मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बैङ्गलोरमा बीएस्सी नर्सिङ : सुनौलो सपना, दर्दनाक यथार्थ

बुधबार, २८ असार २०७४, १० : ५४
बुधबार, २८ असार २०७४

बैङ्गलोर– नेपालबाट प्रत्येक वर्ष करिब ३ हजार विद्यार्थी भारतको कर्नाटक राज्यमा पर्ने बैङ्गलोरमा अध्ययनका लागि जाने गरेका छन् । ३ हजार विद्यार्थीमध्ये झण्डै १ हजार ५ सय विद्यार्थी त बीएस्सी नर्सिङका मात्रै छन् । 


नेपालमा प्लसटुको परीक्षा दिनेबित्तिकै बैङ्गलोरमा बीएस्सी नर्सिङमा भर्ना भएर पढ्ने विद्यार्थीको लर्को नै छ । थोरै अभिभावक आफै बैङ्गलोर पुग्छन्, तर धेरैले कन्सल्टेन्सीकै जिम्मा लगाउँछन् । 

नेपालका कन्सल्टेन्सीले बैङ्गलोरको सुनौलो सपना देखाएर नेपाली विद्यार्थीलाई भारतमा ‘बेचिरहेका’ छन् । अनि नेपाली विद्यार्थी पनि तिनै ‘दलाल’ जस्ता समूहको झूट र भुलभुलैयामा हराइरहेका छन् । ती विद्याथी र अभिभावकले भविष्यको ‘सपना’सँग वर्तमानको ‘बेइमानी’ झेलिरहेका छन् । 


नेपालका कन्सल्टेन्सीमा पुग्दा उनीहरूले नेपाली विद्यार्थीलाई बैङ्गलौरका सुविधासम्पन्न कलेज तथा हस्पिटल देखाउँछन् । बैङ्गलोरको नर्सिङ विश्वमै सम्मानित भनेर आधा ‘सत्य’ आधार ‘झूट’ बोल्छन् । तर, बैङ्गलोरको वास्तविकता धेरै फरक छ । 


रातोपाटीले जब बैङ्गलोर पुगेर नेपाली विद्यार्थीका ‘रियालिटी चेक’ गर्यो, अनि सतहमा आए धेरै झूट र विद्यार्थीका दुःख । 


रातोपाटी टिमले करिब १० दिन बैङ्गलोरमै बसेर नेपाली विद्यार्थीको अवस्था, नेपाली विद्यार्थी पढ्ने कलेज तथा हस्पिटल, होस्टललगायतका धेरै विषयमा खोजबिन गरेको छ । यो खोज बैङ्गलोरमा पढिरहेका विद्यार्थी, उनीहरूका अभिभावक र भविष्यमा बैङ्गलो गएर पढ्ने सपना बोकिरहेका विद्यार्थी एवम् उनीहरूका अभिभावकका लागि काम लाग्नेछ र शिक्षामा देखिएको बेथिति सच्याउन चाहे उपयोगी पनि हुनेछ । 


सुरुमा यी दुई विद्यार्थीका कुरा सुनौँ, जसले बैङ्गलोरमा नेपाली विद्यार्थीका दुःख हेरिरहेका छन् । 

अनिल महर्जन अहिले दिल्ली र बैङ्गलोर गरिरहन्छन् । किनभने अनिल नेपाली विद्यार्थीहरूका पक्षमा लगातार आवाज उठाउने व्यक्ति हुन् । आफू पनि अध्ययनका लागि बैङ्गलोरमा आएको र पाएको दुःख अनिलले बिर्सिएका छैनन् । त्यसैकारण पनि उनी नेपाली विद्यार्थीहरू अरू मारमा नपरून् भनेर हरदम सचेत छन् र आवाज उठाइरहन्छन् । आवाज मात्रै उठाउँदैनन् अनिल, परेको बेला नेपाली विद्यार्थीलाई सहयोग पनि गरिरहन्छन् । 


बैङ्गलोरमा पढ्न आउने विद्यार्थीहरू सुरुमै कन्सल्टेन्सीबाट ठगिने गरेको अनिल बताउँछन् । अनि कलेज आएपछि त अझ बढी ठगिन्छन्, विद्यार्थी । न यहाँ राम्रो खानेकुरा खान पाइन्छ, न त होस्टल नै राम्रो छ । न त सामाजिक सुरक्षा नै मजबुत छ । कलेजमा प्राक्टिकल शून्य छ भने अहिले रजिस्ट्रेसन दिन पनि बन्द गरिएको छ । जसका कारण बैङ्गलोरमा सम्भावनाभन्दा बढी समस्या देख्छन्, अनिल । 


अनिल मात्रै होइन, बैङ्गलोरमा अध्ययन र रोजगारी गरिरहेका अर्का पूर्व विद्यार्थी कविन मलेकु पनि बैङ्गलोरमा समस्या मात्रै देख्छन् । बैङ्गलोर ठगहरूको सहर भएको कविनको निष्कर्ष छ । नेपालको कन्सल्टेन्सीबाट सुरु हुने ठगी धन्दा कलेजबाट पास आउट हुने दिनसम्म जारी रहन्छ भन्छन् कविन । कलेजमा प्राक्टिकल नहुने, खाना राम्रो नहुने, सामाजिक सुरक्षा कमजोर हुने, एउटै कक्षामा कोचिएर बस्नुपर्नेलगायतका समस्या देख्छन् कविन । 
 

बीएस्सी नर्सिङका लागि वार्षिक १ अर्ब ३५ करोड बैङ्गलोरमा


बैङ्गलोरमा बसेर ४ वर्षको बीएस्सी नर्सिङ विषय पढ्न नेपालीले करिब ९ लाख रुपियाँ खर्च गर्ने गरेका छन् । वार्षिक करिब १ हजार ५ सय नेपाली विद्यार्थी भारतमा बीएस्सी नर्सिङ पढ्नका लागि भनेर पुग्छन् । अनि अहिले पनि बैङ्गलोरमा बीएस्सी नर्सिङ पढिरहेका विद्यार्थीहरूको सङ्ख्या ५ हजार ५ सयको हाराहारीमा छ । 
यी विद्यार्थीले तिर्ने औषत शुल्क हेर्ने हो भने वर्षिक झण्डै ५ अर्ब रुपियाँ हुन आउँछ । तर, वार्षिक रूपमै १ अर्ब ३५ करोड र पूरा कोर्सका लागि प्रत्येक ४ वर्षमा झण्डै ५ अर्ब रुपियाँ भारतमा खर्च गरेर पढेको विद्यार्थीको गुणस्तरमाथि बहस चाहिँ कम हुने गरेको छ । ‘राम्रो हुन्छ’ भन्ने विश्वास मात्र छ । 

नेपालमा बीएस्सी नर्सिङ पढ्ने विद्यार्थीले वार्षिक करिब ६ महिना सैद्धान्तिक र ६ महिना प्रयोगात्मक पढाइ गर्छन् । तर, भारतमा भने वर्षमा मुस्किलले १ महिना ‘प्राक्टिकल’ हुन्छ । त्यो पनि विद्यार्थी आफैले कुनै बिरामीलाई सुई लगाउन पाउँदैनन्, रगत झिक्न सक्दैनन् । औषधी दिन पाउँदैनन् । किनभने भारतका अस्पतालले पढ्दै गरेका विद्यार्थीलाई कुनै काम गर्नै दिँदैनन् । अस्पताल मात्रै होइन, स्वयं बिरामीले पनि आफ्नो उपचारमा विद्यार्थीको प्रयोग हुनै दिँदैनन् । अनि डाक्टरले गरेको उपचारलाई नजिकबाट हेर्नेबाहेक अन्य कुनै काम गर्नै पाउँदैनन् नेपाली विद्यार्थीले । 


रातोपाटीले भेटेका विद्यार्थीहरूले सुनाएको कथा हो, यो ।  


अब आफै विचार गरौँ, बैङ्गलोरमा बीएस्सी नर्सिङ पढ्ने विद्यार्थीको गुणस्तर र अवस्था कस्तो होला ?

भव्य कलेज, शून्य सिकाइ

बैङ्गलोरको चर्चित बीएस्सी कलेज हो– राजाराजेश्वरी कलेज अफ नर्सिङ । यस कलेजका भवन हेर्ने हो भने निकै सुन्दर देखिन्छन् । अनि एमबीबीएस र एमडीसमेत पढाइ हुने कलेज भनेपछि त गुणस्तर पक्कै पनि राम्रो छ भनेर सोच्ने धेरै छन् । 


तर, सत्य त्योभन्दा भिन्न छ । जसरी राजाराजेश्वरी कलेजको भवन शानदार छ, अस्पताल छ र विषय पनि छ । तर गुणस्तरमाथि भने प्रश्न छ । 


नेपाली विद्यार्थीले अध्ययन गरिरहेको बीएस्सी नर्सिङको गुणस्तर र ज्ञानलाई हेर्ने हो भने यो कलेज ‘डब्बा कलेज’ हो । किनभने न त यस अस्पतालमा पर्याप्त मात्रामा बिरामी आउँछन्, न त आएका बिरामीलाई नेपाली विद्यार्थीले छुन पाउँछन् । 


यस अस्पतालमा नर्सिङदेखि एमडीसम्मका विद्यार्थीहरूको सङ्ख्या ७ सयको हाराहारीमा छ । तर अस्पतालको बेड सङ्ख्या ४ सय भए पनि बिरामी सङ्ख्या दैनिक रूपमा एक सय पनि पुग्न सक्दैन । अनि आफै विचार गरौँ, विद्यार्थीहरूले के सिक्लान् ? 


आफ्नो भविष्यसँग जोडिएको पढाइमा विद्यार्थीहरू नामबाहिर दिन चाहँदैनन् । सूचना दिन भने तयार हुन्छन् । हामीले पनि उनीहरूको गोपनियतामा ध्यान दिन आवश्यक ठान्यौँ । 


राजाराजेश्वरीमा अध्ययन गरिरहेकी धादिङकी समीक्षा भन्छिन्, ‘कलेज त छ तर बिरामी नै आउँदैनन्  बिरामी आए पनि हामी नेपाली विद्यार्थीहरूलाई त छुनै दिँदैनन् । पढ्ने त यहाँ हो, अनि प्राक्टिकल चाहिँ नेपालमै ।’


समीक्षाजस्तै अर्की विद्यार्थी कल्पनाको कुरा पनि यस्तै छ । बीएस्सी तेस्रो वर्षमा अध्ययन गरिरहेकी कल्पना भन्छिन्, ‘बिरामी त हेर्ने मात्रै हो ।’ किनभने भारतीय अस्पतालमा पढ्दै गरेका विद्यार्थीलाई उपचारमा संलग्न गराउन निषेधजस्तै छ । उनी भन्छिन्, ‘थ्योरी त धेरै राम्रो छ, अब प्राक्टिकल चाहिँ नेपालमै गर्नुपर्ला ।’ 

यो तस्बिरमा देखिएको कलेज चाहिँ नाइटिङ्गेल इन्स्टिच्युट अफ नर्सिङ हो । बैङ्गलोरकै मेजिस्टक सिटीमा रहेको यो कलेजको हालत त झन् खराब छ । यस कलेजको आफ्नै अस्पताल नै छैन । अनि वार्षिकरूपमा करिब ३५ जना नेपाली विद्यार्थीलाई लिएर अध्यापन गराइरहेको यस नर्सिङ कलेजले राम्रो नाफा देखेपछि तत्कालै अर्को नर्सिङ कलेज पी आर कलेज अफ नर्सिङ पनि खोलेको छ । 


तर, यी दुवै कलेज पैसा कमाउनका लागि मात्रै खोलिएका रहेछन्, किनभने यी कलेजका विद्यार्थीले कहिल्यै प्राक्टिकल गर्नै पाउँदैनन् । कलेजका म्यानेजिङ डाइरेक्टर रुद्रेश कुमार आफै स्वीकार गर्छन्– ‘विद्यार्थीहरूले प्राक्टिकल गर्न त पाउँदैनन् ।’ 

उनको कुरा तपाईं भिडियोमा पनि सुन्नुहोला । 


नेपाली विद्यार्थी गएर पढ्ने कलेज बैङ्गलोरमा करिब १ सयको हाराहारीमा छन् । तर अधिकांश कलेज शिक्षा दिनका लागि नभएर पैसा कमाउनका लागि खोलिएका छन् । नेपाली विद्यार्थी गएर पढ्ने अधिकांश कलेज पटकपटक कारवाहीमा परिसकेका छन् ।


बीएस्सी नर्सिङ अध्यापनको निगरानी राख्ने राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सले बैङ्गलोरका २२ वटा कलेजलाई कालोसूचीमा राखेर कारवाही गरिरहेको छ, जुन कलेजमा नेपाली विद्यार्थी अध्ययनरत छन् ।


नेपाली विद्याथीहरू पढ्ने श्री शान्तिनी कलेज अफ नर्सिङ, गायत्री कलेज, आचार्य कलेज, गौतम कलेज, प्रगति कलेज, न्यु नभोदय कलेज, नभिमतम कलेज, डायना कलेज, एसबी कलेज, भुवना कलेज, प्रसन्न कलेज, हिना कलेज, शान्ति धमा कलेज, हिन्दुस्तान कलेज, श्री निभासा कलेज आदिलाई मालप्राक्टिस गरेको भन्दै विश्वविद्यालयले कालोसूचीमा राखेर कारवाही गरेको छ ।


तर नेपालमा सीमित सिट र महँगो शुल्क भएका कारण देखाउँदै वार्षिक १ हजार ५ सयको हाराहारीमा नेपाली विद्यार्थी बैङ्गलोरमा बीएस्सी नर्सिङ अध्ययनका लागि पुग्ने गरेका छन् । बैङ्गलारेमा बिजोग छ भन्ने सबैलाई थाहा छ तर पनि उनीहरू कन्सल्टेन्सीको झुट, नेपालमा सिट नपाउँदा र नर्सिङ शिक्षा महँगो हुँदा वार्षिक रूपमा बैङ्गलोरमा ‘बेचिइरहेका’ छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप