शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारु. ३७,५५,००,००,००० को मौनता !

बुधबार, १६ जेठ २०७५, १६ : १६
बुधबार, १६ जेठ २०७५

कल्पना गर्नुहोस्, तपाईं राती ९ बजे घरबाट निक्लनु भएको छ, किराना पसल बन्द हुन लागेको छ । घरमा चिनी सकिएको छ । विहान फिक्का चिया पिउनुपर्ने बाध्यताको यादले तपाईंको खुट्टामा यति शक्ति दिनेछ, त्यो पसल बन्द हुनभन्दा अघि तपाईं ‘फास्ट वाकिङ’ मा ओलम्पिक गोल्ड मेडल जित्न सक्नुहुनेछ ।

तर, त्यतिनैबेला एउटा महङ्गो स्पोर्टस् कार तीव्र गतिमा तपाईंको नजिकबाट, झण्डै तपाईंलाई ठक्कर मार्दै, हुँइकिन्छ । र, त्यो कारले तपाईंभन्दा पछि रहेको एउटा १५ वर्षको केटोलाई ठक्कर दिन्छ । एक सेकेण्डमा त्यो केटा तपाईंको आँखाकै अगाडि मर्छ ।

स्पोर्टस् कारबाट एक २० वर्षको युवा निक्लेर भाग्छ, तपाईंको आँखामा आँखा जुधाउँदै । एक पलका लागि तपाईंले उसको अनुहार प्रष्ट देख्नुहुन्छ । अब त्यो अनुहार तपाईंको आँखामा बसिसकेको हुन्छ । बधाई छ ! तपाईं अब त्यो अपराधको एक मात्र साक्षी बन्नुभयो ।

केही दिनपछि सबै गुत्थी खुल्दै जान्छ । जुन केटो मर्यो, ऊ कक्षा १० को बोर्ड परिक्षाको रिजल्टको प्रतिक्षा गरिरहेको हुन्छ । आज उसको रिजल्ट आउँछ, उसको ९२ प्रतिशत अंक आएको छ । उसको पिता रिक्सा चलाउँछन् । उता, जो युवक कार चलाइरहेका थिए, उनी एक ठूलो उद्योगका मालिकका छोरा हुन् । 

अब तपाईंलाई फोन आउन थाल्छ । एउटा फोन ठूलो कर्मचारीको, १०–१२ वकिल को, एउटा प्रहरी अधिकारीको र तपाईंको प्रिय स्थानीय नेताको । सबैको भनाई हुन्छ-बच्चाबाट गल्ती भयो, २० वर्षको मात्र हो, जेल गयो भने जीवन बर्बाद हुन्छ ।

एक दिन त्यही धनी युवक तपाईंको अफिस अगाडि आएर तपाईंको खुट्टा पक्डेर रुन थाल्छ । अब तपाईं निकै ठूलो दुविधामा पर्नुहुन्छ । तर हामी अझै पनि मूल मुद्दामा प्रवेश गरेकै छैनौँ । यो अब आउँछ ।

फेरि एक दिन तपाईंको घर, त्यो युवकका पिता आँखाभरि आँशु लिएर ब्यागमा ५० लाख रुपैयाँ लिएर आउँछन् । उनको यतिमात्र आग्रह हुन्छ, तपाईं अदालतमा केही पनि नबोल्नु । तपाईंलाई त्यतिबेला थाहा हुन्छ, तपाईंको ‘चुप्पी (मौनता)’ को मूल्य ५० लाख रुपैयाँ हो ।

जो अङ्ग्रेजीमा भन्छन्, ‘साइलेन्स इज गोल्ड’, किनभने तपाईंको मौनता सुनभन्दा पनि महङ्गो छ । अब यो महङ्गो हो कि महङ्गो पर्छ, त्यो तपाईं यो लेख सकिएपछि फैसला गर्नुहोला ।

२५ मेमा कोबरापोस्टले करीब–करीब सबै मिडिया हाउसमा गरेको स्टीङ अपरेशन जारी गर्यो । यस स्टीङ अपरेशनमा मिडियाका कयौँ ठूला घरनाहरुको नाम शामिल छ । उनीहरुमाथि आरोप छ, उनीहरु सबै ‘हिन्दुत्वको एजेन्डा’ अगाडि बढाउन पैसा लिएर जे पनि गर्न तयार छन् ।

तर, यो कुरा सही होइन, यो कुरा अर्धसत्य हो । बाँकी कुरा के हो, यहाँ थोरै तथ्याङ्क केलाउनु पर्नेछ ।

पछिल्लो वर्ष अक्टोबर, २०१७ सम्म मोदी सरकारले साढे तीन वर्षमा ३ हजार ७ सय ५५ करोड भारतीय रुपैयाँ अर्थात् ३७,५५,००,००,००० भारतीय रुपैयाँ सरकारले आफ्नो प्रचारमा खर्च गर्यो । फेरि एक पटक पढ्नुहोस् ३७,५५,००,००,००० रुपैयाँ मोदी सरकारले के कुरामा खर्च गर्यो ? आफ्नो प्रचारमा । यो पैसा कसकोमा गयो ? मिडियाकोमा । र, यो मिडियाको अधिकांश हिस्सा हुन् जो कोबरापोष्टको स्टिङमा परे ।

अब सत्यतालाई पूरा गरौँ । यो पैसा थियो, ‘चुप्पी’ का लागि । चुप बस, जे बोल्ने हो हामी बताइदिन्छौँ । एजेन्डा भाजपाको अफिसको भव्य बिल्डिङ र आरएसएसको नागपुरमा रहेको ‘नट सो भव्य’ विल्डिङमा तय हुनेछ ।

हिन्दू मुसलमानको एक्शन, ‘हिन्दु खतरामा छ’ को नाच, जेएनयूमाथि बहस, संसदका सासु–बुहारी, लव जिहादको धोका आदि आदि, पूरै देश टिभी न्यूजमा एकता कपूरको सीरियल हेरिरहेका हुन्छन् ।

भोकमारी, किसान आत्महत्या, बलात्कार, बेरोजगारी, एक्सपोर्ट–निर्माण–उत्पादकत्वको विनाश, महिला र दलित उत्पीडन आदि–आदि माथि ‘सियो खसेको सुनिने सन्नाटा’ मतलब ‘चुप्पी’ वा ‘मौनता’ !

३७,५५,००,००,००० भारुको ‘मौनता’

यो त भयो मौनता कति महङ्गो हुन्छ भनेर अब कुरा गरौँ कसरी महङ्गो पर्छ ? यो उनीहरुसँग हुन्छ जो चुप रहँदैनन् । यहाँ दुईजनाको नाम लिन्छु । (हुनतः धेरै छन्)

रवीश कुमार र राना अय्यूब । दुवै ‘र’ राशीका हुन् । दुवैको बोलेको कारण समस्यामा छन् । दुवैको नम्बर तपाईं सजिलै इन्टरनेटमा पाउनुसक्नुहुनेछ । तपाईं कुनै पनि समय, विश्वको कुनै पनि कुनाबाट यिनीहरुलाई गाली बक्न सक्नुहुनेछ । उनीहरुको परिवारको बारेमा जति सक्दो घटिया कुरा सोच्न सक्नुहुन्छ, त्यो या फोन गरेर या म्यासेज गरेर भन्न सक्नुहुनेछ ।

रानाको त एक पोर्न भिडियो पनि बजारमा छ । जहाँ उनको अनुहार कम्प्युटरको सहाराबाट मोर्फ गरेर राखिएको छ । दुवैलाई ज्यान मार्ने धम्की दिनु सामान्य कुरा भइसकेको छ । पुलिसको नाम मात्रको डर भएको कारण मानिसहरु आफ्नो अनुहार देखाएर भिडियो बनाएर धम्की दिन्छन् । राना महिला भएको कारण उनलाई बलात्कार गरेर मार्ने धम्की दिइन्छ ।

दुवैलाई हिन्दु विरोधी, पाक–समर्थक र राष्ट्रघाती जस्ता नामले बोलाइन्छ । दुवैले दर्जनौँ एफआइआर दर्ज गरेका छन् । तर, यहाँ भूल्न हुँदैन भाजपाको ११–१२ करोड सक्रिय सदस्य छन् । इज्जत र प्रतिष्ठा दुवैको सडकमा छ ।

यदी यिनीहरुले ३७,५५,००,००,००० करोड रुपैयाँबाट दुई–चार करोड लिएका थिए भने आज उनीहरुको इज्जत र प्रतिष्ठा ‘ऐश’ गरिरहेको हुन्थ्यो । सत्यताको चक्करमा उनीहरुको परिवारले पनि यो दिन देखिरहेका छन् । किनभने सरकार उनीहरुलाई किन्न सकिरहेको छैन । मानिसहरु प्रायः उनीहरुलाई फोन गरेर सोध्छन्, ‘तिमीहरुको रेट कति हो ?’ शायद ‘शरकार’ लाई लाग्दो होला, उनीहरुले कुनै कलरलाई आफ्नो रेट बताइदिनेछन् र हाम्रो काम सजिलो हुनेछ ।

यिनीहरु एक्ला होइनन् । सामाजिक सञ्जालका ती जानवर जो ‘प्रधानमन्त्री मोदीबाट फलोब्याक पाएर धन्य छन्’, उनीहरुलाई देशमा खुल्ला छुट छ । कोही पनि युवा या युवती उनीहरुको गालीबाट अछुत रहन सक्दैनन्, यदी उनीहरुले सरकारसँग प्रश्न गरे भने ।

बलात्कारको धम्की त सामान्य भइसक्यो । अब धम्कीमा परिवारको पनि परिवारको बलात्कार र हत्याको आउँछ । नरसंहार, जातीय संहार आजभोलि सामान्य भइसक्यो । यो हो, ‘मौनता तोड्नुको मूल्य’ ।

हो, मोनता तोड्नुको मूल्य, देशका लागि बोल्नुको मूल्य । उनीहरु चुकाइरहेका छन् जो ३७,५५,००,००,००० रुपैयाँबाट आफ्नो हिस्सा लिन अस्वीकार गरिरहेका छन् ।

तर, यो कुरा म यहाँ तपाईंहरु सबैलाई किन भनिरहेको छु ? आउनुहोस् मूल मुद्दामा प्रवेश गरौँ । तपाईंको मौनता कति महङ्गो छ ? या कति महङ्गो पर्ने वाला छ, म त्यो बताउने छु ।

भाजपाको ११–१२ करोड सदस्यलाई हटाउनुहोस्, उनीहरुको कुरा त बुझ्छु । उनीहरुको कुनै न कुनै स्वार्थ होला, तर, बाँकी १.२ अर्ब को के ? तपाईंहरुले किन मौनता साँधिरहनुभएको छ ?

जब तपाईंलाई थाहा छ कि यो सरकार या त तपाईंको मौनता किन्ने छ या तपाईंलाई चुप गराउनेछ, त तपाईं चुप किन हुनुहुन्छ ? या तपाईंले पनि पैसा पाइसक्नुभएको छ ?

मलाई थाहा छ यो दुवै कुरामा सत्यता छैन किनभने म एक्लो होइन । तपाईं यसकारणले चुप हुनुहुन्छ किनभने तपाईं घरबारमा व्यस्त हुनुहुन्छ । रोटीको लडाईं लडिरहनुभएको छ या आफ्नो कामसँग जुझिरहनुभएको छ ।

तर, यस्तो समय पनि आउँछ जब तपाईं बोल्नुपर्ने हुन्छ । मौनता तोड्नुपर्ने हुन्छ । जो झुठ बोलिरहेका हुन्छन्, उनीहरुको प्रतिरोध गर्नुपर्ने हुन्छ र जो सत्य बोलिरहेका हुन्छन्, उनीहरुको साथ दिनुपर्ने हुन्छ ।
अहिले त्यही समय हो, उनीहरुको प्रतिरोध गर्ने जसले करोडौँ रुपैयाँमा हाम्रो विश्वास बेचे । कोबरापोस्टले यो प्रमाणित गरेको छ, यो ‘चुप्पी’ मिडिया होइन, ‘पप्पी’ मिडिया हो, जो सरकारबाट फ्याँकेको टुक्रामा पालिरहेको छ ।

र, अब समय हो उनीहरुको साथ दिने जो आज पनि सत्य बोलिरहेका छन् र प्रश्न गरिरहेका छन् । अब समय हो ‘चुप्पी’ तोड्ने किनभने यो मौनताले तपाईं हामीलाई कुनै तत्काल असर नगर्ला तर हाम्रो आगामी पुस्तालाई निकै महङ्गो पर्ने वाला छ ।

हरेक कुराका लागि सडकमा निक्लन जरुरी हुँदैन, तपाईंको हातमा एउटा फोन छ, जुन सामाजिक सञ्जालसँग जोडिएको छ ।

त्यहाँ लेख्नुहोस् र आफ्नो मौनता तोड्नुहोस् ।

हुनसक्छ तपाईं मोदी सरकारको समर्थक हुनुहुन्छ, तर सरकार बदले–नबदले पनि उसको नजरिया बदल्न जरुरी हुन्छ ।

यही तपाईं बोल्नुभएन भने देश सँधैको लागि बदलिनेछ ।

यो विश्वमा सँधै नराम्रो मान्छे थिए र रहनेछन् ।

तर, नराम्रो कुरा त्यतिबेला मात्र फैलिएको छ, जब राम्रो मान्छे मौन बासे ।

त्यसैले आफ्नो मौनता तोड्नुहोस् किनभने एउटा अवाजले कयौँ कुकर्म रोक्न सक्छ ।

किनभने स्वतन्त्रता तपाईंको आवाजमा बस्छ र आवाजसँग बाहिर आउँछ ।

स्वतन्त्रतालाई तपाईंको शब्द दिएर आजाद गरिदिनुहोस् र फेरि एक पटक कसरी ठूला–ठूला दिग्गज रुमालले आफ्नो निधारको पसिना पुछिरहेको हुनेछन्, त्यो हेर्न पाउनुहुनेछ ।

‘तिम्रो हाकिम, तिम्रो दुःख कहाँ बुझ्छ, मात्र मौनतालाई तिम्रो, ऊ ‘हो’ भन्ने बुझ्छ ।’

 यो द वायरबाट अनुवाद गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दाराब फारुकी
दाराब फारुकी

दाराब फारुकी पटकथा लेखक हुन् । उनले डेढ इश्कियाको पटकथा लेखेका हुन् ।
 

लेखकबाट थप