शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीका सल्लाहकार भन्छन्, ‘असारमा प्रधानमन्त्रीको चीन भ्रमण निश्चित’

बिहीबार, १७ जेठ २०७५, ११ : ५२
बिहीबार, १७ जेठ २०७५

काठमाडौं– प्रधानमन्त्री केपी ओली असारको पहिलो साता चीन भ्रमणमा जाने निश्चित भएको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओली ५ दिने चीन भ्रमणमा जान लागेका हुन् ।

ओलीले प्रधानमन्त्रीको सपथ खाएको झण्डै डेढ महिनामा छिमेकी मुलुक भारतको तीन दिने भ्रमण गरेका थिए । प्रधानमन्त्री ओली भारत भ्रमण गरेको दुई महिनापछि अर्को छिमेकी मुलुक चीन भ्रमणमा जान लागेका हुन् । यसअघि प्रधानमन्त्रीको चीन भ्रमणको बातावरण मिलाउन गत वैशाख पहिलो साता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ६ दिन चीन भ्रमण गरेका थिए । 

प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले प्रधानमन्त्रीको चीन भ्रमण निश्चित भएपनि मिति तय भइनसकेको बताए । ‘भ्रमण निश्चित हो, दुवै पक्षको सहमतिमा मिति चाँडै तय हुन्छ’ सल्लाहकार अर्यालले रातोपाटीलाई बताए । 

तर, परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्रीको चीन भ्रमणबारे केही खुलाएको छैन । प्रधानमन्त्रीको भ्रमणको तय गर्न नेपालका चीनका लागि नेपालका राजदूत लिलामणि पौडेल हालै नेपाल आएर चीन फर्किसकेका छन् । 

सल्लाहकार अर्यालले परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको तयारीस्वरुप चीन भ्रमण गरिसकेको र त्यसैअनुसार परराष्ट्रले समेत तयारी गरिरहेको दावी गरे । 

परराष्ट्रमन्त्री ज्ञवालीले गत महिना गरेको चीन भ्रमणका क्रममा पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाइन विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने विषयमा नेपाल र चीनबीच सहमति भएको बताइएको थियो । 

मन्त्री ज्ञवालीले त्यस क्रममा बेइजिङमा चीनका विदेशमन्त्री वाङ यीसँगको भेटवार्तामा रेलवे मार्ग, व्यापार, पूर्वाधार, पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्ने विषयमा छलफल गरेका थिए । 

नेपाल चीनबीच वान बेल्ट वान रोडमार्फत क्रस हिमालय कनेक्टिभिटी नेटवर्क अघि बढाउने विषयमा यसअघि नै चर्चा हुदै आएको थियो । यसवारेमा समेत प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुराकानी हुने बताइएको छ । 

त्यस्तै तातोपानी नाका सञ्चालनका लागि अरनिको राजमार्ग पुनः निर्माण गर्ने विषयमा छलफल हुनसक्ने बताइएको छ । 

‘खासगरी सन् २०१६ मा केपी ओलीले प्रधानमन्त्रीका रूपमा चीन भ्रमणमा गरेका सम्झौता र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा गरेका सहमतिहरू कार्यान्वयन गर्ने विषयमा सहमति हुनसक्छ,’ प्रेस सल्लाहकार अर्यालले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप