शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पुँजीगत लाभकरको विषयमा ‘विन–विन’ पोलीसीमा जाने तयारीमा सरकार

बुधबार, २३ जेठ २०७५, १५ : ३२
बुधबार, २३ जेठ २०७५

काठमाडौं–आइतबारको आन्तरिक राजस्व विभागको पत्रसँगै आक्रोशित बनेका लगानीकर्ताको आक्रोश अन्ततः मत्थर भएको छ । सरकारले बिना तयारी लगानीकर्तासँग छलफल नै नगरी पुँजीगत लाभकर बढाएर कार्यान्वयनमा ल्याउन खोजेको लगानीकर्ताले आरोप लगाउँदै आएका थिए । 

आन्तरिक राजस्व विभागले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएससी लगायतलाई  पत्र मार्फत  निर्देशन दिएको थियो । हकप्रद र बोनस सेयरमा लगानीकर्ताले अंकित मूल्यलाई आधार मानेर लाभकर गणना गर्न भनेपछि लगानीकर्ताले मंगलबार सेयर बजार ठप्प पारे । बुधबार पनि १ बजेसम्म बजार ठप्प भएपछि अर्थमन्त्रालय र लगानीकर्ता बीच छलफल भयो र पुँजीगत लाभकरका विषयमा अध्ययन गर्न बनेको समितिले प्रतिवेदन सार्वजनिक नगरुन्जेल सम्म पुरानै विधिबाट लाभकर गणना गर्न छुट दिएको छ । 

अर्थमन्त्रालयका प्रवक्ता झक्क प्रसाद आचार्यका अनुसार बुधबार लगानीकर्ता र मन्त्रालयविच छलफल भएको हो । उनले अब सरकार र लगानीकर्ता  दुबैले ‘विन–विन’  पोलिसीमा रहेर अघि बढ्ने सहमति भएको बताए । समितिले प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनलाई आधार मानेर मन्त्रालयले आफ्नो निर्णय गर्ने उनले बताए । 

आफ्नै निर्णबाट पछि हट्ने गरी लाभकर किन लगाइएको थियो ? भन्ने रातोपाटीको प्रश्नमा उनले भने, ‘आन्तरिक राजस्वले आयकर ऐनको अधिकार प्रयोग गरेर आयकर लगाएको हो ।  सबै निर्णय सबैलाई सोधेर गर्न सम्भव थिएन ।’

यता वित्त व्यवस्थापन महाशाखाका सहसचिव तथा छानविन समितिको संयोजन समेत गरिरहेका  उत्तर कुमार खत्री अहिले आफूहरुले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत सम्मिलित समितिमा लाभकर बारे अध्ययन गरिरहेको बताए । उनले आफ्नो समितिले १५ दिनभित्रै प्रतिवेदन पेश गर्ने जनाए । 

यता इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल सरकारले तत्काल निर्णय स्थगित गरेकाले आफुहरुले पनि अहिले आन्दोलन स्थगित गरेको जनाए । ‘सम्भवत समितिको प्रतिवेदनले एउटा निर्णयमा पुग्न सघाउला’, उनले भने । 

सहमतिसँगै १ बजेदेखि खुलेको सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । बजार १३.९१ अंकले बढेर १२८२.७५ बिन्दुमा पुगेर अडिएको छ । कारोबारमा आएका १३८ कम्पनीको २३ करोड ८९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप