शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जिनेदिन जिदानले छाडे रियल

बिहीबार, १७ जेठ २०७५, १७ : ४३
बिहीबार, १७ जेठ २०७५

म्याड्रिड । रियल म्याड्रिलाई लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि दिलाएको एक हप्ता नबित्दै जिनेदिन जिदानले क्लबको प्रशिक्षक पदबाट राजीनामा दिएका छन् ।

बिहिबार एक पत्रकार सम्मेलन गर्दै उनले क्लबबाट राजीनामा दिएको जानकारी दिएका हुन् ।

‘मैले अर्को सिजन रियल म्याड्रिडको प्रशिक्षक नहुने निर्णय गरेको छु,’ अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँगै देखिएका जिदानले भने ।

‘मैले फ्लोरेन्टिनोसँग हिजो कुरा गरे र आफ्नो कुरा सुनाए । सबैलाई यो निर्णय अनौठो लाग्ला तर, यो सही निर्णय भन्ने मलाई लागेको छ,’ उनले भने ।

उनले टोलीले जित्नु महत्वपूर्ण भएको तर, केही समयपछि बदलाव पनि आवश्यक भएको बताए ।

‘अब जाने समय भयो । खेलाडीहरुलाई अब फरक डिस्कोर्स चाहिएको छ, फरक तरिका चाहिएको छ,’ फ्रेन्च प्रशिक्षकले भने ।

आफ्नो कार्यकालमा सफल रहे पनि यसले उनलाई आफ्नो कार्यकाल लम्ब्याउनुमा प्रेरित गर्न सकेन ।

ला लिगामा बार्सिलोनासँग १७ अंकले पछि रहँदै लिगमा तेस्रो स्थानमा सिमित रहनु पनि जिदानले क्लब छाड्नुको एक प्रमुख कारण मानिएको छ ।

यद्यपि, यसमा आफूलाई कसैले छाड्न दबाब नदिएको र यो आफ्नो व्यक्तिगत निर्णय भएको बताए ।

जिदान सन् २०१६ को जनवरीमा रियलको प्रशिक्षक नियुक्त भएका थिए । रियलको १४९ खेलमा नेतृत्व लिएका जिदानले १०५ खेलमा जीत हासिल गरे भने तीन च्याम्पियन्स लिग र एक ला लिगाको उपाधि पनि जिते ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप