शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कम्युनिस्ट आन्दोलनको राजमार्ग बनाउने जिम्मा अब केपी ओली र प्रचण्डको काँधमा !

मार्क्सवाद र नेपाली कम्युनिस्ट आन्दोलन
सोमबार, १४ जेठ २०७५, ११ : १६
सोमबार, १४ जेठ २०७५

महान दार्शनिक कार्ल माक्र्सको योगदान
कार्ल माक्र्सको २००औँ शतवार्षिकी भर्खरै सम्पन्न भएको छ । विश्वभरीका सर्वहारा श्रमजीवी जनता तथा ती वर्गको प्रतिनिधित्व गर्न स्थापित कम्युनिस्ट पार्टीहरूले माक्र्सको द्विशतवार्षिकीको सन्दर्भमा भव्य कार्यक्रमको आयोजना गरेर माक्र्सवादको सान्दर्भिताका बारेमा विशद् विमर्श गरे । यही सन्दर्भमा यो लेखमा माक्र्सवादको सच्चाइ र नेपालको कम्युनिस्ट आन्दोलनबारे चर्चा गर्ने कोसिस गरिनेछ ।

कार्ल माक्र्स विद्वानका पनि विद्वान, सिद्धान्तकार पनि सिद्धान्तकार, वैज्ञानिकका पनि वैज्ञानिक तथा दार्शनिकका पनि दार्शनिक महान दार्शनिक थिए । लाखौँ वर्षदेखि चलिआएको अनुमान र  अन्धविश्वासको आधारमा चलेको विश्वलाई विश्व ब्रह्माण्ड द्वन्द्वात्मक नियमले चलेको यथार्थ अगाडि सारे । जसले विश्वलाई दुई भागमा विभाजित गरिदियो । अध्यात्मवादी र भौतिकवादी ।

अदृश्य शक्तिको इच्छा वा खटनबाट विश्व ब्रह्माण्ड चलेको  छ  भन्ने आध्यात्मवादी दर्शनमाथि माक्र्सले वैज्ञानिक नियमको आधारमा दार्शनिक हमला गरे, जसले विश्वभरीका चिन्तक, विद्वान, दार्शनिकहरूको चिन्तन प्रणालीमा नै ठूलो हलचल पैदा गरायो । अणु परमाणु जस्ता पदार्थका ससाना एकाइदेखि सूर्य, चन्द्रमा तथा पृथ्वीजस्ता ठूलठूला पिण्डको उत्पत्ति, विकास र विनासको द्वन्द्वात्मक नियमको विशद् व्याख्या गरे माक्र्सले । संसारमा घट्ने सबै घटनाका पछाडिका वास्तविक कारण पत्ता लगाउने नियमलाई पुष्टि गरी दिए । जीवन र जगतका बारेमा गरिएका कोरा कल्पनालाई गलत सावित गरिदिए ।

जगत मिथ्या ब्रह्म सत्य भनेर जगत र जीवनलाई जान्न, बुझ्न र बदल्न असम्मभ छ भनी मानव चेतनाको महत्वलाई पूर्णतः इन्कार गरिएको थियो । सृष्टि ईश्वरीय इच्छाको उपज हो, त्यसकारण सृष्टिका बारेमा जान्न, बुझ्न वा बदल्न खोज्नु ईश्वरीय इच्छाविरुद्धको कार्य हो भन्ने गलत मान्यता संसारभर प्रचारित थियो । ईश्वरीय शक्तिलाई केन्द्र भागमा राखेर सोच्ने, चिन्तन गर्ने, अध्ययन गर्ने भ्रामक चिन्तन प्रणाली चलेको  थियो । विद्वान, चिन्तक, अध्येता वा दार्शनिकहरू पनि ईश्वरीय शक्तिलाई अन्तिम सत्य प्रमाणित गर्नमै तल्लीन थिए । ईश्वरीय शक्ति बाहेक  वास्तविक सत्यको खोजी गर्ने कार्यलाई पापी कार्यको संज्ञा दिइएको थियो । स्वर्ग, नर्क, भाग्य, पुनर्जन्मको काल्पनिक प्रणालीको प्रचार थियो । जे छ, त्यो ईश्वरको इच्छाले भएको छ, जे हुनेछ, त्यो पनि ईश्वरीय इच्छा बमोजिम हुनेछ भन्ने मान्यतालाई जबरजस्ती स्थापित गरिएको थियो । धनी वा  गरिब, सुखी वा दुःखी, ज्ञानी वा अज्ञानी हुनुु पूर्वजन्मको फल हो भन्ने गलत मान्यताबाट आम मानिसलाई प्रशिक्षित गराइएको थियो । ज्ञानी, सुखी, धनी हुन वा स्वर्गमा बास गर्नका लागि ईश्वरीय शक्तिको पूजा आरधना गर्ने र चलिआएको रीत, परम्परा, संस्कार र मान्यताको परिपालना गर्ने उपदेशमूलक शिक्षा नीति चलाइएको थियो । असमानता, शोषण, विभेद, अन्यायको विरोधमा  आवाज उठाउन नसकिने गरी मानिसको चेतनालाई बन्दक बनाइएको थियो । अर्काे जन्ममा ज्ञानी, सुखी, धनी बन्नका लागि ईश्वरीय आशीर्वादका लागि चलिआएका सबै मान्यतालाई अनुसरण गर्न मानव जातिलाई बाध्य पारिएको स्थिति थियो ।

माक्र्सले आफूभन्दा अगाडिका सबै विद्वानहरूले निकालेका निष्कर्षहरूको गहन अध्ययन, विश्लेषण गरे र विशद् चिरफार गरे । उनले जीवन र जगतको उत्पत्ति, विकास, रूपान्तरण र विनासको द्वन्द्वात्मक नियम पत्ता लगाए । वाद, प्रतिवाद  र संवादको वैज्ञानिक नियम अगाडि सारे । निषेध निषेधको नियम अगाडि सारे । वस्तु र समाजको अनिवार्य परिवर्तनको नियमलाई परिमाणात्मक हँुदै गुणात्मक फड्को मार्ने नियमलाई प्रमाणित गरिदिए । पदार्थका ससाना एकाइदेखि सबैभन्दा ठूला एकाइमा रहेको द्वन्द्वात्मक सम्बन्ध र गतिको नियम प्रमाणित गरे । सार र विशिष्ट पक्षको बीचको अन्तरसम्बन्ध र अन्तरलाई स्पष्ट पारे । समग्रता र अंशको बीचको भेद र अन्तरसम्बन्धको बारेमा विशद् व्याख्या गरे । आदिम युगदेखि वैज्ञानिक समाजवाद हुँदै  साम्यवादी समाजको व्याख्या गरे । इतिहासको द्वन्द्वात्मक भौतिकवादी व्याख्या गर्दै मानव जातिको इतिहास वर्गसङ्घर्षको इतिहास भएको प्रमाणित गरे । मानव समाजमा रहेको विभेद, असमानता, शोषण, सुख वा दुःख, धनी वा गरिब, ज्ञानी वा अज्ञानी हुनुको कारण ईश्वरीय इच्छाले होइन, शासक वर्ग वा सत्ताले अवलम्बन गरेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रणालीको परिणाम हो भन्ने सत्यलाई विश्वका अगाडि स्पष्ट पारिदिए । मजदुर र श्रमिक वर्गलाई पुँजीपति र समान्तवर्गले कसरी शोषण गर्छ भनेर अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरिदिए ।  असमानता, विभेद, शोषण र अन्धविश्वासको जाँतोमा पिल्सिएका करोडौँ मानव जातिले आफ्नो मुक्ति र प्रगतिको शक्तिशाली हतिहारका रूपमा माक्र्सका निष्कर्षहरूलाई ग्रहण गरे । मानव जातिले आफ्नो मुक्ति र प्रगतिको नयाँ चेतना प्राप्त ग¥यो । विश्वभर क्रान्तिका अकल्पनिक ज्वारभाटा सिर्जना गरिदियो । मानव जातिको ज्ञान उन्नत स्तरमा फड्को मा¥यो । लाखौँ वर्षदेखि रहस्यमा राखिएका हजारौँ घटना परिघटनाहरूको सत्य उद्घाटन भयो । विज्ञान र प्रविधिको क्षेत्रमा गुणात्मक परिवर्तन भयो । मानव जातिको ज्ञानको विस्तार अन्तरिक्षसम्म पुग्यो । एक्काइसौँ शताब्दीसम्म आई पुग्दा विश्वले जे–जति उपलब्धि हासिल गरेको छ, यी सम्भावनाको ढोका खोल्ने तथा मार्गदर्शन गर्ने दर्शन माक्र्सवादी दर्शन नै हो भन्ने कुरा तथ्यले स्थापित गरेको छ ।
 
माक्र्सवादी दर्शनको प्रभाव र विस्तार
सन १८१८ मा जन्मेका कार्ल माक्र्स र सन् १८२० मा जन्मेका फ्रेडरिक एङ्गेल्सको माक्र्सवादी दर्शन निर्माणमा महत्वपूर्ण भूमिका थियो । माक्र्सले आफ्नो विद्यावारिधिको शोध अनुसन्धान गर्ने सिलसिलामा सन् १८४२ तिर माक्र्सवादी दर्शनको प्रारूप तयार भएको थियो । सन् १८४८ मा पहिलो कम्युनिस्ट घोषणापत्र जारी भएपछि यसको प्रभाव विश्वव्यापी हुन थाल्यो । लाखौँ वर्षदेखि विश्वभरी एकछत्र पकड जमाएको आध्यात्मवादको जग हल्लाउने र विश्वको आधाभन्दा बढी जनसङ्ख्याको विश्वासलाई १७२ वर्षको छोटो अवधिमा प्राप्त गर्न सफल भएको दर्शन माक्र्सवादी दर्शन नै हो । रूपमा फरक भए पनि माक्र्स भन्दाअघिका अधिकांश दार्शनिकहरू आध्यात्मवादकै वरिवरि घुमिरहेका थिए । उनीहरूको चिन्तनको दायरा बढीभन्दा बढी जीवन र जगतलाई बुझ्ने र व्याख्या गर्नेमै सीमित थियो । माक्र्सले जीवन र जगतलाई  बुझ्ने सही नियम मात्रै पत्ता लगाएनन्, जीवन र जगतलाई आफू अनुकूल बदल्न सकिने नयाँ चिन्तनको पनि आविष्कार गरे । सोच, चिन्तन, विचार र व्यवहारको सहीपनाको कारणले नै लामो समयदेखि चलिआएको दार्शनिक सोचलाई छोटो अवधिमै विस्थापित गर्न सक्यो । प्रारम्भिक दिनमा कम्युनिस्ट अन्तर्राष्ट्रियले माक्र्सवादलाई विश्वव्यापी बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।

लेनिनको नेतृत्वमा सन्पन्न भएको सन् १९१७ को रुसी अक्टोबर क्रान्तिसम्म आइपुग्दा माक्र्सवादी दर्शन जनताको मुक्तिको राजनीतिक प्रणालीका रूपमा स्थापित भयो । लेनिनले माक्र्सवादका दार्शनिक, सैद्धान्तिक, आर्थिक, सामाजिक र सांस्कृतिक मान्यतालाई राज्य प्रणालीमा ढाल्ने र कम्युनिस्ट पार्टी सञ्चालनको  व्यवस्थित सङ्गठनात्मक ढाँचा बनाएर जनतालाई सङ्गठित गर्ने, प्रशिक्षित गर्ने र परिचालित गर्ने अद्वितीय योगदान गरे । त्यसयता माक्र्सवाद बौद्धिक बहसको विषय मात्रै भएन, समाज परिवर्तन र राज्य सञ्चालनको सशक्त वैचारिक र सैद्धान्तिक अस्त्रमा रूपान्तरित भयो । युरोपका विभिन्न देशमा ठूलाठूला राजनीतिक क्रान्तिहरू उठे । कुनै सफल भए, कुनै असफल भए तर युरोपदेखि अमेरिकासम्म माक्र्सवादले गहिरो गरी जरा गाड्यो ।

माक्र्सवादकै मार्गदर्शनमा बेलायती, जर्मनी र जापनिज साम्राज्यहरू ढले । विश्व जित्न हिँडेको हिटलर जस्ता शक्तिशाली र अति महत्वाकाङ्क्षी व्यक्तिलाई नियन्त्रण गर्ने सेना माक्र्सवादी दर्शनबाटै प्रशिक्षित थियो । न्याय र समानताको विगुल फुक्दै माक्र्सवादी दर्शनमा आधारित कम्युनिस्ट पार्टीहरू दिन दुगुना रात चौगुनाको दरले विश्वभरी फैलिए । रुस, चीन, भियतनाम, लावस, कम्पुचिया उत्तरकोरिया, क्युवा, पूर्वीयुरोप लगायत विश्वका थुपै्र देशमा सशस्त्र सङ्घर्षबाटै क्रान्ति सम्पन्न भए । ३० को दशकसम्म आइपुग्दा विश्वभरीका पुँजीवादीहरू पनि समाजवादका आधारभूत विषयलाई हामी पनि मान्छौँ भन्न बाध्य भए, नत्र उनीहरूको अस्तित्व नै सङ्कटमा पर्ने स्थिति भयो । पुँजीवादी व्यवस्थाले  मानिसमाथि गर्ने शोषणको नाङ्गो रूपलाई छोप्नका लागि पुँजीवादीहरूले प्रजातान्त्रिक समाजवादको आवरणको प्रयोग गर्दै आइरहेका छन् । विश्वभरी आजसम्म कही पनि प्रजातान्त्रिक समाजवादको दार्शनिक, सैद्धान्तिक, आर्थिक र सामाजिक प्रणालीको  व्याख्याको आधार फेलापरेको छैन । सुरका दिनमा माक्र्सवादी दर्शनबाट प्रभावित बीपी कोइराला भारतीय नेता राम लोहियाहरबाट प्रभावित भएर नेपालमा प्रजातान्त्रिक समाजवाद शब्दलाई प्रचारित गराए । हालसम्म पनि नेपाली काङ्ग्रेसभित्रको एक तप्का प्रजातान्त्रिक समाजवादको भ्रममा बाँचिरहेको छ । जसको दार्शनिक, वैचारिक, सैद्धान्तिक आधार नै छैन । माक्र्सवादी दर्शन यति सशक्त मानव मुक्तिको सिद्धान्त बन्यो, जसलाई आजसम्मका कुनै पनि दार्शनिक वा राजनीतिशास्त्रीले तथ्यगत आधारमा गलत सावित गर्न सकेका छैनन् । त्यसैले नै कार्ल माक्र्स विगत एक हजार वर्षकै विश्व मानव समुदायलाई अधिक प्रभावित पार्ने महान नायक कहलिएका हुन् । माक्र्सवादको प्रभाव यति विस्तारित भएको छ कि हरेक व्यक्तिका हरेक पललाई स्पर्श गरिरहेको छ, आज ।
 
नेपालको कम्युनिस्ट आन्दोलन : माक्र्सवादको सिर्जनात्मक प्रयोगको थलो
 
माक्र्सवाद लेनीनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लक्ष्य राखेर नेपालमा २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । संस्थापक महासचिव पुष्पलालले आफ्नो चेतनाले भ्याएसम्म माक्र्सवाद लेनिनवादको सारलाई स्थापित गर्न इमानदार प्रयत्न गरे । व्यक्ति र आन्दोलन दुवैतिर चेनतास्तर र परिवेशअनुसार माक्र्सवादलाई बुझ्ने, व्याख्या गर्ने, ग्रहण गर्ने तथा नेपाली क्रान्तिको व्यवहारमा लागू गर्ने सन्दर्भमा भिन्नताहरू रहे पनि लक्ष्य, ध्येय र उद्देश्यमा एकरूपता नै रहेको पाइन्छ । नेपाली समाजमा रहेको शोषणको अन्त्य गर्ने, समानता र न्याय स्थापना गर्ने, जातीय, लैङ्गिक, क्षेत्रीय विभेदको अन्त्य गर्ने, उत्पादनका साधनमा समान हक स्थापित गर्ने, राज्यका साधन स्रोतको न्यायोचित वितरणको प्रणाली स्थापित गर्ने, जनताका आधारभूत आवश्यकता शिक्षा, रोजगारी, स्वास्थ्य उपचार, आवासको ग्यारेन्टी राज्यले लिने मूलभूत राजनीतिक, आर्थिक र समाजिक विषयलाई मुद्दा बनाएर कम्युनिस्ट पार्टीले जनतालाई सङ्गठित र प्रशिक्षित गर्दै आयो ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको पहिलो दशकमै टुटफुट र विभाजनको शिकार हुन पुग्यो । व्यक्तिगत स्वार्थ, सङ्कीर्ण सोच, आत्मकेन्द्रित चिन्तन पार्टीभित्र हावी हुँदै गयो । जसले पार्टी कमिटी कब्जा गरेर नेतृत्व हत्याउने गलत प्रवृत्तिले पुष्पलाल कमजोर पारिए । केशरजङ्ग रायमाझीहरूले बहुमत सिद्ध गरे । यही विन्दुबाट कम्युनिस्ट पार्टीभित्र विभाजनको बिजारोपण भयो । झापा किसान विद्रोहको जगमा २०३५ सालमा नेकपा मालेको गठन नहुन्जेलसम्मको अवधिमा नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न अवस्था रह्यो । ठीक यही अवधिमा नेपालको कम्युनिस्ट आन्दोलनको अर्काे धारा चौमको नाममा पनि सङ्गठित भयो । मालेको धारा धेरै कम्युनिस्ट भँगालालाई मिलाएर एमाले धाराका रूपमा विशाल बन्न पुग्यो ।

चौमभित्र विभिन्न फुट विभाजन हुँदै मसाल, एकता केन्द्र माओवादी सशस्त्र सङ्घर्ष हुँदै अगाडि बढ्यो । पछिल्लो अवधिमा माओवादी धारामा फुट विभाजन र विचारधारात्मक अराजकता र अन्योलको चक्रव्युहको जटिल अवस्था सिर्जना भयो । एमालेले साङ्गठानिक, वैचारिक, राजनीतिक र दार्शनिक रूपमा आफूलाई अझै बढी परिपक्व, व्यावहारिक र जनविश्वासी बनाउँदै लग्यो । नेपाली कम्युनिस्ट आन्दोलन र  विश्व कम्युनिस्ट आन्दोलनको इतिहासका सबै सकारात्मक र नकारात्मक घटनाक्रमहरूको वस्तुनिष्ट समीक्षा गर्दै माक्र्सवादको सारलाई नेपाली समाजमा सिर्जनात्मक रूपमा सफल प्रयोग गर्ने सङ्कल्पका साथ २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको छ । नेपालको कम्युनिस्ट आन्दोलनले करिब ७० वर्षको पूर्णचक्र पूरा गरेर विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा निर्देश गरेको छ । शान्तिपूर्ण प्रतिस्पर्धामा श्रेष्ठता सावित गरेर समाजवादी समाजको स्थापना गर्न सम्भव छ भनेर ।

विचारधारात्मक रूपमा दुई धु्रवीय विश्व अवस्था हँुदा कम्युनिस्ट वा माक्र्सवादी धाराको नेतृत्व गर्ने सोभियत सङ्घ शासन व्यवस्था चलाएको ७० वर्षमा नै ढलेको थियो । सशस्त्र सङ्घर्षबाट क्रान्ति सम्पन्न भई स्थापना भएको शासन पराजित भएको विश्वकै  भयानक नकारात्मक परिघटना थियो त्यो । यही घटनालाई आधार मानेर विश्वभरका सामन्तवादी र पुँजीवादीहरूले समाजवाद स्थापनाको कुनै सम्भावना नभएको, माक्र्सवादको सान्दर्भिकता समाप्त भएको, कम्युनिस्ट आन्दोलनको भविष्य समाप्त भएको हल्ला मच्चाउँदै सोभियत समाजवादलाई टिकाउनका लागि भएका केही नकारात्मक अभ्यासलाई देखाएर संसारभरीका कम्युनिस्ट पार्टी एक दलीय तानाशाही विचारका पक्षघर हुन र त्यसको समूल अन्त्य भएको उद्घोष गरेका थिए ।

यथार्थ के थियो भने सोभियत सङ्घले विश्वभरीका  पुँजीवादी शक्तिसँग एक्लै लड्न परेको थियो । आफ्नो सैन्यशक्ति र राष्ट्रिय पुँजीलाई समाजवादी राज्य व्यवस्था भएका देशको रक्षाका लागि प्रयोग गर्नुपरेको थियो । अमेरिका, जर्मनी, बेलायत, फ्रान्स जस्ता विश्वका शक्तिशाली राष्ट्रहरूको संलग्नता भएको  नेटोको विरुद्धमा लगभग एक्लैले नेतृत्व गरेको वार्सा सैनिक सङ्गठनको माध्यमबाट लड्नुपरेको थियो । जसका कारणले सोभियत सङ्घ आन्तरिक आर्थिक सङ्कट झेल्न नसकेर विभाजित हुन पुगेको थियो ।

यो माक्र्सवादको सान्दर्भिकताको अन्त्य थिएन । समाजवादको भविष्यको अन्त्य पनि थिएन । बढीभन्दा बढी सोभियत समाजवादी आन्दोलनको मोडलमा ठूलो धक्का थियो । ७० वर्षको नेपाली कम्युनिस्ट आन्दोलनले विश्वभरीका कम्युनिस्टहरू समाजवादी मुलुकलाई आआफ्नो मुलुकको विशेषता बमोजिम मौलिक कार्यक्रम, कार्यदिशा, कार्यनीति, रणनीति, सिद्धान्त र सङ्गठनात्मक ढाँचाहरू निर्माण गर्दै जनतालाई सङ्गठित, प्रशिक्षित र परिचालित गरेर माक्र्सवादी  दर्शनको सँच्चाइलाई प्रमाणित गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएको छ ।

वर्ग रहेसम्म वर्गसङ्घर्ष जारी रहने, पार्टीले निश्चित वर्गको हित प्राप्तिका लागि काम गर्ने, समाजवादी समाजसम्म पनि वर्गको अस्तित्व रही रहने भन्ने व्याख्या माक्र्सवादी दर्शनको सार हो । जब वर्ग हुन्छ, त्यहाँ वर्गीय हित रक्षाका लागि विभिन्न पार्टीको अस्तित्व अवश्य पनि हुन्छ । वर्गको अस्तित्वलाई बलजफ्ती अस्वीकार गरेर त्यसको अस्तित्व नष्ट भइहाल्दैन । त्यससँग प्रतिस्पर्धा गरेर पराजित गर्नुपर्छ भन्ने माक्र्सवादको चुरोलाई मूलभूत रूपमा जननेता मदन भण्डारीले पक्रे ।

जननेता मदन भण्डारीले नै नेपाली समाजको विशेषता र विशिष्टतामा आधारित भएर नेपाली क्रान्तिको सिद्धान्त, कार्यक्रम, कार्यनीति, कार्यदिशा र सङ्गठनात्मक ढाँचा तयार पार्ने राजनीतिक दिशा नेपाली कम्युनिस्ट आन्दोलनलाई दिए । कम्युनिस्ट पार्टीको वर्गीय पक्षधरता भूमिहीन, मध्यम र धनी किसान, आवासविहीन जनता, रोजगारविहीन जनता, सबै क्षेत्रका श्रमजीवी र मिहिनेती जनता हुन । तिनै जनतालाई आफ्नो वर्गीय हितप्रति सचेत पार्दै व्यापक जनपरिचालनको  माध्यमबाट सबै प्रकारका विभेद र शोषणको अन्त्य गर्दै जनताको जीवनमा समृद्धि प्राप्त गर्ने महान अभियानको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्न सक्ने परिस्थिति निर्माण भएको छ ।

माक्र्सवादको सिर्जनात्मक प्रयोगद्वारा स्थापित भएका विशिष्ट र मौलिक सिद्धान्त र कार्यक्रमका माध्यमबाट विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ र सही दिशा दिन सक्ने गरी नेपाली कम्युनिस्ट आन्दोलनले गुणात्मक फड्को मारेको छ । जननेता मदन भण्डारीको राजनीतिक कार्यदिशा बमोजिम कम्युनिस्ट आन्दोलनको विशाल राजमार्ग बनाउने कार्यभार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको काँधमा आएको छ । यसको महत्व र दूरगामी सम्भावनालाई आत्मसात गरेर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्व जवाफदेहिताका साथ चल्नुपर्छ र नेतृत्वलाई सफल पार्न सिङ्गो पार्टी पङ्क्ति तत्पर रहनुपर्छ । विश्व कम्युनिस्ट आन्दोलनलाई नयाँ र सही आयामका साथ नेतृत्व गर्ने अवसरलाई उपयोग गर्नु आवश्यक छ । नेपाल माक्र्सवादको सिर्जनात्मक प्रयोगको  थलो बन्नेछ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कर्णबहादुर थापा
कर्णबहादुर थापा

थापा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हुन्

लेखकबाट थप