आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

लगनखेल बसपार्कलाई अब ‘स्मार्ट’ बसस्टप बनाइने

बुधबार, २८ असार २०७४, ०९ : ५८
बुधबार, २८ असार २०७४


ललितपुर – जिल्लामा देखिएको ट्राफिक जामको समस्या व्यवस्थापन गर्न ललितपुर बसपार्कलाई बसस्टपमा परिणत गर्ने निर्णय गरिएको छ । व्यवस्थापिका संसद उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धि समितिको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो ।
मंगलबार बसेको बैठकमा ट्राफिक महानगरीय प्रहरी परिसर ललितपुर, वडा नम्बर ५,१२, १५ र १९ का अध्यक्ष, यातायात व्यवसायी तथा स्थानीय प्रतिनिधिहरुको सहभागिता थियो । बैठकले साउन १५ देखि बसपार्कलाई बसस्टपको रुपमा मात्र प्रयोग गर्ने निर्णय गरेको छ ।


ललितपुर ट्राफिक प्रहरीका प्रमुख सीताराम हाछेथुका अनुसार लगनखेल बसपार्कलाई बसस्टपमा परिणत गरेपछि त्यस क्षेत्रको ट्राफिक जामको समस्या कम हुनुको साथै यात्रुहरुलाई आवतजावगत गर्न सजिलो हुनेछ । 


‘अहिले लगनखेल बसपार्कमा दैनिक औसतरुपमा दैनिक ४९४ वटा सवारी पार्किङ हुने गरेका छन् । एउटा गाडीमा यात्रु भरिसकेपछि मात्र बसपार्कबाट छुट्ने गरेको कारण धेरै सवारी नअँटेर जाम हुने गरेको थियो,’ हाछेथुले भने, ‘अब बसस्टपमा परिणत भएपछि निश्चित समयको अन्तरालमा सवारीसाधन बसपार्कबाट छुट्नुपर्ने हुन्छ । पहिले एउटै रुटका २० वटासम्म सवारी राखिने गरेकोमा अब एउटा रुटको बढीमा दुईवटा मात्र सवारी हुनेछ । यसले जाम मात्र कम नभएर यात्रुहरुको समयको वचत पनि हुनेछ ।’


यसमा यातायात व्यवसायीहरुले हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाएको उनको भनाई छ ।


ट्राफिक प्रहरीका अनुसार धेरै सवारी थुप्रिँदा सडकसमेत जाम हुने गरेको र दुर्घटना पनि बढी हुने गरेको थियो । यो निर्णय लागु भएपछि ट्राफिकको धेरै समस्या हल हुने विश्वास प्रहरीको छ ।


पहिले लगनखेल बसपार्कमा सवारी जम्मा भई विभिन्न स्थानमा सवारी छुट्ने गरेकोमा अब गोदावारी, भैसेपाटीजस्ता क्षेत्रहरुलाई बसपार्क बनाएर त्यहाँबाट बस छुट्ने व्यवस्था गरिने योजना अघि सारिएको छ ।


बसस्टपमा परिणत गरेपछि त्यहाँ सुधारका अन्य योजनाहरु पनि लागु गरिने छ । जसमा यात्रुहरुको सहजताका लागि बसस्टपमा होडिङ बोर्ड राखेर जाने रुटहरुको संकेत राखिनेछ । त्यसमा भाडादर र सवारी छुट्ने समयको जानकारी राखिनेछ ।


त्यस्तै, बसपार्कमा गुनासो व्यवस्थापनका लागि हेल्प डेस्क पनि स्थापना गरिनेछ । अशक्तहरुका लागि विशेष व्यवस्था गरिने पनि प्रहरीले जानकारी दिएको छ ।
हाछेथुले भने, ‘लगनखेल ऐतिहासिक स्थान भएको कारण त्यसको सुधारका लागि केही योजनाहरु पनि अघि सारिएको छ । अब त्यसक्षेत्रमा फुटपाथ पसलहरु हटाइनेछ भने फोहोर व्यवस्थापनको योजना पनि लागु गरिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप