँला बराबरी छैनन् र हुँदैनन् भनेर प्रकृतिले नै असमान सिर्जना गरेको कुतर्क गर्न खोजेका छन् । कम्युनिस्टले आम जनतालाई समान अवसर प्रदान गर्ने हो । त्यसो गर्दा पनि आआफ्ना  ज्ञान, गुदी, विशेषता र आआफ्ना विशिष्ट क्षमता कारण सबै एक समान नहुन सक्छन् । समान अवसर दिँदा पनि मानिस कुचाको मुखझै एकाम्मे र समान हुँदैनन् । तर मिश्र चाहिँ समानताको अपव्याख्या गरेर पाठकका बीच भ्रमको बिस्कुन फिँजाउन उद्यत देखिन्छन्  ।

सायद मिश्रलाई पहाड, पर्वत र सम्म मैदान जस्ता असमान प्रकृतिलाई आधार मानेर सबै मानिस सम्म र साम्य हुन सक्तैनन् । यो प्रकृतिको गुण हो भन्छन् ।  साम्यवादी स्वैरकल्पना प्राकृतिक नियमका विपरीत छ भनेर  मिश्र फतुर आरोप लगाउँछन् ।  मिश्रलाई प्रकृति र प्रकृति पदार्थको गतिको गम्भीर अध्ययनबाट नै द्वन्द्वात्मक भौतिकवादको प्रतिपादन गरिएको हो । उनले भनेझैँ साम्यवादले रातलाई दिन बनाउँदैन यसमा ढुक्क भए हुन्छ । यो लेखक यति नै भन्छ । त्यसमा पनि कुनै पनि ज्ञान, सिद्धान्त, वाद र प्रणाली व्यवहारको कसीमा ढल्दै ढाल्दै जाँदा सिद्धान्त प्रतिपादनका प्रारूपहरूमा न्यून, आंशिक, अर्धांश  परिष्कार र परिमार्जन हुँदै जाने कुरा हो । यसरी नै व्यवहारको कसीमा ज्ञानले पूर्णता प्राप्त गर्छ । सिद्धान्त व्यवहारको कसीमा मात्र बलियो हुन्छ  । साम्यवाद भनेको समाजवादको विकसित स्तर हो । १७० वर्षको अनुभवका आधारमा कम्युनिजमका सिद्धान्त र व्यवहारका क्रममा परिष्कृत हुँदै आएको हो । सबै कम्युनिस्टहरूका बीच रणनीतिक सवालमा  समानता हुँदाहुँदै पनि यसका  कार्यनीतिका सबालमा देशीय भिन्न मौलिक परिस्थिति अनुसार पृथकता पाइन्छ । विगत इतिहासका अनुभवमा खारिँदै  साम्यवादका सार सौन्दर्यलाई यथावत् राखी परिष्कृत हुँदै कम्युनिस्टहरू गतिवान् बनेको मिश्रलाई बताउनु पर्ला ।  

     समय क्रममा स्थापित र विकसित संसदीय लोकतन्त्रिक पद्धति, मानव अधिकार, मौलिक अधिकार आदिका सकारात्मक पक्षहरूलाई सबैले स्वीकार गरेझैँ कम्युनिस्टहरूले चाहिँ अस्वीकार गर्ने कुरा थिएन । ती सबै सम्पदा कुनै वाद, प्रणालीका पेवा होइनन् ।  मानव आफैँ एक स्वतन्त्र, स्वाधीन तथा चेतनशील प्राणी हो । यसमा सामूहिक तथा वर्गीय चरित्र र चिन्तन हुन्छ । प्रारम्भिक प्रयोगमा निजी सम्पत्ति अवैध भनिए पनि खास सीमाभित्र यसलाई वैधता दिएको जग जाहेर नै छ । तिनै अनुभवका आधारमा मानिसका निजी मौलिक तथा आत्मिक आर्थिक, भौतिक, मनोवैज्ञानिक, चिन्तन र चेतका  पक्षहरू प्राकृत रूपमा हुन्छन् भन्ने यथार्थअनुसार खास सीमाको आर्थिक भौतिक निजी सम्पत्तिलाई कम्युनिस्टहरूले वैध मानेका हुन्  । कार्लमाक्र्सले त माक्र्सवादको प्रतिपादन बहुजन हिताय, सुखाय र समृद्धिका लागि गरेका हुन् ।  यो दर्शन उच्च मानवतावादी मान्यता हो । उनै माक्र्सले कम्युनिस्ट हुनु भनेको असल मान्छे हुनु हो भनेर सामान्य र सरदर मात्रै नभएर समग्र, पूर्ण र उच्च उदात्त ध्येयको मानव र मानव समाज निर्माणको ध्येय उनले राखेका हुन् । मिश्रले  साम्यवाद र कम्युनिस्टप्रति बेतुकी र विरोधी एकतारे राग अलाप्नुभन्दा यसले १७० वर्षमा गरेका उपलब्धिलाई उत्तरतिरको देश चीनलाई हेरेर सही निष्कर्षमा समयमै पुग्न यो लेखक सल्लाह दिन चाहन्छ । अनि उनै मिश्रलाई औद्योगिक क्रान्ति र फ्रान्सेली राज्य क्रान्तिकालमध्ये कुन समयावधि पुँजीवादी राजनीतिक इतिहास थालनीको काल  हो । आफैँ छुट्याउन दिएर यतिका अवधि (अर्थात् लगभग चार, पाँच  सय वर्ष) को पुँजीवादी आर्थिक भौतिक प्रगतिसित तुलना गर्न यो लेखक मिश्रलाई आग्रह गर्दछ । 

अहिले पनि चीनको आर्थिक भौतिक प्रगति महाशक्ति कहलिएको विशाल देश अमेरिकाभन्दा निक्कै बढी र भारी  रहेको विज्ञहरू बताउँछन् । केही वर्षमा चीनले अमेरिकालाई यस मामिलामा धेरै पछि पार्ने स्थिति टड्कारो देखिन्छ । आफ्नो पिरले आफैँ पिरोलिएर रापिलो—रोइलो लेख लेख्नु भन्दा मिश्रले आफ्नो पार्टीको ढुनीफुनीमा केन्द्रित भएर लाग्दा  जाती होला । कतिपय मानिस आदत र आग्रहका दासत्वका कारण विवेकसम्मत विचार व्यक्त गर्न सक्तैनन् । प्रा.डा. सुरेन्द केसी र डा. सुन्दरमणि दीक्षितले मिश्रका बारेमा गरेका टिप्पणी अहिले उल्लेख गर्नु छैन ।  स्वतन्त्र लेखकको परिचय नै त्यागेपछि जतिसुकै विवेकको  गान गाए पनि एक पक्षीय लेखनले पाठक समाजलाई केही प्रभाव पार्दैन । नेपालका कम्युनिस्टहरूलाई व्यवहारमा निरन्तर भ्रष्टाचारवादी भनेर मिश्रले लेखेको देख्दा वाद, विचार र कुराका बीचको स्पष्ट भिन्नता उनलाई खुलस्त पार्नुपर्ने देखियो । नेपालको प्रजातान्त्रिक र कम्युनिस्ट आन्दोलनमा ने.क.पा.ले गरेका तमाम भूमिका र योगदानको मिश्रलाई यही लेखमा बेलिबिस्तार गर्नुभन्दा त्यसको एक  ठेली मिश्रलाई उपहार स्वरूप दिनु उपयुक्त देखिन्छ । २०४७ सालको संविधानमा दीर्घकालीन उद्देश्यका सन्धि सम्झौता गर्न संसद् सदस्यको दुईतिहाइको अनुमोदन प्रावधान राखेर देश जोगाउने  कम्युनिस्ट होइनन् ? नेकासित संसद्मा विद्यमान बहुमत र त्यही पार्टीको  एकमना सरकार गिराएर दुई तिहाइ ल्याएर देशलाई प्रतिगमनतिर धकेल्न उद्यत तत्कालीन  प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई ठेगान लगाउने यी नै कम्युनिस्ट होइनन् ? पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिअनुसार ०४६ को परिवर्तनको अगुवाइ गर्ने कम्युनिस्टलाई मिश्रले चिनेका छन् ? पुँजीपतिका छोरा तथा धनाढ्य व्यक्ति एङ्गेल्स सर्वहाराको उत्थानमा समर्पित भएर आजीवन लाग्नु के पाप हो ? राज्यको उचित नीति र नियमअनुसार समाजका सबै कुरूप पक्षलाई हटाउने हो ।

कम्युनिस्ट नेता मोहनविक्रम सिंहले आफ्नो पैत्रिक सम्पत्ति आम श्रमजीवी जनतालाई बाँढेको बिर्सनु भयो ? कुनै पनि व्यक्ति, वस्तु र वादमा मात्रात्मक हुँदै गुणात्मक परिवर्तनको सार्वभौम नियम हुन्छ । मिश्रले उहिले कम्युनिस्ट भए पनि अहिले नेकपा कम्युनिस्ट होइनन् भने । किनभने अहिलेका  कम्युनिस्टले मानव अधिकार, मौलिक अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, संविधानको सर्वोच्चता विषयहरू स्वीकार्छन् रे  । तर मिश्रले २०१५ सालमा  नेपाली काङ्ग्रेसको दुई तिहाइ बहुमत भएको संसद्लाई  पूर्वराजा महेन्द्र शाहबाट वलात्  विघटन गर्दा चार संसद् सङ्ख्या रहेको कम्युनिस्ट पार्टीले  संसद् पुनस्र्थापनाको माग गरे । अनि यिनै लोकतान्त्रिक कम्युनिस्टलाई धारेहात लगाउन मिल्छ ? अध्ययनको सीमाका कारण मिश्रलाई सामन्तवादको गर्भबाट पुँजीवाद अनि पुँजीवादको भ्रूणबाट समाजवादको जन्म हुन्छ भन्ने समझ भएनछ । दूरद्रष्टा कम्युनिस्टहरू क्षणिक सत्ता र सुख भोगको लिप्सा राख्तैनन् भन्ने कुराका दर्जनौँ प्रमाण छन् । तर कमजोरी पनि छन्, आफ्ना कमजोरी देख्न, पहिचान गर्न र त्यसलाई घटाउन र हटाउन कम्युनिस्ट सक्षम छन् भन्ने कुरा पनि इतिहासमा दर्ज भइसकेका विषय हुन् । किताबै नपढी सत्यतथ्य जानकारी गर्न गाह्रो हुन्छ । एमाले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के.पी. शर्मा ओलीले एक प्रसङ्गमा नेपालमा पोलिटिकल कम्युनिस्ट छन् भनेर आफ्ना पार्टीका र नेताका  कमजोरी आफै औँल्याएर समयमै सच्चिन चाहेको  मिश्रले सुनेनछन् ।  

छानीछानी र आफू अनुकूल मात्र पढेर समग्र ज्ञान हासिल हुँदैन । ओलीले नेकपाले दार्शनिक, सैद्धान्तिक आदि माक्र्सवादी आदर्श अनुकूलको पार्टी बनाउने कुरातर्फ स्पष्ट सङ्केत गरेको स्पष्ट हुन्छ । नाम मात्रका विवेकी  पार्टी  आफ्ना आङको भैँसी नै नदेख्ने रोगबाट ग्रस्त होलान् तर सबै उही ड्याङका मूला हुँदैनन्  । जननायक बी.पी. कोइरालाले चीन भ्रमणमा जाँदा सबै चिनियाँ नौ जवानहरू खेत, बारी, डाँडा काँडा र मैदानमा कीरा सरह कामकाजमा सरिक भएको देखेछन् । त्यस बेला बीपीले देख्दा चीनका गाउँ बजार शून्य तर काममा कीरा सरह लागि परेको मानव समुद्र  देखेर र बुझेर बीपी काइरालाले तत्कालीन भारतीय प्रधानमन्त्रीसित चिनियाँ विकासको त्यो तरिका मनपराएको बताएछन् । तर नेहरूले हामीहरू प्रजातन्त्रवादी तर  चिनियाँहरू अधिनायकवादी हुन् । त्यसैले उनीहरूको र हाम्रो सिद्धान्त मिल्दैन भनेको कुरा कोइरालाले जेल जर्नलमा नै उल्लेख गरेका छन् । ज्ञान, विशिष्ट ज्ञान र वादका क्षेत्रमा समय अनुसार पुनः व्याख्या, पुनः रचना,पुनः निर्माण जारी रहने कुरा हो ।

साम्यवादका र कम्युनिस्टका एक समयका व्याख्या विश्लेषणको पुच्छर समाएर माक्र्सवादकै कखरा पनि  बुझ्न सकिन्न । पुनः संस्करित, पुनः मुद्रित, संशोधित र संवर्धित किताब नपल्टाई पुरानै किताबको भर नपर्न पनि मिश्रलाई यस लेखकको सल्लाह छ । एकीकृत कम्युनिस्ट पार्टीको पूर्व, मध्य र उत्तर कार्यकाल मिश्रको जानकारी भएकै विषय हो । कम्युनिस्ट पार्टीका वर्तमानका अनेक सकारलाई पूरै ओझेल पार्ने नियतका साथ आदेशात्मक भाषामा आक्षेपपूर्ण शब्दावलीका साथ लेखिएको लेख पढ्दा आफूलाई नै लेखक भन्न सङ्कोच लागेको छ ।  कम्युनिस्टका वर्तमान सन्दर्भका नकारहरू खासै  नदेखेर सुदूर भविष्यका बेतुकी र  व्यर्थका लहरा समातेर चहचह गर्दा एक छिन त मजा आउला तर समय कालमा धेरै नमज्जा पनि हुन्छ । स्वस्थ आलोचना ओखती हो भने अस्वस्थ आलोचना मात्र पाँडे गाली हो ।  
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X