केन्द्रीय संस्करण

भूराजनीतिले युद्ध हुने सम्भावना हुन्छ

person access_timeजेठ १७, २०७५ chat_bubble_outline0

पृथ्वीको अलग खण्डको अलग अलग महत्व छ । कुनै भागको प्राकृतिक स्रोतको कारणले र कुनै खण्डको जलमार्गको कारणले महत्व छ । त्यो निश्चित महत्व राख्ने भूखण्डको कि स्रोतको कारणले कि अवस्थितिका कारणले महत्व रहेको हुन्छ । 

त्यस्ता प्राकृति स्रोत, अवस्थिति अथवा जलमार्ग वा अरू कुनै कारणले महत्वका भूक्षेत्रमा पुग्नको लागि अर्को कुनै भूक्षेत्र बीचमा पर्छ भने त्यो भूक्षेत्र भूराजनीतिक रूपमा महत्वपूर्ण हुन्छ ।

उदाहरणका रूपमा भारतको जनसङ्ख्या धेरै ठूलो छ । भारत जनसङ्ख्याको केन्द्र भएकाले उसको उपभोक्ता बजार पनि ठूलो छ । त्यसको साथै ऊ ठूलो अर्थतन्त्र हो र अझ उलेख्य पक्ष ऊ ठूलो सैन्य शक्ति पनि हो । यही कारण सैन्य र अन्य रणनीतिक सामग्री पनि ठूलो मात्रामा खरिद गर्छ । सबै किसिमले भारतको महत्व छ ।

अनि भारतलाई बजार बनाउन चाहने अनि भारतलाई दबाब दिएर सम्बन्धमा आफू अनुकूल काम गराउने र भारतलाई आफ्नो सामान किनाउने कुनै देशले चाल चाल्नुप¥यो भने त्यसका लागि उसले कहाँ कहाँ चाहिँ आफ्नो उपस्थिति जनाउनुपर्छ त ? जस्तो श्रीलङ्काबाट हुनसक्छ उसलाई दबाब । उसलाई दबाब बङ्लादेशबाट हुनसक्छ । उसलाई दबाब नेपालबाट हुन सक्छ । यसरी यी देश चाँहि भारतको कारणले भूराजनीतिक रूपमा महत्वपूर्ण भए ।

यो सैद्धान्तिक कुरा भयो । यसका धेरै विद्वानहरूले धेरै खालको व्याख्या गरेका छन् ।

एउटा हर्टल्यान्ड थिअरी छ । म्याकेन्डर भन्ने एक विद्वानको परिभाषा हो यो । उनका अनुसार युरेसिया क्षेत्र हर्टल्यान्ड क्षेत्र हो । 

उनका अनुसार जसले यो भाग कब्जा गर्छ उसले टापुहरू पनि कब्जा गर्छ । अर्थात वरिपरिका अन्य भूक्षेत्रहरू कब्जा गर्छ । जसले वरिपरि क्षेत्र कब्जा गर्छ, त्यसले समुद्र कब्जा गर्छ र जसले समुद्र कब्जा गर्छ, त्यसले संसारमा राज गर्छ भन्ने छ यसमा । युरोसेसियाको यस्तो महत्व भएपछि त्यसका वरिपरि क्षेत्रहरू भने भूराजनीतिक रूपमा महत्वपूर्ण भए । 

त्यसमा इरान महत्वपूर्ण भयो । त्यसपछि मध्यपूर्वमा रहेको टर्की महत्वपूर्ण भयो । युरेसिया आफै हर्ट ल्यान्ड भएकाले त्यो क्षेत्रको महत्व भयो । 

यसरी महत्वपूर्ण प्राकृतिक स्रोत, जलप्रभाह वा जलमार्ग र अर्को बजार वा अर्को ठूलो सैन्य शक्तिको सम्बन्धमा अर्को कुनै राजनीतिक शक्तिले बनाउने नीति, त्यसमाथि राख्ने रणनीतिक दबाब र सामरिक दबाब ती सबैको सापेक्षमा त्यस वरिपरि रहेको ठाउँलाई भूराजनीतिक भूरणनीतिक महत्वको ठाउँ भनिन्छ । अहिले त जियोइकोनोमिक्स भन्ने शब्द पनि आएको छ । 

भूराजनीतिमा प्रविधिले पारेको प्रभाव

पछिल्लो समय आएको नयाँ प्रविधिले आम जीवनमा एक किसिमको बदलाब त ल्यायो । तर भूराजनीतिमा भने यिनले त्यति परिवर्तन ल्याएको छैन । 
प्रविधि जति नै भए पनि पृथ्वीमा रहेको स्रोतको उपभोगका लागि त ‘टेलियुटिलाइजेसन’ त हुन सक्दैन । अरबमा तेलको खानी छ । त्यसलाई अमेरिकाबाट त दोहन गर्न सकिँदैन । त्यसका लागि त अरबमै पुग्नु प¥यो । 

तर फेरि त्यहाँ पुग्नका लागि यातायात, तिनमाथि दबाब कायम राख्ने सामरिकको किसिमको हतियारहरू, उनीहरूको खुफिया सूचनाहरू सङ्ग्रह गर्ने प्रविधिहरूमा भएको विकासले गर्दा सजिलो पनि बनाएको छ । अफ्ठ्यारो पनि बनाएको छ । किनकि दुस्मनले पनि तुरुन्त थाहा पाउँछ ती प्रविधिहरू ।

भूराजनीतिले युद्ध हुने सम्भावना हुन्छ 
भूराजनीतिक कारणले युद्ध हुने सम्भावना हुन्छ । अहिलेको सिरियाको युद्ध त्यही त हो नि । सिरिया आफैमा अथाहा प्राकृतिक स्रोत भएर त्यसको दोहनका लागि मात्र युद्ध भएको हैन । सिरियामा दुईवटा भूराजनीतिक कारणले युद्ध भयो । एउटा प्राकृतिक स्रोतसँग सम्बन्धित भूराजनीति छ, अर्को चाहिँ जलमार्गसँग सम्बन्धित भूराजनीति छ । 

त्यही दुई कारणको मारमा सिरिया परिरहेका छ अहिले । लडाइ भनेको त इरान र रुस एकातर्फ अनि अमेरिका र उसका मित्र शक्तिहरू अर्कोतर्फ भएर भएको हो । त्यो ‘कन्फ्रन्टेसन’को मारमा सिरिया परिरहेको छ । त्यसमा सजिलो पनि के भइदियो भने असद सिरियालाई तानासाहको रूपमा अगाडि देखाउन सकियो ।

यदि असद लोकतान्त्रिक नेता भएको भए अलि अफ्ठ्यारो हुन्थ्यो होला । भूराजनीतिमा युद्धका लागि वा आफ्ना कारबाहीको साध्य देखाउनको लागि बाहना खोजिन्छ । सिरियामा पश्चिमाहरूले असद परिवार देखाउन पाए ।

सिरिया युद्धको प्राकृतिक स्रोतको भूराजनीति
प्राकृतक कारणले किन भयो भने पश्चिम युरोप र पूर्वी युरोपको सबैभन्दा ठूलो कमजोरी भनेको ऊर्जा हो । उनीहरूसित त्यहाँ खासै तेल पनि छैन । उनीहरूको तेलको स्रोत सबैभन्दा धेरै रुसबाट जाने

पाइपलाइनहरूबाट पूर्ति हुन्छ । ब्रिटेनमा पनि रुसबाट सीधै पाइपलाइन जान्छ : बाल्टिक सागर, नर्थ सी हुँदै जान्छ । त्यसैले ब्रिटेनको पनि ऊर्जाको स्रोत हो रुस । युरोपका अधिकांश देशमा रुसको प्राकृृतिक ग्यास जान्छ ।

अब रुसबाट त्यहाँ प्राकृतिक इन्धन जाने भएकाले र पूरै पश्चिम युरोप र पूर्वी युरोप रुसको इन्धनमा निर्भर हुनेबित्तिकै रुस त रणनीतिक रूपमा प्रभावशाली हुने भयो । युरोपको इन्धनको चाबी नै रुसको हातमा भयो । त्यो ठूलो कमजोरी हो युरोपको ।

जबसम्म युरोपले रुसको त्यो चाबीको विकल्प खोज्न सक्दैन रुसको हेजेमोनी रहि नै रहने भयो । यसको दुईवटा कारण छ ः एक रुसले यसबाट पैसा पाउँछ । त्यसबाट ऊ धनी हुने भयो । अर्को कुरा रुसमाथि पश्चिम युरोप र पूर्वी युरोपको निर्भरता हुने भयो ।

यसको विकल्प के हुन सक्छ भनेर अमेरिका र पश्चिम युरोपले उहिल्यैदेखि खोज्या हो । प्राकृतिक ग्यासको उपलब्धताको हिसाबले २०–२०% हिस्सा अमेरिका र रसियासँग छ । त्यसपछाडि तेस्रो र चौथो देश भनेको कतार र इरान हो । त्यसैले उनी विकल्प त्यही खोजिरहेका छन् ।

एउटा विकल्प हो, इरानको शासन प्रणाली बदलेर पश्चिम परस्त इरान बनाउने अर्को भनेको कतारको ग्यासफिल्डबाट ग्यास लगेर युरोपको ग्यासको माग पूरा गर्ने । यसो गर्दा युरोपको पैसा पनि रुस नजाने भयो । रुसको ग्यास बिक्री नभए पछि रुसको आर्थिक अवस्था पनि खस्कने भयो र यसले उसमाथि ठूलो नियन्त्रणको अवस्था उत्पन्न हुन्छ । 

त्यही सोचेका साथ त्यो क्षेत्रबाट ग्यास युरोप लानका लागि इरानलाई आफ्नो पक्षमा पार्ने त्यो नसके कतारबाट ग्यास लाने भन्ने उनीहरूको पहिलेदेखिको रणनीति हो । तर इरानमा अमेरिकाको केही चलेन । उसले त्यहाँको शासक बदल्न सकेन । 

कतारबाट ग्यास लानका लागि ठ्याक्कै सिरियाको बाटो हुँदै जानुपर्छ । सिरिया पनि रुस परस्त छ । सिरिया नभई प्राकृतिक ग्यास पश्चिम युरोप लानै नसकिने हुनाले सिरियामा शासन परिवर्तन गर्नु महत्वपूर्ण भयो । सिरियाको प्राकृतिक स्रोतको भूराजनीतिक यो भयो । 

भूराजनीतिमा इन्धनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसमा हीरा पनि पर्छ, सुन पनि पर्छ, फलाम पनि पर्छ । मध्यपूर्वको सम्बन्धमा भने इन्धन भयो । 

सिरिया युद्धको जलमार्गको भूराजनीति
सिरिया युद्धको अर्को कारण भनेको हो, जलमार्गको युद्ध । भूराजनीतिमा कुनै देशको के कुराको सबैभन्दा फाइदाको कुरा छ ? र सबैभन्दा कमजोर पक्ष के हो ? त्यसलाई ख्याल गरिन्छ । रुस भयङ्कर ठूलो राष्ट्र छ । उसको सबैभन्दा कमजोर कडी के हो भने रुसबाट जति पनि व्यापारिक जहाजहरू निस्किन्छ, जसलाई भीएलसीसी (भेरी लार्ज क्रुज कन्टेनर), यूएलसीसी (अल्ट्रा लार्ज क्रुज कन्टेनर) भनिन्छ तिनले तेल बोक्छन् । २४–२५ हजार दस चक्के गाडी बोक्ने लोड त्यस्ता एउटा जहाजले बोक्छ । त्यति ठूलो बाहन त डिप सी क्षेत्रमा मात्र जान्छ । अब रुसको डिप सी आउनका लागि कि सेन्ट पिटर्सवर्ग जानुपर्छ कि ह्वाइट सी जानुपर्छ । उता नर्थ सीबाट जाँदा उसलाई झन अफ्ठ्यारो पर्छ । फेरि यहाँ तल युरोसिया क्षेत्रमा सम्पूर्ण भण्डारण छ उसको । त्यहाँसम्म पाइपलाइन लानु प¥यो कि नभए साना साना जहाजहरूले भोल्गा नदी (रुसले भोल्गा नदी र ह्वाइट सी जोडेको छ ।) हुँदै लगेर ह्वाइट सीमा ठूला जहाजहरूमा खन्याउनु प¥यो । यो लामो समय प्रयोग हुन सक्दैन ।

अर्को भनेको प्रशान्त महासागरको सी अफ जापान हो । त्यहाँ त यति धेरै टाढा आउनुपर्छ कि रेलबाट बोकेर ल्याएर जहाजहरूमा खन्याउन आर्थिक रूपमा थेग्ने छैन । 

त्यसैले रुसले कि सेन्ट पिटर्सवर्गबाट बोक्छ कि कृष्ण सागर हुँदै बोक्छ । कृष्ण सागर हुँदै आवागमन गर्दा उसले टर्कीको स्तानबुल सहरमा रहेको स्टे«ट अफ बोस्फोरसबाट महासागरमा निस्कन्छ । त्यसैले टर्कीको शासन पनि रसियाको लागि निक्कै महत्व छ । त्यहाँबाट निस्केपछि जति पनि राष्ट्रहरू छन्, सबै अमेरिका समर्थक राष्ट्र छन् । उनीहरूले रुसी जहाजलाई ‘चोक’ गर्न सक्छन् । 

त्यो क्षेत्रमा रसियाको मित्रराष्ट्र सिरिया मात्र भएकाले रुसलाई असदको सरकार बचाउन आवश्यक थियो । 

(सुवेदीसँग रातोपाटीका लागि श्रवण उप्रेतीसँग गरिएको कुराकानी ।) 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

X