बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीज्यू तपाईंलाई थाहा छ, अहिले सुनको तस्करी यसरी हुन्छ

सोमबार, १४ जेठ २०७५, १५ : ००
सोमबार, १४ जेठ २०७५

काठमाडौँ । देश यतिबेला ३३ किलो सुन तस्करी, त्यसको नाइके भनिएका चूडामणि उप्रेतीसहितका अन्य आरोपितको मुद्दामा केन्द्रित छ ।
 
सरकारले जेठ मसान्तसम्म छानविन आयोगको म्याद थपेको छ । गृहमन्त्री रामबहादुर थापा बादल देखि प्रहरी प्रशासनको ध्यान यही ३३ किलो सुन तस्करी प्रकरणमा विभिन्न आयाम खोतल्नेमा छ ।

तर, ठीक यहीँबेला सुन तस्करले नयाँ विधि अपनाएका छन् । तस्करले अहिले अपनाएको उपाय देख्दा कानुनी जस्तो देखिन्छ । तर, यो तस्करीको मुनाफा ठूलो छ र यसको असर हाम्रो अर्थतन्त्रमा डरलाग्दो हुँदैछ । 

अब तपाईंले बुझ्ने गरी तस्करीको कथा पढ्नुहोस् । 

कतारबाट छुट्टीमा काठमाडौं फर्केका सर्लाहीका रवि महतो र सिराहाका रामपुकार महतोको बाँया हात बेरुवा औँठीले सजिएको थियो । 

झट्ट हेर्दा अस्वभाविक तवरले हरेक औँलामा बेरुवा औँठी र दुबै हातमा बाला लगाएर गत २०७४ चैत १२ गते त्रिभुवन विमानस्थल ओर्लिएका रवि र रामपुकारलाई प्रहरीले विमानस्थलको गोल्डेन गेटबाटै फलो गरेको थियो । 

गोल्डेनगेट क्रस गरेर अगाडी बढेका उनिहरुलाई पिंगलास्थानमा गेष्ट हाउस चलाउँदै आएका महम्ममद सेफुल्लाले एयरपोर्ट अघिल्तिर कुरिहेका थिए ।

तिनैजनाको जम्काभेट भयो, रवि र रामपुकारले आफुले कतारबाट लगाएर आएको पाँचओटा बेरुवा औंठी र बाला सेफुल्लालाई दिए । 

सुनका बाला लेनदेन गर्नासाथ तिनैजना महानगरीय प्रहरी वृत गौशालाबाट खटिएको प्रहरी टोलीको फन्दामा परेका थिए ।

यस्ता घट्ना आजभोली त्रिभुवन विमानस्थल आसपासमा दैनिकजसो हुन थालेको छ । 

‘खाडीबाट छुट्टीमा आउने नेपाली कामदार आजभोली पँहेलै भएर आउँछन्’ त्रिभुवन विमानस्थलका एक प्रहरी अधिकृत भन्छन्, ‘यहाँ हामीले चेकजाँच गर्दा कानुनी रुपमा ल्याउन पाउने ५० ग्राम सुन ल्याएको देखिन्छ, तर बाहिर त्यस्ता कामदारको सुन संकलन गर्न बसेको गिरोह नै हुने गरेको छ ।’  

२०७४ फागुनमा मोहन कुमार अग्रवालले लगानी गरेको ३३ किलो सुन प्रकरणमा गृह–मन्त्रालले ‘विशेष छानविन समिती’ गठन गरेर अनुसन्धान अगाडी बढाएसँगै सुन तस्करहरुले विदेशबाट छुट्टीमा आउने र कामको अवधी सकेर घर फर्किने कामदारलाई ‘भरिया’ बनाउने गरेका छन् । 

विदेशबाट फर्किंदा गहना बनाएर प्रति ब्यक्ति ५० ग्राम सुन ल्याउन पाउने कानुनी छिद्रको दुरुपयोग गर्दै सुन तस्करहरुले अधिकांश नेपाली कामदारहरुलाई सुन बोक्ने ‘भरिया’ बनाएका हुन् । 

साउदी अरवमा रहेका एक नेपाली, जसले त्यहाँ व्यापार व्यवसायी गर्छन, उनका अनुसार अहिले कोही पनि कामदार खाली फर्कदैनन्् । तस्करका दलालले पाँच हजार रुपैयाँ दिने शर्तमा ५० ग्राम सुन बराबरको ओठी वा बाला लगाएर पठाउँछन् । 

‘५० ग्राम’ सुन ल्याउन पाउने कानुनी छिद्रको दुरुपयोग गर्दैै नेपाली कामदारलाई प्रयोग गरेर सुन तस्करले कत्तिपय कामदारलाई लुकाई छिपाई १५० ग्राम सम्म सुन बोकाउने गरेको खुलेको छ । 

गएको चैत महिनामा त्रिभुवन विमानस्थल अगाडीबाट प्रहरीले धनुषाका राम आशिष महतोलाई १५० ग्राम सुनका गहना सहित नियन्त्रणमा लिएको थियो ।  

साउदी अरेबिया, कुवेत, कतार, ओमन, बहराईन, युनाईटेड अरब ईमिरेट्स र कोरियाबाट दिनहुँ आउने दर्जनौं कामदारलाई पछिल्लो केही महिनायता सुन तस्करको भरियाको रुपमा दुरुपयोग गर्दै आएका छन् । 

दुबईबाट फर्केका सिरहाका गोविन्द यादव (नाम परिवर्तन) का अनुसार तस्करहरुले विदेशबाट ५० ग्राम सुनका गहना काठमाडौँसम्म ल्याईदिएबापत ५ हजार नगद दिने गरेका छन् ।

‘५ हजार नगद नलिनेहरुले दुबईबाट सुन पठाउने मान्छेले भनेको होटलमा एकरात बस्न, खान निःशुल्क पाउँछन्’ गोविन्द यादव (नाम परिवर्तन) भन्छन्, ‘सुनको काम गर्ने मान्छेहरु विदेशमा कामदार खोज्न क्याम्प–क्याम्प पुग्छन् ।’

उनका अनुसार तस्करका दलालले विमानस्थलमै पुगेर पनि नेपाल फर्कने कामदारलाई सुन बोकाएर पठाउँछन् । ‘एयरपोयर्ट जाने, चिनजान गर्ने, सेल्फी लिने र सुन बोकाएर पठाउने गरिन्छ ।’ साउदी अरवमा कार्यरत एक नेपालीले रातोपाटीसँग भने ।

‘कामदारको तलव लिएर सुन कारोबारीहरुले सुन किन्छन्, अनि नेपाल आउने कामदार खोज्दै हिँड्छन्’ कतारबाट केहि दिनअघी मात्र नेपाल आएका एक कामदारले रातोपाटीसँग भने, ‘सुनको काम गर्नेहरुले छुट्टीमा नेपाल जाने कामदार मिलाईदिएको खाण्डमा ५० रियाल पुरस्कार दिन्छन् ।’

खाडी मुलुकको एक रेमिट्यान्स मुलुकमा काम गर्दै आएका नेपाली रेमिट्यान्स कम्पनीका एक कर्मचारीले सुनाए, ‘पैसा पठाउन मानिसहरु बैंक आउनै छाडे । सवै पैसा सुनमा गएको छ ।’ 

यो त भयो सुन तस्करलेले अपनाएको नयाँ तरिका ।

यसको सिधा असर के छ ? यो जान्नु पनि उत्तिकै आवश्यक छ । 

रेमिट्यान्स कार्यालयमा ग्राहक घटेपछि...  

ठूलो परिणाममा हुने सुन तस्करी तत्कालको लागी रोकिएपनि नेपाली कामदार प्रयोग गरेर हुने सुन तस्करीको असर रेमिट्यान्समा देखिएको छ । 

साउदी अरव, मलेशिया, दुवईलगायत धेरै नेपाली कामदार भएको मुलुकमा रेमिट्यान्सबाट फैसा पठाउनेहरुको सख्याँ ह्वात्तै घटेको छ ।

एक रेमिट्यान्सका कर्मचारी भन्छन्, ‘दुई–तीन महिना यता रेमिट्यान्स आउने रकम ह्वात्तै घटेको छ ।’

खाडी मुलुकको एक रेमिट्यान्स मुलुकमा काम गर्दै आएका नेपाली रेमिट्यान्स कम्पनीका एक कर्मचारीले सुनाए, ‘पैसा पठाउन मानिसहरु बैंक आउनै छाडे । सवै पैसा सुनमा गएको छ ।’ 

कामदारका घरपरिवारले यसरी पैसा पाउँछन्

सुन तस्करले कामदारको पैसा विदेशमै लिन्छन् । सुन किन्छन र नेपाल पठाउँछन् । नेपालमा रहेका कामदारको परिवारलाई तस्करकै समूहले पैसा दिन्छन् । आन्तरिक रेमिट्यान्समार्फत तस्करका समूहले कामदारको घरपरिवारका नाममा काठमाडौंबाट रकम पठाउँछन् । यसरी कामदारको रेमिटेन्सको पैसा उनीहरुका घरपरिवारले पाउँछन् । 

‘आन्तरिक रेमिट्यान्स बढेको बढ्यैछ । हामी त एजेन्टहरुको रिपोर्ट हेर्छौँ ।’ एक रेमिट्यान्स कम्पनीमा कार्यरत कर्मचारी भन्छन्, ‘विदेशी रेमिट्यान्स घट्ने, आन्तरिक बढ्ने भनेको केही न केही भएको हुन सक्छ ।’ 

उनले यसको अनुसन्धान गर्न सके डरलाग्दापक्ष सतहमा आउन सक्ने संकेत पनि गरे । 

सुन तस्कर समुहले काठमाडौं लगायतका शहरबाट लोकल रेमिट्यान्स मार्फत श्रमिकका परिवारलाई पैसा पठाएर खाडीमा जाने कामदारले कमाएको पैसा उतै लिएर सुन किन्ने गर्छन् । यसले हुन्डीको कारोबारलाई बढवा दिएको छ । 

यसरी खाडीमा नेपाली कामदारले कमाएको रियल, दिराम, यान, वात र  रिङगेट जस्ता विदेशी मुद्रा खाडीमै रोकिएसँगै नेपाली अर्थतन्त्रमा समेत ठूलो प्रभाव पर्ने देखिएको छ ।

पछिल्लो समय नयाँ तरिबाट हुन थालेको सुन तस्करीका कारण हरेक दिन त्रिभुवन विमानस्थलबाट १७ देखि २० केजी सुन आउने गरेको जानकारहरु बताउँछन् ।

सुन तस्करीमा हुने फाइदा पनि जान्नुहोस्

– मानौँ एक दिनमा १० जनाले ५–५ तोला गरी ५० तोला (५८३ ग्राम) मात्र सुन ल्यायो ।
– ५० तोलको साउदीमा मूल्य (जेठ १४ गतेको मूल्य १ ग्राम बराबर १५६.६ साउदी रियाल)– रु. २६,५२,६५०
– नेपालमा ५० तोला सुनको मूल्य (जेठ १४ गतेको मूल्य १० ग्राम सुन बराबर रु ५०,५००) – २९,४४,१५०
– ५० तोला मात्र सुन ल्याए फाइदा – रु. २,९१,५००
– तर, दैनिक २० केजीसम्म सुन तस्करी हुने जानकारको भनाई छ ।
– १ केजी बराबर ८५.७ तोला हुन्छ ।
– जस अनुसार २० केजी ल्याउँदा फाइदा – रु १,०२,०२,५०० ।–


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप