शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन तस्करीका अभियुक्त छिरिङ वाङ्गेलद्वारा आत्मसमर्पण

आइतबार, २० जेठ २०७५, १२ : २१
आइतबार, २० जेठ २०७५

काठमाडौं– २०६९ सालदेखी सुन तस्करी गर्दै आएका राप्रपा (प्रजातान्त्रिक)का नेता भुजुङ गुरुङका सालो नाता पर्ने डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेलले आत्मसमर्पण गरेका छन् । 

आइतबार वाङ्गेल मोरङ जिल्ला अदालतमा उपस्थित भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) मनोज केसीले भने, ‘छिरिङ अदालतमा उपस्थित भएका छन्, अब केहीबेरमा बयान शुरु हुन्छ ।’

चुडामणि उप्रेती ‘गोरे’को समूहले दुबईबाट ल्याएको ३३ केजी सुन लुटपाटमा समेत छिरिङको संलग्नता रहेको सुन तस्करी छानविन समितीले निष्कर्ष निकालेको थियो । छिरिङ लामो समयदेखि सुन तस्करीमा संलग्न रहेको समितिको छानविनबाट खुलेपछि जिल्ला सरकारी वकिल कार्यालय मोरङले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

छानविन समितीले सुन लुटपाटमा संलग्न रहेको भन्दै भुजुङका भाञ्जा नाता पर्ने फाल्दुङ गुरुङलाई पक्राउ गरेको थियो, उनी अहिले पुर्पक्षको लागी थुनामा छन् । पाल्दुङ डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेका सवारी चालक हुन् ।

भुजुङ गुरुङ्गकै डिजाइनमा छिरीङ वाङ्गेल र उनका चालक फाल्दुङ गुरुङले तस्करीको ३३ किलो सुन पुरानो बानेश्वर र अनामनगर आसपासबाट लुटेको छानविन समितिको निष्कर्ष छ ।

भुजुङको सालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले २०६९ सालपछि सुन तस्करीको चेनमा जोडिएका थिए । मोहन कुमार अग्रवाल, पवन अग्रवाल, दरबार मार्ग स्थीत आरके डायमन्डको सञ्चालक राजेन्द्र शाक्य पनि त्यति बेलादेखि नै सुन तस्करीको चेनमा जोडिएका थिए ।

भुजुङ र एमकेसहितको सुन तस्करीमा संलग्न उक्त समुहलाई त्यति बेलादेखि नै त्रिभुवन विमानस्थलमा कार्यरत थाई एयरलाईन्सका कर्मचारीहरु गोपाल कुमार श्रेष्ठ, दोराम खत्री, बिरेन्द्रमान श्रेष्ठ लगायतले सहयोग गर्दै आएका थिए ।

शुरुवाती चरणमा भुजुङको घरमै सुन लगिदीने एयरपोर्टका कर्मचारीहरुले पछि भुजुङकै सल्लाहमा उनको सालो डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले र भाञ्जा फाल्दुङ गुरुङले भनेको स्थानमा सुन छाड्ने गरेका थिए । पछिल्लो समय बेला–बेला मात्र चुडामणि उप्रेती र एमकेसँग मिलेर काम गरेजस्तो देखिए पनिआफ्नो सालो र भाञ्जासँग मिलेर भुजुङले सुन तस्करीको छुट्टै समुह निर्माण गरिसकेका थिए । तस्करीको सुन लुटपाट गर्दा मोहन कुमार अग्रवालले कतै उजुरी हाल्न नसक्ने र आफ्नो समुह छिट्टै मालामाल हुने देखेपछि भुजुङ समूहले उक्त सुन लुटेको बताईएको छ ।

गत फागुन ९ गते दुबईबाट आएको ३३ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट  सानु बन र पुण्य प्रसाद लामा ‘तक्ले’ ले पुरानो बानेश्वरस्थित चुडामणी उप्रेतीले संचालन गरेको अफिसमा जाँदै थिए । सोही क्रममा लुटेरा समुहले बानेश्वर र अनामनगर आसपासमा उक्त सुन लुटेपछि तस्करहरुले यातना दिने क्रममा सनम शाक्यकको हत्या भएको थियो । सुन छाड्न गएकामध्ये सानु बनले विमानस्थलमा गुडीरहेको पेट्रोल ट्यांकरको चक्कामुनी छिरेर आत्महत्या गरेका थिए । बनसँगै सुन छाड्न गएका ‘तक्ले’ भन्ने पुण्यप्रसाद लामा मोरङ प्रहरीको हिरासतमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप