शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटीको २०० सदस्यमा प्रचण्डले आफ्ना पठाए कि सबैका ? (सूचिसहित)

बुधबार, १६ जेठ २०७५, १० : १३
बुधबार, १६ जेठ २०७५

घटना १ ; प्रचण्डको भाषण
आइतबार एक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले नवगठित पार्टीको केन्द्रीय कमिटीमा आफूलाई समर्थन गर्नेभन्दा आलोचना गर्ने बढी भएको बताए । प्रचण्डले भनेका थिए, ‘मलाई आलोचना गर्ने बढी केन्द्रीय सदस्य परेका छन् । मलाई समर्थन गर्ने धेरै छैनन् ।’

प्रचण्डले अरू पनि भनेका थिए, ‘धेरै साथीहरू सीसीएम भएका छैनन् । नेतृत्वले सही काम गर्दा गर्दै पनि समावेश गर्न सकिएन । सही समयमा सही निर्णयले मात्रै एकता सम्भव भएको हो । को सीसीएम भयो भन्ने कुरा सानो हो । एकता ठूलो हो । सीसीएम भइएन भन्ने दुःख मनाउ गर्नु हुँदैन । पार्टी एकताका बेला हरेक प्रवृत्ति समावेश गर्नुपर्ने भएकाले चाहेर पनि छुटाउनै नमिल्ने २०–२५ जना छुटेका छन् ।’

तर कमिटीमा आफ्नो आलोचना गर्नेको सङ्ख्या बढी भए पनि कुनै आपत्ति नभएको प्रचण्डको भनाइ थियो । प्रचण्ड कृष्णसेन स्मृति दिवसको कार्यक्रममा बोलिरहँदा यस्तो बताएका थिए । प्रचण्डले केपी ओलीलाई चार सयको व्यवस्थापनको चिन्ता भएको र आफूरलाई चार हजार (तत्कालीन माओवादीका चार हजार केन्द्रीय सदस्य) को व्यवस्थापनको चिन्ता भएको बताएका थिए ।

घटना २ : तत्कालीन पोलिटब्युरो सदस्यको सामूहिक असन्तुष्टि
तत्कालीन माओवादीका ८७ जना पोलिटब्युरो सदस्यले एकीकृत पार्टीको केन्द्रीय कमिटीप्रति फरकमत राख्दै प्रचण्डलाई फरकमत बुझाए । ८७ जना केन्द्रीय सदस्यले बुझाएको फरकमतको ३ नम्बर बुँदामा छ, ‘दुई पार्टीबीचको एकता प्रक्रियामा तत्कालीन माओवादी केन्द्रका तर्फबाट केन्द्रीय समिति सदस्यहरू छनौट गर्दाको विधि र प्रक्रियाप्रति हाम्रो गम्भीर असहमति रहेको कुरा दर्ज गर्छाैँ । महिला, दलित, मधेसी, मुस्लिम, आदिवासी, जनजाति, मजदुर, सहिद तथा बेपत्ता परिवार एवम् घाइते तथा अपाङ्ग योद्धाहरूको समुचित प्रतिनिधित्व नगाराइएको, जिल्लागत सन्तुलन नमिलाइएको, पूर्णकालीन, सक्रिय र निरन्तर खट्ने श्रेष्ठ कमरेडहरूलाई छुट्याइएकाले हाम्रो गम्भीर असहमति रहेको छ ।’

घटना ३ : केन्द्रीय सदस्यकै फेसबुक स्टाटस्
नेकपाको केन्द्रीय कमिटी सदस्यमा अटाएका तत्कालीन माओवादीका सचिवालय सदस्य डोरप्रसाद उपाध्याय (निर्मल) ले पूर्णकालीन माओवादीलाई प्रचण्ड आफैले केन्द्रीय कमिटीमा समेट्न ध्यान नदिएको सामाजिक सञ्जालमार्फत व्यक्त गरे । उनले फेसबुकमा लेखे ‘भर्खर उडान भरेको जेट विमानका २०० यात्रुमध्ये लगभग ६५ प्रतिशत यात्रु ६५ मा र ७३ मा जोडिएका विशेष कम्पनीका यात्रुहरू परेछन् । पुरानो कम्पनीका कामदार भने कम्पनी मालिक आफैले ध्यान नदिँदा र आफ्नै ससाना पेटी ठेकेदारहरूका कारण जमिनमा छुट्न पुगेछन् । यो गल्तीले विमानमा कुनै खराबी आउँछ कि आउँदैन त्यो भने हेर्न बाँकी छ । जमिनको के कुरा ककपिटमा पनि त्यस्तै रडाको पो छ त ।’
 
माथिका यी तीन घटना तत्कालीन एमाले र माओवादीबीच जेठ ३ मा एकता भएपछि विकसित हुन्, जसले तत्कालीन माओवादीभित्रको अन्तरविरोध सतहमा ल्याएका छन् । नेकपाका अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटीमा ल्याउनुपर्ने २०–२५ जना चाहेरै पनि छुटेको बताउनु, ८७ जना पोलिटब्युरो सदस्यले केन्द्रीय कमिटी निर्माणमा लिखित फरकमत राख्नु र केन्द्रीय सदस्य उपाध्यायले व्याङ्गात्मक शैलीमा स्टाटस लेख्नुले तत्कालीन माओवादीका तर्फबाट नेकपाका लागि सिफारिस भएकाहरूको नाममा विवाद छ भन्ने सहज बुझाउँछ ।

खास गरेर विवाद, लामो समयदेखि प्रचण्डसँगै रहेर काम गरेकाले भन्दा पार्टी फुटाउँदै फेरि पुरानै घर फर्केकाहरूले धेरै मौका पाएको भन्नेमा देखिन्छ । एमालेसँगको एकतामा तत्कालीन माओवादीको भागमा २०० केन्द्रीय सदस्य परेका थिए । केन्द्रीय कमिटीमा आफू नपरेको भन्दै माओवादीभित्र असन्तुष्टि देखिएको हो । प्रचण्डले ‘पद पाए पनि नपाए पनि आफ्ना त आफ्नै हुन्छन्’ भनेर छुटेकाहरूलाई सन्तुष्ट पार्न खोजेका छन् ।

मूलधारको माओवादीबाट विभिन्न समयमा नेताहरू अलग भएका थिए । शीर्ष नेता फेरि मूलघरमै नफर्के पनि उनीहरूसँगै गएका केही नेता चाहिँ फर्केका थिए । उनीहरूमध्ये धेरैजसो अहिले नेकपाको केन्द्रीय कमिटीमा छन् । नेकपामा तत्कालीन माओवादीबाट सिफारिस भएका २ सय जनामध्ये तत्कालीन माओवादीमा रहँदा ती नेता कहाँबाट आएका थिए बहस पनि छ ।

माओवादीका तर्फबाट नेकपाको केन्द्रीय कमिटीमा परेका २०० जना नेता छुट्टाउनै गाह्रो देखियो । हामीले ६ जना केन्द्रीय सदस्यसँग सूची लिएर कुरा गर्दासमेत उनीहरूले २०० जनाको नाम छुट्टाउन सकेनन् । अर्थात् तत्कालीन माओवादीका तर्फबाट नेकपाको २०० जनामा परेकाहरूमध्ये को, कहाँबाट र कसरी आए भन्ने नै अन्योल देखियो ।

तत्कालीन माओवादीको विभिन्न नेताहरूसँग कुराकानी गर्दा यस्तो देखियो अङ्कगणित ।

स्थायी कमिटीको अवस्था (तत्कालीन माओवादीबाट स्थायी कमिटीमा १९ सदस्य)
१९ सदस्यीय स्थायी कमिटीमा प्रचण्डसँगै रहेका नेतामा टोपबहादुर रायमाझी, वर्षमान पुन, जनार्दन शर्मा, हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, लेखराज भट्ट र चक्रपाणि खनाल छन् ।

त्यसबाहेक नारायणकाजी समूहबाट आएका गिरिराजमणि पोखरेल र लिलामणि पोखरेल छन् ।

बादलबाहेक उनीसँगै आएका देवप्रसाद गुरुङ र पम्फा भुसाल पनि स्थायी समितिमा परेकी छन् ।

यसबाहेक अन्यबाट एकीकृत हुन आएका मात्रिका यादव, देवेन्द्र पौडेल, मणि थापा र गणेश शाहले पनि स्थायी समिति सुरक्षित गरेका छन् । शाहबाहेक अन्य नेता चाहिँ पहिला मूलधारको माओवादी छाडेर पछि पार्टी एकतामा आएका थिए ।

तत्कालीन माओवादीको तर्फबाट नेकपाको केन्द्रीय सदस्यमा परेका नेताहरूको पृष्ठभूमि चाहिँ यस्तो देखिन्छ । (यो तत्कालीन माओवादीका ६ जना नेताहरूसँग गरिएको कुराकानीमा आधारित हिसाब हो, अन्तिम र आधिकारिक सूची चाहिँ होइन ।)

प्रचण्डसँगै रहेका नेताहरूमा
पुष्पकमल दाहाल प्रचण्ड, अग्निप्रसाद सापकोटा, अजय शङ्कर नायक, आशा कोइराला खनाल, ओनसरी घर्ती, ओम ढुङ्गाना, कमला रोका, कालीबहादुर मल्ल, काशीनाथ अधिकारी, केशव नेपाल, कृष्ण केसी, कृष्ण धिताल, कृष्णप्रसाद सापकोटा, कृष्णध्वज खड्का, खगराज भट्ट, गजेन्द्र महत, गणेशमान पुन, वसन्त शर्मा, गोपी अछामी, गङ्गा कार्की, चक्रपाणि खनाल, चूडामणि खड्का, जगप्रसाद शर्मा, जनार्दन शर्मा, जोखबहादुर महरा, जोगकुमार यादव, झक्कुप्रसाद सुवेदी, टेकबहादुर बस्नेत, टङ्क आम्बोहाङ, डोरप्रसाद उपाध्याय, तेजबहादुर ओली, दधिराम न्यौपाने, दलजित श्रीपाइली, दिलिप महर्जन, दीनानाथ शर्मा, दीपेन्द्र पुन, दुर्गाप्रसाद चापागाईं, धर्मशीला चापागाईं, नारायण दाहाल, नारायणी शर्मा, निर्मल आचार्य, पूर्णकुमारी सुवेदी, पुष्पविक्रम मल्ल, नरबहादुर विष्ट, प्रभु साह, वर्षमान पुन, विना मगर, विन्दमान विष्ट, विमला सुवेदी, वीरमान चौधरी, बोधमाया यादव, भरतप्रसाद साह महेश्वर गहतराज महेन्द्रबहादुर शाही, माधव सापकोटा, युवराज चौलागार्इं, युवराज दुलाल, राजकुमार शर्मा, राजकाजी गुरुङ, राजन दाहाल, रामप्रसाद सापकोटा, रेखा शर्मा, रेणु चन्द, रेणु दाहाल, लेखराज भट्ट, विष्णुप्रसाद चौधरी, सन्तकुमार थारु, सन्तु दराई, सत्या पहाडी, समिता कार्की, सुकबहादुर रोका, सुदन राई, सुरेश कुमार राई, सुरेन्द्र कार्की, शक्तिबहादुर बस्नेत, शालिकराम जम्मरकट्टेल, शिवकुमार मण्डल, सुशीला सिंखडा, श्याम श्रेष्ठ, हरि दाहाल, हरिबोल गजुरेल, हरिराज अधिकारी, हितबहादुर तामाङ, हितराज पाण्डे, हिमाल शर्मा, हेमराज भण्डारी, त्रिलोचन भट्ट, टोपबहादुर रायमाझी, देवी खड्का, मानबहादुर बुढा, राजबहादुर बुढा, तारामान स्वार,अमर तमुलगायतका छन् ।

नारायणकाजीसँगै आएका नेताहरूमा
नारायणकाजी श्रेष्ठ प्रकाश, अञ्जना विसङ्खे, कमानसिंह लामा, गिरिराजमणि पोखरेल, गङ्गा बेलबासे, जीवन गौतम, डीआर पौडेल, धर्मनाथ साह, निर्मल बराल, प्रकाशहरि पोख्रेल, प्रल्हाद बुढाथोकी, राजु खड्का, लिलामणि पोखरेल, विश्वनाथ साह, सीता पोखरेल, शशी श्रेष्ठ, हरिकुल्ला खाँ,दुर्गाजयन्ती राईलगायतका छन् ।

बादलसँगै आएका नेताहरूमा
रामबहादुर थापा बादल, अमृता थापमागर, इन्द्र आङ्बो, इन्द्रजीत थारु, किसन शर्मा, कुमारी मोक्तान, कुलप्रसाद केसी, डाचाराज वाग्ले, तारा घर्ती, तिलक परियार, दामा शर्मा, दावा लामा, दिलिप प्रजापति, देवीलाल चौधरी, देवप्रसाद गुरुङ, नरेश भण्डारी, नेपबहादुर चौधरी, पम्फा भुसाल, परशुराम रम्तेल, पार्वती थापा, मनोज थापा, महादेव यादव, महेश्वर दाहाल, मायाप्रसाद शर्मा, यशोदा सुवेदी, युवराज भट्टराई, रामदीप आचार्य, रूपा चौधरी, लक्ष्मण पन्त, लक्ष्मीदत्त जोशी, लेखनाथ न्यौपाने, विजय भण्डारी, सावित्री कुमार काफ्ले, सुरेस आलेमगर, सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, हरिबहादुर चुमान, हितमान शाक्य, हेमराज शेर्मा ‘डाइमन्ड’, ज्ञानु बस्नेत, नारायण शर्मा पौडेल, महेन्द्र पासवान, जयपुरी घर्तीलगायतका छन् ।

अन्य (वैद्य, बाबुराम–विप्लव, मणि, गणेश, मात्रिका र अन्यबाट आएका)
कुमार पौडेल, खिमलाल देवकोटा, गणेश साह, जगत यादव, झकबहादुर मल्ल, टेबहादुर बलम्पाखी, देवेन्द्र पौडेल, परशुराम तामाङ, पासाङ शेर्पा, बलावती शर्मा, बसन्त घर्ती, मणि थापा, मातृका यादव, मुक्ति प्रधान, राजेन्द्र कार्की, रामकुमार शर्मा, रामचन्द्र झा, वामदेव क्षेत्री, सुनील मानन्धर, शरदसिंह भण्डारी, सुशीला सिरपाइली, रामेश्वर राय यादव छन् । त्यसैगरी विभिन्न समयमा एकतमा आएका डिलाराम आचार्य, उर्मिला अर्याल, गिरीधारीलाल न्यौपाने, धर्मदत्त देवकोटा, विषमलाल अधिकारी दनुवार, लिलाबहादुर थापा, दिनेश पन्थी,नविन रोका, गोपाल ठाकुर, अजम्बर राई, देवराज रेग्मीपनि नेकपाका केन्द्रीय कमिटीमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप