बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मास्क लगाएर जब दुई मन्त्री थापाथलीको सडकमा ओर्लिए (भिडियो)

आइतबार, २० जेठ २०७५, १० : २९
आइतबार, २० जेठ २०७५

काठमाडौँ । थापाथली चोकैनिर आइतबार बिहान साढे ७ बजे सानो भीड थियो । सडकपेटीमा दुई साना मेसिन राखिएका थिए ।

सुरक्षाकर्मी, ट्राफिक प्रहरी र वातावरण विभागका कर्मचारी, पत्रकार र सर्वसाधरणको सानो भीड लागेको थियो ।

भीड बाक्लिएको एकैछिनमा राष्ट्रिय झन्डा भएको गाडीमा दुई व्यक्ति आए, अनि मुखमा माक्स र शरीरमा हरियो एप्रोन लगाए । ट्राफिक प्रहरीले सडकमा गुडिरहेको माइक्रोबस र ट्याक्सीलाई अचानक रोकेर सडक किनारमा ल्याए । 

मुखमा मास्क र हरियो एप्रोन लगाएका ती दुई ब्यक्तिले माइक्रोबस र ट्याक्सीको धुवाँ फाल्ने पाइप अर्थात साइलेन्सरमा मेसिन जोडे । यी दुई व्यक्ति थिए, गृहमन्त्री रामबहादुर थापा र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत ।

मन्त्री थापाले सवारी धनी बुद्धीलाल श्रेष्ठको बा २ ख ९३५२ नम्बरको माइक्रोबसको प्रदुषण जाँच गरे । सो गाडीको धुवाँको औषत मात्रा ५ दशमलव ५ देखियो, मापदण्ड अनुसार माइक्रोबस प्रदूषण फेल भयो । 

तुरुन्तै यातायात व्यवस्था विभागका कर्मचारीले सो सबारीसाधनको बिलबुक मागे र  ‘चिट’ काटे ।

सो सवारी साधानलाई सर्भिसिङ गरेर यातायात व्यवस्था विभागमा फेरि परिक्षण गर्न भने । यता वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बा ३ च ४३१४ नम्बरको ट्याक्सीको प्रदुषण जाँच गर्दा औषत धुवाको मात्रा २ दशमलव २ देखायो र ट्याक्सी प्रदुषण  जाँचमा पास भयो । 

बन तथा वातावरण मन्त्रालयले विश्व वातावरण दिवसको अवसरमा गृहमन्त्री थापा र वन तथा वातावरणमन्त्री बस्नेतले संयुक्त रुपमा यसरी सवारीको छड्के प्रदूषण जाँच गरेका हुन् । मन्त्रीहरुले एक एक वटा सवारी सधानको प्रदूषण जाँच गरेका थिए । वातावरण विभाग र ट्राफिक प्रहरीले अन्य सवारीसाधनको वातावरण परिक्षण गरेका थिए । 

सवारीसाधनको प्रदूषण जाँचका लागि सडकमा डिजेल गाडी र पेट्रोल गाडीका लागि  दुईवटा छुट्टाछुट्टै मेसिन राखिएको थियो । ‘ग्यास एनाइजनर’ मेसिनले गाडिमा धुवाँको बाक्लोपना कति छ भनेर मापन गर्छ । यसरी धुवाँ मापन गर्दा २ दशमलव ४ भन्दा माथिको मात्रा आयो भने प्रदुषण फेल हुन्छ । यो आयतन भन्दा कम मात्रा आयो भने प्रदुषण जाँच पास हुन्छ । सवारी साधन पुरानो, समयमा इन्जिनको मर्मतसम्भार नगर्दा बाक्लो धुवाँ फ्याक्ने र वातावरण प्रदूषण वातावरण विभागका रसायनविद् केशव पौडेलले जानकारी दिए । 

गाडी परिक्षण गर्न मन्त्रीले मानेनन्, वातावरण विभागको हाकिमको पास 

सडकमा गुडिरहेका सावारी साधनको मात्र नभई केही सरकारी सवारी साधानको पनि प्रदुषण परिक्षण गरिएको थियो । वातावरण विभागका कर्मचारीले वनमन्त्री बस्नेत गुड्ने गाडीको परिक्षण गर्न आग्रह गरेका थिए, तर उनले अहिले हतार भएकोले पछि गर्न भने । गृहमन्त्री थापाले पनि आफ्नो गाडिको वातावरण परिक्षण नै नगराई कार्यक्रमस्थलबाट बाहिरिए । यता वातावरण विभागका महानिर्देशक दुर्गाप्रसाद दवाडी चढ्ने बा २ झ ७०४ नम्बरको गाडी र उप निर्देशक शंकर प्रसाद पौडेलको सवारी साधन परिक्षण गर्दा पास भयो । आफ्ना हाकिमको गाडि परिक्षण पास भएपछि विभागका कर्मचारीहरु बधाई दिइरहेका थिए । 

गृहमन्त्रीको भनाई : सडकको प्रदुषणसँग भष्ट्रचार जोडिएको छ

सवारीको प्रदुषण जाँच गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै गृहमन्त्री रामबहादुर थापाले सडकको प्रदुषणसँग भष्ट्राचार पनि जोडिएको बताए । उनले प्रदुषण हटाउन वातावरण मन्त्रालयले शूरु गरेको स्वच्छता अभियान भष्ट्राचार विराधी अभियान पनि रहेको बताए । नेपाल विकास र समृद्धिको बाटोमा अघि बढिरहेको बताउँदै उनले समृद्धिलाई प्रदुषणले बाधा पु¥याउने, स्वास्थ्यमा असर पु¥याउने बताए । अस्वस्थ नागरिकले देशको विकासमा सहयोग नपुग्ने हुँदा प्रदुषण हटाउने काममा सहयोग गर्न सबैलाई आग्रह गरे । 

जेठ २२ गतेदेखि नेपाल स्वच्छ महाअभियान चलाउछौँ : वनमन्त्री बस्नेत

यसैबीच वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले आगामी जेठ २२ गतेदेखि सरकारले एक वर्ष अवधिको नेपाल स्वच्छ महाअभियान शूरु गर्न लागेको जानकारी दिए । यसको घोषणा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन र हरियाली प्रवद्र्धन गर्ने सो अभियानमा केन्द्र, प्रदेश र स्थानीय तहबिच समन्वय गरेर जाने उनले बताए । निजी क्षेत्र, वातावरणको क्षेत्रमा काम गर्ने संस्था, नागरिक सबैलाई महाअभियानमा सहभागि गराँउने उनको भनाई छ । स्वाच्छ वातावरणमा बाच्न पाउने नागरिकको अधिकार दिन यो अभियान शुरु गर्न लागेको मन्त्री बस्नेतले जानकारी दिए । 

विश्व वातावरण दिवसको अवसरमा मन्त्रालयले सप्ताहव्यापी कार्यक्रम अन्र्तगत पाँचौ दिन सवारीको प्रदुषण जाँच गरेको बताँउदै मन्त्री बस्नेतले वातावरण संरक्षणका लागि सरकार क्रियाशील रहेको बताए ।     


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप