केन्द्रीय संस्करण

को थिए कृष्णवीर कामी र अब्दुल मियाँ ?

person explore access_timeजेठ १४, २०७५ chat_bubble_outline0

परिवर्तनको लडाइँमा बलिदान गर्ने प्रमुख कि शासक प्रमुख ? यतिबेला यो प्रश्न सबैका सामु गम्भीर रूपमा उठेको छ । इतिहासमा दलितको बलिदान उच्च छ तर अवसर र मूल्याङ्कनमा गौण, लुप्त रहेका छन् । उनीहरूलाई निच बनाइएका छन् । यस्तै घटनामध्येको एक हो सप्तरीको हनुमाननगर जेलब्रेकको घटना । यो घटना भएको ७६ वर्ष वितेको छ । जेलब्रेकपछि २२ जनालाई जहानियाँ राणा शासकले पक्राउ गरी हनुमाननगर जेलबाट काठमाडौँको कारागार पठाएका थिए । यस घटनाका २२ मध्ये दलित योद्धा कृष्णवीर कामी र अब्दुल मियाँलाई जेलभित्रै निर्ममतापूर्वक यातना दिएर हत्या गरेका थिए ।

वि.सं. १९९९ तिरको कुरा हो । मुलुकमा जहानियाँ राणा शासन थियो । त्यस्तै छिमेकी भारतमा अङ्ग्रेजको शासन थियो । दुवै मुलुकमा दुईवटै शासनका विरूद्ध आन्दोलन छेड्ने योजना बन्दै थिए । उनीहरूको विरोध कसैले गर्न सक्दैनथ्यो । विरोध गर्नेहरू यातनालयमा सीधै जल्नुपथ्र्याे । जहानियाँ राणा शासनको विरोध गर्ने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल र दशरथ चन्द्रलाई झुन्ड्याएर मारेका थिए । 
भारतमा जयप्रकाश नारायण, डा. राममनोहर लोहियालगायतका समाजवादी नेताहरूले ब्रिटिस सम्राज्यका विरूद्ध जनसमर्थनमा लागेका थिए । मुम्बईमा राममनोहर लोहियाले आन्दोलन चर्काउने योजना बनाउँदै गर्दा जयप्रकाशलाई अङ्ग्रेजले पक्राउ गरे । पक्राउपछि भारतमा आन्दोलन शिथिल हुनपुग्यो । जयप्रकाशलाई भगाउन जेलभित्रै हजारी बागले नाटक प्रदर्शम गरे । त्यसै क्रममा केही कैदीहरूले डोरीको सहायताले जयप्रकाशलाई भगाउँन सफल भयो ।
जेलबाट भगाएपछि ब्रिटिस शासक झन् क्रूर बनेर दमनमा लाग्यो । त्यसपछि भारतीय स्वतन्त्रताको आन्दोलन सफल पार्न राममनोहर लोहिया, जयप्रकाशलगायतका समाजवादी नेताहरूले ‘आजाद दस्ता’ नामका सङ्गठन निर्माण गरे । आन्दोलन सफल पार्न नेपाली भूमि प्रयोग गर्ने निर्णय गरे । उनीहरू विहारका समाजवादी नेता सुरजनारायण सिंहसँग सप्तरीको कोइलाडी बरसाइन आइपुगे । नेपालमा जहानियाँ राणा शासन विरोधी आन्दोलन चर्काउन लागिपरेका बरसाइनका रामेश्वरप्रसाद सिंह, चतुरानन्द सिंह, सुकदेव सिंह, तारणिप्रसाद सिंह, कुलदीप झा, जयमङ्गल सिंह जो रामराजाप्रसाद सिंहका बुबा थिए । उनीहरूसँग बरसाइन गाउँमै बैठक बस्यो । नेपालमै बसेर अङ्ग्रेजविरुद्धको आन्दोलन हाँक्ने निर्णय भयो ।

भूगोल सर्वेक्षणपछि सुनसरीको लौकही नजिक बेसारबारीमा उनीहरूले बेसक्याम्प खडा गरे ।   नजिकै रहेको चुरेजङ्गलको गुफामा ‘आजाद दस्ता’ नामक फौजलाई तालिम दिने केन्द्र बनाए । फौजको भरणपोषणका लागि अप्ठ्यारो परेपछि भरतपुरका जमिनदार दलबहादुर प्रजापतिले सप्तरीको खुदीबखारीमा रहेको उब्जनीबाट भरणपोसनका लागि दिने वाचा गरे । अङ्ग्रेजसँग लड्नका लागि कोसी नदी उपयुक्त भूगोल थियो । नेपालमा राणा शासकलाई यो कुरा थाहा थिएन । अङ्ग्रेजले नेपालका राणा शासकलाई जानकारी दिएपछि राणा शासकहरूले तालिम केन्द्र हल्दीबारीबाट जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, कार्तिकप्रसाद सिंह, डा. वैजनाथ झा, बज्रकिशोर शास्त्री, बाबा श्यामानन्द लगायतकालाई पक्राउगरी हनुमाननगर जेलमा ल्यायो । त्यतिबेला सदरमुकाम राजविराज सरिसकेका थिए । तर बडाहाकिमको कार्यालय, गोस्वरा र गारथ (जेल) हनुमान नगरमै थियो । पक्राउ परेकालाई छुटाउन स्थानीय रामेश्वरप्रसाद सिंह, जयमङ्गलप्रसाद सिंह, चतुरमान सिंह, मिनबहादुर सिंह र केही भारतका स्वतन्त्रता पक्षधर साथीलगायतले जेलबाट भगाउने योजना बनाए । जेलमा परेका डा. राममनोहर लोहिया, जयप्रकाश नारायण अहिले भारतका लालु यादव, नितिश कुमार, मोलायम सिंहलगायतका नेताको राजनीतिक गुरु थिए ।

वि.स. २००० जेठ ९ गते राति १२ बजेको कुरा हो । बरसाइनका रामेश्वरप्रसाद सिंहको घरमा छोरीको विवाह थियो । विवाहमा थुप्रै पाहुना आएका थिए । आजाद दस्ताका लडाकु जन्तीकै खाना खाएर हनुमाननगर जेल तोड्न गएकाले राणाका खुफियाहरूले थाहा पाएनन् भन्नुहुन्छ वरिष्ठ अधिवक्ता हिम्मत सिंह । जेलब्रेकपछि हनुमाननगर जेलमा अन्य थुप्रै स्थानीय मान्छेलाई जेलमा राखेका थिए । १५० जनाभन्दा बढी मान्छेमाथि देशद्रोहको मुद्दा लगाएका थिए । कोइलाडी बरसाइन गाउँका अधिकांश गाउँलेमाथि देशद्रोहको मुद्दा लाग्यो । उनीहरूका भारतीय आफन्तमाथि पनि मुद्दा लगाइएको थियो । जेलमा पनि परेका थिए । यसमा दलित, मुस्लिम, यादव, मण्डललगायत समुदायका मान्छेहरू पनि थिए । जेल परेका २२ जनामध्ये ९ जना राणाको पैरवी र आत्मसमर्पण गरेर जेलमुक्त भएका थिए भने ११ जना सन् १९४७ अगस्ट १५ मा भारत ब्रिटिस शासकबाट आजाद भएपछि जेलमुक्त भएका थिए । जसमा भारतीयले सहयोग गरेका थिए । तत्कालीन भारतीय गृहमन्त्री नेहरूले भारतीय स्वतन्त्रतामा उनीहरूको महत्वपूर्ण योगदान रहेकाले राणालाई छोड्न आग्रह गरेका थिए ।

जहानियाँ राणा शासनविरूद्ध लडाइँको सुरुवात पनि पहिलो पटक हनुमाननगर जेलकाण्डबाट भएको थियो । पहिलो पल्ट हनुमाननगर जेलमा गोली चल्यो । जेल आक्रमणमा केही राणाका प्रहरी पनि मारिएका थिए । त्यतिबेला नेपाल र भारत दुवै देशमा हलचल मच्चिएको थियो । त्यसैबेला टङ्कप्रसाद आचार्यको नेतृत्वमा रहेको प्रजापरिषद्ले पनि काठमाडौं बाहिर आफ्नो राजनीतिक गतिविधि सञ्चालन गर्ने आधार निर्माण भएको थियो ।

यसरी हेर्दा दलित समुदायले परिवर्तनको लडाइँमा आफ्नो महत्वपूर्ण योगदान र बलिदान दिँदै आएको इतिहास साक्षी छ । त्यो योगदान र बलिदान उच्च र पहिलो श्रेणीका छन् । अन्य समुदायको योगदान र बलिदान शासकीय र दोस्रो दर्जाका छन् । तर इतिहास कैद गर्ने बेलामा दलितको नगन्य र दोस्रो दर्जामा परेका छन् भने अन्य समुदायको योगदान र बलिदानलाई पहिलो दर्जामा राख्दै आएका छन् । यसरी परिवर्तमको लडाइँमा पनि योगदान र बलिदानमाथि समाजिक विभेद छ । अधिकांश दलित योगदान र बलिदानलाई लुकाइएका छन् । आजसम्मको परिवर्तनको इतिहासमा दलित समुदायको योगदान र बलिदान सबैले चर्चा गर्ने गर्छन् । उनीहरुलाई भोट बैङ्कका रूपमा प्रयोग गर्ने गर्छन् । यसरी दलित बलिदानलाई भरिया बनाएका छन् । कसैले ठोस रूपमा संस्थागत गर्न सकेको छैन । राज्य र राजनीतिक दलको पनि विभेद रहँदै आएको छ । पवित्र आत्माले जिम्मेवार कोही देखिँदैन ।
त्यसैले मुलुकमा सामाजिक र सांस्कृतिक परिवर्तनको खाँचो छ । यसखाले विभेदलाई अन्त्य गर्न, सभ्य र सर्वस्वीकार्य मानव समाज निर्माण गर्न राज्यले ठोस कानुनी अभियान चलाउन आवश्यक छ । अनि मात्र मुलुक समृद्ध बन्न सक्छ । अनि कृष्णवीर कामी र अब्दुल मियाँलगायत सबै दलितको बलिदानको सम्मान हुनेछ । 

अन्य समुदायले गरेको बलिदानको सम्मन स्वरूप बनाइएका सालिक र स्मारकजस्तै हरेक हिसाबले कमजोर बनाइएका दलित बलिदानहरूको पनि शालिक र स्मारक लगायतका इतिहास निर्माण हुनेछन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...