केन्द्रीय संस्करण

ढुंगा पनि सुत्केरी !

person access_timeजेठ १८, २०७५ chat_bubble_outline0

अर्खौले (खोटाङ) । ढुंगा पनि सुत्केरी हुन्छ र ? झट्ट सुन्दा अनौठो लाग्नु अस्वाभाविक होइन । ढुंगा सुत्केरी हुनै सक्दैन । हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खौले बजार र कामीडाँडाबीचमा रहेको ढुंगालाई ‘सुत्केरी ढुंगा’ भनिन्छ । 

ढुंगाको नाम कसरी सुत्केरी रहन गयो ? जिज्ञासा लाग्नु स्वाभाविकै हो । सुत्केरी ढुंगाको आडैमा अमृता पुरीको घर छ । ‘सोलुखुम्बुबाट हलेसी आएकी शेर्पिनी दोजिया थिइन् । हलेसी दर्शन गरेर फर्कनेक्रममा उनलाई सुत्केरी व्यथाले च्यापेछ । व्यथाले च्यापेपछि यो ढुंगा उठाउँदा बल प्रयोग भई बच्चा पैदा भएको थियो,’ पुरी सुनाउँछिन्, ‘सुत्केरीले उठाएको भएकाले यसलाई सुत्केरी ढुंगा भनिएको हो भनेको मैले पनि अरूबाटै सुनेकी हुँ ।’ सुत्केरी ढुंगाबारे प्रचलित यही किंवदन्ती जोकोहीबाट सुन्न सकिन्छ । सोधिखोजी गर्नेलाई प्रचलित किंवदन्ती सुनाइन्छ ।

यो बाटो भएर ओहोर–दोहोर गर्नेले सुत्केरी ढुंगा जिज्ञासुपाराले हेर्ने गर्छन् । ढुंगाबारे किंवदन्ती सुनेपछि सुत्केरीले यत्रो ढुंगा कसरी उठाइहोलिन् भन्ने गर्छन् । तर, किंवदन्ती न हो भनेर चित्त पनि बुझाइहाल्छन् । ‘सुत्केरीले यत्रो ढुंगा कसरी उठाउलान् । सायद देउताका पालामा उठाउन सक्थे कि ?,’ स्थानीय अमृता पुरी थप्छिन्, ‘हिजोआजका सुत्केरी उठेर बस्न त सक्दैनन् । यत्रो ढुंगा उठाउन त परै जाओस् ।’ सुत्केरी ढुंगासँगै अर्को पनि ढुंगा ठडिएको छ । ठूलो सुत्केरी र सानो ढुंगा बच्चाले उठाएको भन्ने गरिन्छ । 

सुत्केरी ढुंगाबारे अर्को पनि प्रचलित किंवदन्ती छ । ‘ढाड दुखेका महिलाले सुत्केरी ढुंगामा ढेसिन्छन्,’ अर्खौले बजारमा भेटिएका हलेसी–तुवाचुङ नगरपालिका–१० वडाध्यक्ष ज्ञानबहादुर पुरीले भने, ‘त्यसो गर्दा ढाड दुखेको निको हुने विश्वास गरिन्छ । रामनवमी मेला भर्न हलेसी आइपुगेका शेर्पा समुदायका महिलाले त्यसो गरेको मैले देखेको हुँ ।’ 

मुन्दुम अध्येता भोगीराज चाम्लिङको बुझाइ फरक छ । ‘हिजोआजसमेत चौतारी चिन्ने गरिन्छ,’ चाम्लिङको ठम्याइ छ, ‘चौतारी चिनेजस्तै त्यतिबेला ढुंगा ठड्याउनुलाई कीर्तिका रूपमा लिने गरिन्थ्यो । सुत्केरी ढुंगा भनेर चिनिएको ढुंगासमेत कीर्तिका लागि कसैले ठड्याएका हुन् । यसले त्यतिबेलाको समयको प्रतिनिधित्व गर्छ ।’ 

सुत्केरी ढुंगालाई पर्यटकीयस्थल बनाउन सकिन्छ । हलेसी–तुवाचुङ नगरपालिका–१० अर्खाैलेमा गुप्तेश्वर महादेवलगायत पर्यटकीयस्थल थुप्रै छन् । ‘त्यसमध्येका गुप्तेश्वर महादेव, सुत्केरी ढुंगालगायत सम्भावित पर्यटकीयस्थललाई प्याकेज बनाएर बेच्न सकिन्छ,’ हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले सुझाए, ‘त्यसो गर्न सके ग्रामीण पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । स्थानीयसमेत लाभान्वित हुनेछन् ।’ 

पहिले र अहिलेको सुत्केरी ढुंगामा केही फरक छ । पहिलेको सुत्केरी ढुंगा ७५ डिग्री कोणमा उत्तरतर्फ ढल्केको थियो । सात फिट दुई इन्च उचाइ रहेको सुत्केरी ढुंगाको चौडाइ एक फिट ६ इन्च थियो । 

केही समयअघि सुत्केरी ढुंगा आफैं ढल्यो । तात्कालिक गाउँ विकास समितिसम्बद्धको पहलमा ढलेको सुत्केरी ढुंगा ठड्याइयो । सुत्केरी ढुंगा ठड्याउँदा पहिलेकै अवस्था राख्न सकिएन । 

मानव सभ्यताको विकास ढुंगेयुगबाट सुरु भएको पाइन्छ । हातहतियार र आगो आविष्कार नहुँदा ढुंगालाई जति महत्वसाथ हेरिन्थ्यो, त्यत्तिकै महत्वसाथ किरात राई समुदायले ढुंगाको श्रद्धा गर्छन् । पूजा गर्छन् । 

प्रकृतिपुजक भनेर चिनिने उनीहरूले वन–जंगल, खोलानाला, ढुंगामाटोको पूजा गर्नु परापूर्वकालदेखिको मान्यता हो । वन–जंगल, खोलानाला, ढुंगा, माटोसँग उनीहरूको अन्तरङ सम्बन्ध रहेको पाइन्छ । 
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ