शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गणतन्त्रको कम्पनले किन तर्सिन्छ काङ्ग्रेस ?

बुधबार, १६ जेठ २०७५, १२ : ११
बुधबार, १६ जेठ २०७५

पुष्प न्यौपाने
दिन प्रतिदिन समय प्रतिकूल बन्दै जानु, पार्टीमा धार लगाउन नसक्नु, सत्तापक्षको अबिराम पेलाइ, आफ्नो अस्तव्यस्त र असङ्गठित जमात चुस्त र सुदृढ बनाउन नसक्नु आदिले पिरोलिएको काङ्ग्रेसलाई सत्तारुढ नेतृत्वको विस्फोटक प्रहारले निकै चिन्तित बनाएको छ । दिनभरी प्रधानमन्त्री ओलीको कटाक्षमाथि चिया पसलमा खेद व्यक्त गर्नु र राति सपनामा गणतन्त्रको घोडाबाट लडेको धमिलो सम्झनाले बिहान उठ्दा तर्सिनु काङ्ग्रेसको दिनाचर्या बन्दै गएको छ । काङ्ग्रेसले आजभोलि आफैले जारी गरेको संवैधानिक व्यवस्था गणतन्त्र र आन्दोलनका सहयात्री केपी–प्रचण्डलाई गम्भीर शङ्का गर्न थालेको छ ।

कम्युनिस्टहरूको नेतृत्वमा अगाडि बढ्न थालेको राज्यसंयन्त्र शोभियत गणतन्त्र वा जनवादी गणतन्त्र चीन जस्तो त बन्दैन भन्ने त्रासको कम्पनले काङ्ग्रेस वृत्तमा हलचल छ । प्र.म. केपीलाई रब्सपियरको आँखाले हेर्न थाल्नुले काङ्ग्रेस सत्तारुढ कम्युनिस्ट पार्टीसँग अत्यन्त त्रसित र भयभीत छ भन्ने अनुमान गर्न कठिन छैन । तर रब्सपियरको चर्चा कम्युनिस्ट विरुद्ध प्रयोग गरिएको कृत्रिम अनुभूति हो वा वास्तविक अनुभूति त्यसको सीमारेखा कोर्ने तय गर्न अझै एकदशक कुर्नुपर्ने छ । गणतन्त्रको एकदशक पूरा भइसकेपछि नेपालको राजनीति धु्रवीकरणतर्फ अघि बढ्दा मुलुक स्थायित्व र समृद्धिको बाटोमा अघि बढ्ने आशा त गरिएको छ तर निकै लामो इतिहास र आन्दोलनको लामो सहयात्री काङ्ग्रेस वामपन्थी सरकारको पर्फर्मेन्स र आगामी निर्वाचनको सामना गर्न सक्ला वा नसक्ला भन्ने जिज्ञासा बढेका छन् ।

गणतन्त्रको पहलकर्ता, १२ बँुदे समझदारी र विस्तृत शान्ति सम्झौताका मुख्य हस्ताक्षरकर्ता पुष्पकमल दाहाल प्रचण्ड घाइते, बेपत्ता, योद्धालगायत गणतन्त्रका लागि सशस्त्र सङ्घर्ष गरेका योद्धाहरूसहित सिलिगुढी वार्ता हुँदै रोल्पा समझदारीदेखि गएको चुनावी कार्यगत एकतासम्म आइपुगेको नेपाली समाजको प्रगतिशील रूपान्तरणका लागि मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको तत्कालीन नेकपा एमाले एउटै पार्टी भइसकेपछि कतै गणतन्त्रको सम्पूर्ण जस नेपाल कम्युनिस्ट पार्टीलाई जान्छ कि भन्ने शङ्का काङ्ग्रेसलाई छ । काङ्ग्रेसकै नेतृत्वमा जारी गरिएको संविधानको प्रस्तावनामा समाजवादलाई अबको राजनीतिक व्यवस्थाका रूपमा राखेर पछि आफ्नो चुनावी घोषणापत्रमा समाजवाद अबको राजनीतिक बाटो हो भन्ने विषयलाई वाम दलले उल्लेख गरेपछि काङ्ग्रेस केही झस्किएको थियो । अहिलेको नेपाल कम्युनिस्ट पार्टीले समाजवादका लागि बहसको ढोका खोलेर त्यसको आधार र उपरिसंरचनाको अध्ययन गर्न थालेपछि नेपाली काङ्ग्रेसले गणतन्त्र हुँदै संविधानमै समाजवाद स्वीकार गर्नु कहीँ आफ्नै लागि समस्या निम्त्याइएको त होइन भन्ने सोच्न थालेको छ । बढ्दो वाम वर्चस्वले अबको राजनीतिमा कतै काङ्ग्रेसको अस्तित्व सङ्कटमा त पर्दैछैन भन्ने त्रासका धर्साहरू बाक्लिँदै गएको काङ्ग्रेस नेताहरूको अनुभूति छ ।  

उसले सत्तारुढ घटकको प्रतिवाद र आलोचनात्मक मोर्चा निर्माण गर्ने हैसियत दिन प्रतिदिन कतै गुमाउँदै गएको त होइन भन्ने उसका समर्थकहरूको चिन्ता छ । केपी–प्रचण्ड गठबन्धन एउटै पार्टीमा रूपान्तरण भएपछि मनोवैज्ञानिक रूपमै थला परेको काङ्ग्रेसलाई प्रधानमन्त्रीको आलोचनाले थप शिथिल बनाउँदै लगेको छ । गएको चुनावदेखि नै वाम गठबन्धनको लखेटाइमा परेको काङ्ग्रेस अहिलेसम्म आउँदा थला परिसकेको चर्चा सानेपा मुख्यालयसम्म स्वीकार गरिएको छ ।

प्रम ओलीको अबिराम प्रहार
पार्टी एकताको सुनिश्चिततासहित चुनावी कार्यगत एकताको घोषणापत्र जारी भएसँगै तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली काङ्ग्रेसमाथि आक्रामक रूपमा खनिए । उनले काङ्ग्रेसमाथि आफ्नो राजनीतिक इतिहासको सर्वाधिक शक्तिशाली प्रहार एउटै शब्दमा गरे । यदि बीपी बाँचेको भए यतिबेला नेकपा एमालेमा प्रवेश गर्नुुहुन्थ्यो । निकै दुःखजिलो गरेर बनाएको पार्टी अहिलेका नेताहरूले विकृत बनाएको आलोचनासहित बीपी एमालेमा प्रवेश गर्नुहुन्थ्यो भन्ने ओलीको जिकिरले काङ्ग्रेसलाई स्वब्ध बनायो । तर त्यसको खरो प्रतिवाद गर्नसक्ने तार्किक र वैचारिक नेतृत्व नहुँदा काङ्ग्रेस रक्षात्मक अवस्थामा पुग्यो ।  

निर्वाचनकै दौरान ओलीले काङ्ग्रेसमाथि अर्को कठोर प्रहार गरे । उनले आफ्नो भाषणमा भने नेपाली काङ्ग्रेस दयनीय हालतमा छ । यस्तो जीर्ण काङ्ग्रेसप्रति मेरो सहानुभूति रहन्छ । ओलीको यस भाषण निर्वाचन आयोगसम्म चर्चामा रह्यो । काङ्ग्रेसप्रतिको उनको क्रुर ठट्टाले काङ्ग्रेसीजनहरूले आलोचना गर्न थाले । त्यसको जवाफमा ओलीले अर्को एउटा भाषणमा भने मैले काङ्ग्रेसको अधोगतिमा खुशियाली मनाएको छैन । यतिबेला काङ्ग्रेस दुःखमा छ, उसको दुःखप्रति मैले सहानुभूति प्रकट गर्नु राम्रो कुरा हो । मैले काङ्ग्रेस दुःखमा पर्नु ठीक हो भनेर बोलेको छैन ।

तत्कालीन प्रधानमन्त्री एवम् काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरा पुगेका तत्कालीन एमाले अध्यक्ष ओलीले सभालाई सम्बोधनका क्रममा भने देउवाजीलाई ज्योतिषले प्रधानमन्त्री हुने कुरा पक्का गरिसके । हामीलाई ज्योतिषबाट हुँदैन, तपाईंहरूको भोट चाहिन्छ भोट हामीलाई दिनुहोला उहाँको प्रधानमन्त्रीको सुनिश्चितताका लागि ज्योतिषजीहरू छँदैछन् । ओलीको त्यही भाषणले डडेल्धुरामा देउवा हार्ने सम्भावना थिएन तर त्यो देशव्यापी चर्चाको विषय बन्यो । सभामा ताली र हाँसोको रौनक अन्तिमसम्म पनि त्यही प्रसङ्गमै केन्द्रित रह्यो । निर्वाचन परिणामपछि उनले प्रायजसो काङ्ग्रेसमाथि अनवरत प्रहार जारी राखेका छन् । ओलीको लगातारको प्रहारले काङ्ग्रेस दिन प्रतिदिन रक्षात्मक बन्दै छ । ओलीका अहिलेसम्मका सबै आलोचनाको साँवा ब्याज असुल्न सकिने विश्वाससहित काङ्ग्रेस नेता गगन थापाले संसदमा प्रम ओलीको भारत भ्रमणको विषयलाई व्यवस्थित आलोचनाको प्रयास गरे । उनले मोदीसामु लम्पसार पर्दा घुँडामा भ्वङ नै परेकी परेन भनेर हामीले सोध्न मिल्ने कि नमिल्ने प्रधानमन्त्रीज्यु भनेर प्रश्न गरे । प्रतिपक्षको शानदार जवाफी हमलाजस्तो देखिए पनि ओलीले अर्को एउटा कार्यक्रममार्फत गगन थापाको प्रश्नलाई सहजतापूर्वक खण्डन गरे । ओलीले भने– ‘मैले संविधान संशोधन गर्न सकिनँ, हजुर अब संशोधन गरिहाल्ने छु भनेर विन्ति विसाएको छैन । पछिल्ला दिनहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका सरकारले गरेको स्वागत सत्कार र भारतीय कमान्डोलाई देखाएर काङ्ग्रेसले मोदीको राष्ट्रवादको लोकप्रियतालाई न्यूनीकरण गर्न खोजे पनि काङ्ग्रेसले त्यसमा सफलताभन्दा बढी घाटा व्यहोरेको अनुभूति गर्न सकिन्छ ।

त्यसलगत्तै प्रधानमन्त्री ओलीले संसदमा नेपाली काङ्ग्रेसलाई प्रतिपक्षी नभई सहयोगी दल भनेपछि काङ्ग्रेस कार्यकर्ता र उसप्रति झुकाव राख्ने बुद्धिजीवीहरू नराम्ररी तिल्मिलाएका छन् । उनीहरूले सदनमा काङ्ग्रेसको उपस्थितिलाई मजबुत बनाउन कुनै बलियो एजेन्डा भेटाउन सकेका छैनन् । जसको उठान गर्दा आम नागरिकलाई विश्वस लागोस् । सहयोगी दल भनेको प्रति काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलादेखि डा. मिनेन्द्र रिजालसम्मले आपत्ति प्रकट गरेका छन् । त्यस आपत्तिमा तर्कसङ्गत रूपमा आफ्नो पार्टीको रक्षालाई ख्याल गर्नुको साटो बरु वामपन्थी भएको छायाँ देखिन्छ ।  ओलीले नेपाली काङ्ग्रेसलाई सहयोगी दल भन्नुको अर्थ दुई तिहाइ नजिकको सरकारको गौरवपूर्ण दम्भ र उसलाई क्रमशः डोमिनेटको सिरिजमै राखिरहने सङ्केतको रूपमा पनि बुझ्न सकिन्छ । नेपाली काङ्ग्रेससँग विगतमा पनि परिवर्तनपछिका निम्छरा इतिहासहरू छन् । २००७ सालमा ल्याएको प्रजातन्त्रको श्रेय लिएर २०१५ सालमा दुई तिहाइ बहुमत पाएको काङ्ग्रेसले दुई तिहाइको सरकार दुई वर्ष टिकाउन सकेन ।

दुई–तिहाइ सरकारले बरु तत्कालीन प्रधानमन्त्री बीपी खोरमा पुगे र पञ्चायत सुरु भयो । २०३६ सालमा पनि देशव्यापी रूपमा परिवर्तनको जागरणका बाबजुद काङ्ग्रेसले बहुमत हासिल गर्न सकेन र सम्मानजनक मतलाई पनि सदुपयोग गर्न सकेन । २०४६ को परिवर्तनपछि गणेशमानलाई लौह पुरुषभन्दै थाङ्नामा सुताइयो । कृष्णप्रसाद भट्टराईलाई सादगी नेता भन्दै पावर एक्सरसाइज र कार्यकारी भूमिकाबाट अलग गर्न भैंसेपाटीमा एउटा कटेरो बनाइदिएर अघोषित नजरबन्द जस्तै राखियो । रामहरी जोशीहरू कहिल्यै चर्चामा आएनन्, भीमबहादुर तामाङलाई उपयोगवादको शिकार बनाइयो । सत्ता र तडकभडकपूर्ण जमातले २०४८ को निर्वाचनपछि मुलुकमा निजीकरण, उदारीकरण, कमिसन र भ्रष्टाचारले उधुम मच्चायो । २०४८ को पूर्ण बहुमतको सरकार काङ्ग्रेसको दोस्रो अवसर थियो । तर त्यसलाई राज्य संस्थागत र जनक्षीय काममा जोड्नुको साँटो अहङ्कारका रूपमा प्रदर्शन गरियो ।

अहङ्कारकै भरमा दुई तिहाइको सपना देखेर २०५१ मा मध्यावधिको घोषणा गरियो । त्यसयता काङ्ग्रेस विस्तारै कमजोर बन्दै आयो । गुपचुप दरबार हत्यकाण्डपछि तारानाथ रानाभाटको राजनीति समाप्त गरियो र क्रमशः सक्रिय शाही शासनसँगै आफ्नो नेतृत्वमा ल्याएको भनिएको बहुदलीय व्यवस्था, संसदीय अभ्यास र संवैधानिक राजतन्त्रले कोइराला परिवार र काङ्ग्रेसका निर्विकल्प टावर मानिने गिरिजाप्रसाद कोइरालालाई नै कष्टडी पु¥यायो ।

त्यसपछि काङ्ग्रेसले दरबारलाई छोडेर कम्युनिस्टहरूसँग साझेदारी ग¥यो । नचाहँदा नचाहँदै काङ्ग्रेस गणतन्त्रसम्म आइपुग्यो । सङ्घीयता, धर्म निरपेक्षता, संविधानसभा र गणतन्त्रको कोर्स पूरा भएर संविधान जारी भएपछि मुलुक स्थायित्वको दिशामा अघि बढ्दा चुनावी परिणामले काङ्ग्रेसलाई निकै कमजोर भूमिकामा सीमित गरिदियो  । प्रजातन्त्र स्थापनापछि महेन्द्रको शासन व्यहोर्नु परेझैँ कतै गणतन्त्र स्थापनापछि कम्युनिस्टहरूको शासन व्यहोर्नुपर्ने त होइन भन्ने भयले काङ्ग्रेसलाई निकै सताएको छ । यद्यपि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले काङ्ग्रेसलाई नआत्तिन सुझाव दिएको छ । आजको यस गणतन्त्र दिवसमा काङ्ग्रेस सायद पछिल्लो राजनीतिक कोर्सको समीक्षा र आगामी राजनीतिक कोर्सको बहसमा हुनुपर्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप