शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अब नेकपा र सरकारसँग काङ्ग्रेस एक्लै लड्छ कि विपक्षीहरूको मोर्चा बनाउँछ ?

सोमबार, १४ जेठ २०७५, १३ : १३
सोमबार, १४ जेठ २०७५

काठमाडौं– वाम गठबन्धनपछि चुनावमा ‘धक्का’ महसुस गरेको काङ्ग्रेस दबाबमा थियो नै ।

चुनाव हारको जिम्मा कसले लिने भनेर काङ्ग्रेसभित्र महिनौँसम्म भएको बहस र विवाद त्यसैको उपज थियो ।

अझ तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकतापछि काङ्ग्रेस ‘दबाब’सँगै ‘रक्षात्मक’ अवस्थामा पुगेको छ । प्रदेश र केन्द्र सरकारमा काङ्ग्रेस कही छैन । जहाँत्यहीँ ऊ विपक्षीको बेन्चमा छ ।

सरकारले गर्ने गतिविधिको विरोध गर्नुबाहेक प्रतिपक्षको भूमिकामा रहेर काङ्ग्रेसले खासै केही गर्न सकिरहेको छैन । कहिलेकाहीँ काङ्ग्रेसका भातृ संस्था सडकमा पनि देखिन्छन् ।

कम्युनिस्टहरूले ‘अधिनायकवाद’ ल्याउन थाले भनेर काङ्ग्रेस नेताहरूले चर्को भाषण गरिरहेका छन् । तर काङ्ग्रेसले त्यसविरुद्ध लड्ने कुनै ठोस योजना बनाएको छैन । त्यसैले ‘अधिनायकवाद’ को हल्ला काङ्ग्रेसको प्रचार रणनीतिको हिस्सा हो कि भन्ने आशङ्कालाई बल पु¥याएको छ ।

काङ्ग्रेस यतिसम्म मस्त छ कि उसले सबै विपक्षीलाई आफ्नो नेतृत्वको मोर्चा बनाउनेतिर ध्यान दिएको छैन । तर नेताहरूले ‘अधिनायकवाद’ विरुद्ध लड्ने बताइरहेका छन् ।

चुनावमा काङ्ग्रेससँग सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पाटी पनि अहिले काङ्ग्रेससँग छैनन् ।

हिजोसम्म फोरम र राजपा पनि संसदमा प्रतिपक्षकै बेन्चमा बस्थे । 

तर काङ्ग्रेससँग उनीहरूको ‘दोस्ती’ बनेको थिएन्।

काङ्ग्रेसले राजपा र फोरम नेपालसँग गठबन्धन बनाएर संसदमा बलियो गठबन्धन बनाउने विकल्प चाहिँ खुल्लै थियो । 

बरु सत्तारुढ दलले फोरम र राजपालाई बेला–बेला सरकारमा लैजाने अफर दिएर आफूतिरै राख्न खोेजेका थिए ।

जेठ १४ गतेबाट राजनीतिमा नयाँ मोड आयो । फोरम र नेकपावीच दुई बुँदे सहमति भयो । अव फोरम सरकारमा सहभागी हुनेछ, अर्थात नेकपा नेतृत्वको सरकार थप शक्तिशाली भयो । अव उसलाई संविधान संसोधनसहितका अन्य कामका लागि दुई तिहाईं बहुमत पुगिसकेको छ । 

शक्तिशाली वामपन्थी पार्टी र सरकारसँग काङ्ग्रेस एक्लै लड्छ कि उसले पनि सबै विपक्षीलाई एक बनाएर मोर्चा निर्माण गर्छ ?

नेता बालकृष्ण खाँड भन्छन्, ‘हाललाई गठबन्धन बनाउने कुनै छलफल छैन, यद्यपि प्रतिपक्षका लागि सहयात्री दलको साथमा एउटा गठबन्धन बनाउनुपर्ने सोच आएको छ ।

उनले नीति तथा कार्यक्रममा काङ्ग्रेसले आफ्नो धारणा राखिसकेको बताए । ‘सरकार बजेटको तयारीमा छ । त्यसमा पनि हामी आफ्नो धारणा स्पष्टसँग राख्छौँ’ उनले भने, ‘सरकारले गर्ने सही कामको समर्थन र गलत कामको खुलेर विरोध गर्ने पार्टीको नीति छ ।’

वैकल्पिक सरकारका बारेमा केही नसोचे पनि मन्त्रालयस्तरीय समिति बनाउने तयारी भइरहेको उनले बताए । यसअघि बसेको केन्द्रीय समितिको बैठकमा छायाँ सरकार बनाउने निर्णय भएको थियो । अहिलेलाई त्यस्तो सरकार नबनाउने नेता  खाँडले बताए ।

प्रत्येक मन्त्रालयका लागि एउटा समिति बनाउने र त्यो समितिमा एकजना संयोजक र आवश्यकता अनुसार अन्य सदस्यहरू राख्ने उनले जानकारी गराए ।

‘सरकारको सय दिन कटेको छ, बजेट आउँदैछ, बजेटको अवस्था र त्यसको कार्यान्वयन हेरेर काङ्ग्रेसले रणनीति बनाएर जान्छ ।’ उनले भने ।

नेता डा. मिनेन्द्र रिजालले अहिले आफूहरूले प्रमुख प्रतिपक्षको हैसियतले सरकारका काम कारवाहीबारे आवश्यक आलोचना टिप्पणी गरिरहेको भन्दै त्यसबाट सरकारले पाठ सिक्नुपर्ने बताए ।

‘अहिले दुई ठूला पार्टी मिलेर बनेको पार्टीको सरकार छ । अरू पार्टी पनि सरकारमा जान खुट्टा उचालेर बसेका छन् । केही समयपछि को सरकारमा जाने र को नजाने छुट्टिन्छ । त्यसपछि हामी आफ्नो योजना बनाउछौँ’ नेता रिजालले भनेका छन् ।

काङ्ग्रेस नेता मीन विश्वकर्माका अनुसार सरकार र सत्तारुढ दल अधिनायकवादतर्फ उन्मूख भए त्यसको प्रतिवाद गर्न काङ्ग्रेस तयारी अवस्थामा बसेको छ ।

‘अहिले सरकार र सत्तापक्षका काम कारवाही नियाल्दैछौँ, उनीहरूका गतिविधि अधिनायकवादतर्फ उन्मुख भए पनि त्यो बाटोमा गइसकेको छैन । गयो भने काङ्ग्रेस चुप लागेर बस्दैन’, नेता विश्वकर्माले रातोपाटीसँग भने ।

उनले सरकार अधिनायकवादतर्फ गए काङ्ग्रेसले मात्र नभएर समग्र देशले नै ठूलो दुःख पाउने समेत बताएका छन् ।

‘सरकार अधिनायकवादतर्फ गयो भने काङ्ग्रेसले मात्र होइन, देशले नै ठूलो दुःख पाउँछ । त्यसकारण काङ्ग्रेस चुप लागेर बस्दैन । आफ्नो तागत देखाउँछ ।’ उनले भने ।

गत निर्वाचनमा काङ्ग्रेसले दुवै राप्रपा, राजपा र सङ्घीय समाजवादी फोरमसँग चुनावी गठबन्धन गर्ने भने पनि केही स्थानमा मात्रै सहकार्य गरेको थियो । तर काङ्ग्रेससँग सहकार्य गरेर चुनावमा गएका दलहरूले काङ्ग्रेसबाट आफूहरूलाई कुनै फाइदा नभएको निर्वाचन नतिजापछि बताउने गरेका थिए ।  

राजपा नेपालले राख्दै आएका मागको बारेमा सरकारले कुनै चासो नदेखाएका कारण दिएको समर्थन कुनै बेला पनि फिर्ता लिन सक्ने अवस्था पनि सिर्जना भएको राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले बताए । 

राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झा भन्छन्, ‘हामी प्रतिपक्षको बेन्चमा बस्छौँ, यद्यपि प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई समर्थन दिएका कारण काङ्ग्रेससँग हाल सहकार्य गर्ने वा गठनबन्धन बनाउने कुनै सम्भावना छैन ।’

असोजमा तत्कालीन एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि काङ्ग्रेस, फोरम, राजपा, राप्रपा, तत्कालीन नेपाल लोकतान्त्रिक फोरम नेपालबीच पनि लोकतान्त्रिक गठबन्धन बनाउने छलफल भइरहेको थियो ।

तर चुनावमा सिटको कुरा नमिल्दा लोकतान्त्रिक गठबन्धन नै बन्न सकेको थिएन ।

तत्कालीन लोकतान्त्रिक फोरम नेपालले त काङ्ग्रेससँग एकीकरण नै ग¥यो ।

यता राप्रपाले पनि साथ छाड्यो ।

त्यस्तै धारणा कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको छ ।

सरकारलाई गुण–दोषका आधारमा समर्थन गर्ने राप्रपाको नीति छ ।

सो दलका प्रवक्ता सुशील श्रेष्ठ भन्छन्, ‘हामी नेकपालाई समर्थन गरिसकेपछि काङ्ग्रेसँग गठबन्धन बनाउने मोर्चाबन्दी गर्नै मिल्दैन । हामीले सत्तापक्षलाई गुण–दोषका आधारमा समर्थन गर्ने वा विरोध गर्ने हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप