मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक सातामा छाँया सरकार बनाउदै काँग्रेस, गृहमन्त्री ‘बादल’ लाई टक्कर दिन को आउला ?

सोमबार, २१ जेठ २०७५, १७ : ५०
सोमबार, २१ जेठ २०७५

काठमाडौं –प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट प्रतिपक्षको भूमिकामा पुगेलगत्तै काँग्रेसले छाया सरकार गठन गर्ने घोषणा गरेको थियो । 

तर, घोषणा गरेको महिनौँ वित्दा पनि काग्रेसले छाँया सरकार गठनलाई तीव्रता दिन भने सकेको देखिँदैन । 

तर, काँग्रेस नेताहरु भने छाँया सरकार चाँडै बनाउने दावी गर्छन् । 

‘सम्भवत एक साताभित्र छाँया सरकार गठन हुन्छ, त्यसका लागि गृहकार्य भइरहेको छ’ काँग्रेस नेता तथा सांसद डा. मीनेन्द्र रिजालले रातोपाटीसँग भने ‘आवाश्यक्ता महशुस भइसकेको छ, अव ढिला हुँदैन ।’ 
पछिल्लो समय काँग्रेसले संसदमा समेत सशक्त प्रतिपक्षको भूमिका निभाउन नसकेको आलोचना भइरहेका बेला संसद र सडकमा आफ्नो भूमिका र उपस्थिति दर्बिलो देखाउन ‘छाँया सरकार’ गठनलाई अघि बढाउनुपर्ने नेताहरुको भनाई छ । 

यद्यपी काँग्रेसको संसदीय कार्यसमितिले नै पूर्णता नपाउँदा छाँया सरकार गठनमा ढिलाइ भएको बताइएको छ । 

काँग्रेस संसदीय दलको नेता र उपनेता चयन भएपनि काँग्रेसले निर्वाचन सम्पन्न भएको झण्डै ६ महिना हुनलाग्दा समेत संसदीय कार्यससमितिलाई पूर्णता दिएको छैन । 

यो समितिलाई पुर्णता पाउन सचिव चयन गनुपर्ने व्यवस्था छ । तर, अहिलेसम्म सचिव चयन नभएको एक नेताले रातोपाटीलाई बताए । 

सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा निकट ति नेताका अनुसार संसदीय समितिको सचिव चयन गरेलगत्तै छाँया सरकार गठन प्रकृया अघि बढ्नेछ । 

कसको नेतृत्वमा बन्छ छाँया सरकार ?

पार्टी सभापति तथा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा छाँया सरकार बन्ने काँग्रेसले जनाएको छ । 

जसमा २१ वटा मन्त्रालयमा २१ जना मन्त्री छान्ने तयारी भइरहेको काँग्रेस नेता डा. रिजालले बताए । 

उनका अनुसार छाँया सरकारको मन्त्री हुन सांसदमा निर्वाचित भएको हुनुपर्नेछ । 

छाँया गृहमन्त्रीमा गगनको चर्चा 

काँग्रेस नेताहरुका अनुसार छाँया सरकारका मन्त्रीहरु छान्न काँग्रेसभित्र औपचारिक छलफल नभएपनि गृहकार्य जारी छ । 

अनुभवी र जनताका समस्या बुझ्न सक्नेलाई छाँया सरकारका मन्त्री बनाउने काँग्रेसको तयारी छ । ‘हुन त म सांसद छैन, त्यसैले यो विषयमा धेरै जानकारी छैन, तैपनि जनताका कुरा सदनमा गहन र तर्कसंगत तरिकाले राख्नसक्ने मान्छेलाई छाँया मन्त्री बनाउनुपर्छ भन्नेमा दुईमत नहोला’ केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको भनाई छ । 

कतिपयले काँग्रेसभित्र प्रष्ट र तर्कसंगत कुरा गर्न सक्ने नेताका रुपमा चिनिएका सांसद गगन थापालाई नै छाँया गृहमन्त्रीका रुपमा समेत हेरेका छन् । 

तर, औपचारिक निर्णय नभइसकेकाले किटान नै गर्न भने नसक्ने नेताहरु बताउँछन् । 

‘छाँया सरकार’ गठन गरेर प्रभावकारी र रचनात्मक भूमिका देखाउन काँग्रेसका नेता कार्यकर्ताले नेतृत्वलाई दबाब दिइरहेको नेता कार्यकर्ताहरुले बताउँदै आएका छन् । 

गत चैतमा सम्पन्न काँग्रेस केन्द्रीय समिति बैठकले छाँया सरकार गठन गर्ने औपचारिक निर्णय गरेको थियो । 

त्यसपछि संसदीय दलको बिधान नै परिवर्तन गरेर छाँया सरकार गठन गर्ने भनेको काँग्रेस नेतृत्वले अहिलेसम्म व्यवहारमा नउतारेपछि नेता कार्यकर्ताले छाँया सरकार गठनमा विलम्ब नगर्न नेतृत्वलाई झक्झक्याउँन थालेका हुन् ।

‘हामीले नेतृत्वलाई बारम्बार भन्दै आएका छौँ कि जतिसक्दो छिटो छाँया सरकार गठन गर्नुपर्छ र बाम सरकारका काममा निगरानी बढाउनुपर्छ । यसमा नेतृत्व पनि सकारात्मक नै पाइएकोले चाँडै यो काम अघि बढ्ला’ काँग्रेसका यूवा नेता प्रदीप पौडेलले रातोपाटीलाई बताए । 

नेता पौडेलका अनुसार सरकारले ल्याएको नीति तथा कार्यक्रम, बजेट लगायतका विषयमा समेत कांग्रेसको उपस्थिति कमजोर भयो भनेर आलोचना भइरहेकाले अव काँग्रेसले चाडै छाँया सरकार बनाएर आफ्नो उपस्थिति बलियो बनाउनेतर्फ लाग्नुपर्ने आवाश्यक्ता छ । 

के काम गर्छ छाँया सरकारले ?

‘छाया सरकारले सरकारको काम गर्ने होइन, निगरानी मात्रै हो । उदाहरणका लागि गृहमन्त्रालय अन्र्तगतका विभाग र निकायमा जनताका सरोकारका काम कसरी भइरहेका छन् । जनताले पाउनुपर्ने सुविधा पाएका छन् या छैनन् ? भनेर छाँया सरकारका मन्त्रीले निगरानी बढाउँछन्’ नेता पौडेलले रातोपाटीसँग भने । 

केन्द्रमा छाँया सरकार बनेसँगै प्रदेश र स्थानीय तहमा पनि छाँया सरकार विस्तार गर्ने काँग्रेसको तयारी छ । 

‘प्रदेशमा सम्बन्धित प्रदेशको संसदीय दलको नेतालाई छाँया सरकार गठनको जिम्मेवारी दिइन्छ भने स्थानीयस्तरमा स्थानीय कमिटीले नै त्यो काम गर्छ’ नेता पौडेल भन्छन्,‘सवै तहमा छाँया सरकार बनेपछि सत्तापक्ष र बैधानिक सरकारले जनताको भावनाविपरित काम गर्न पाउँदैन ।’ 

छायाँ प्रधानमन्त्री र मन्त्रीहरुले आआफ्ना मन्त्रालय, विभाग र निकाय अन्र्तगत सरकारबाट भएका कामहरुको सुक्ष्म निगरानी गर्नेछन् र खवरदारी गर्नेछन् ।

जसले पार्टीका सांसदहरुलाई थप प्रभावकारी बनाउन समेत भूमिका खेल्ने कांग्रेस नेताहरुको बुझाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप