शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

असार १५ देखि काठमाडौं–वाराणसी नियमित उडान सुरु गर्ने बुद्ध एयरको घोषणा

आइतबार, १३ जेठ २०७५, १५ : १९
आइतबार, १३ जेठ २०७५

काठमाडौं–बुद्ध एयरले  आगामी असार १५ गते देखि काठमाडौं–वाराणसी नियमित उडान संचालन गर्ने घोषणा गरेको छ । 

 बुद्ध एयरले  आइतबार ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै  आगामी असार १५ (जुन २९) देखि काठमाण्डौं–वाराणसी नियमित उडान सञ्चालन गर्न लागेको जानकारी दिएको हो ।  

भारतकाे बनारस (वाराणसी)हिन्दूहरुको महत्वपूर्ण धार्मिक र सांस्कृतिक केन्द्र हो । यो सहरसँग नेपाल र नेपालीहरुको शदियौंदेखिको सम्बन्ध छ । यस अतिरिक्त यो सहरको निक्कै मनोरम सहर पनि हो । नियमित उडानले दुबै सहरका मानिसहरुको सहज आवागमन कामय गराउने कम्पनीका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले विश्वास व्यक्त गरे । 

हुनत बुद्ध एयरले विगत चार वर्ष काठमाडौंदेखि वाराणसीबीचमा महिनामा तीन चारवटा उडान भर्दै आएको थियो ।  तर त्यो अनियमित भएकाले  अब नियमित उडान भर्न लागिएको  बस्नेतले जानकारी दिए । 


‘अब जुन २९ बाट यस एअरलाईनले नियमित रुपमा हप्तामा दुई पटक काठमाण्डौं वाराणसी उडान गर्नेछ । उक्त उडान प्रत्येक हप्ता सोमबार र आइतबार हुनेछ’, प्रबन्ध निर्देशक बस्नेतले पत्रकार सम्मेलनमा भने । 
बुद्ध एयरले विगत २१ वर्षदेखि नेपालीहरुलाई सर्बसुलभ वायुसेवा प्रदान गर्दै आएको छ । बुद्ध एयरले  दिनहूँ नेपालको प्रदेश १ को भद्रपुरदेखि प्रदेश ७ को धनगढी सम्म जोडिरहेको छ । यसका साथै बुद्ध एअरले नेपालमा आएका विदेशी पाहुनाहरुलाई हिमाल श्रृङ्खलाको मनोरम दृश्यावलोकन गराउनेदेखि विभिन्न पर्यटकीय सहरसम्म सहज आवगमन गराइरहेको छ । 

सानो १८ सिटे जहाजबाट शुरु भएर एटीआर७२ सम्म आइपुगेको बुद्ध एअरले हाल दैनिक चार हजार यात्रुहरुलाई सेवा प्रदान गरिरहेको छ । 

प्रबन्ध निर्देशक बस्नेतले बुद्ध एयर भावी दिनमा अन्तराष्ट्रिय गन्तव्यमा केन्द्रित हुने पनि बताए । 

वाराणसीपछि पनि भारतका अरु महत्वपूर्ण सहरहरुमा केन्द्रित हुने उनको भनाई छ । 

भारत विश्वको दोश्रो धेरै जनसङ्ख्या भएको देश हो । वर्षेनी यो देशका साढे तीन करोड नागरिकहरु पर्यटनको लागि देश बाहिरिने गर्छन् । उनीहरुको मुख्य गन्तव्य दक्षिण पूर्वी एशिया हुने गरेको देखिएको छ ।

छिमेकी देश र खुल्ला सिमानाको कारण नेपाल उनीहरुको प्रमुख गन्तव्यमा पर्न सकेको छैन । यो अवस्थालाई उल्टाउन प्रयास गर्दा नेपाललाई फाइदा पुग्ने वायुसेवाका प्रबन्ध निर्देशक बस्नेतले बताए ।
यसै कुरालाई ध्यानमा राखेर एअरलाइनले भारत केन्द्रित भावी योजना शुरु गर्न लागेको र यसको सुरुवान वाराणसी गर्न लागिएको बुद्ध एयरले जनाएको छ । 

यसका अतिरिक्त प्रबन्ध निर्देशक बस्नेतले आफ्नो वायुसेवाले नेपालगञ्ज–दिल्ली–कोलकाता उडान भर्न काम गरिरहेको र अन्तराष्ट्रिय उडानको लागि बोइङ्ग वा एअरबसमध्ये कुनै कम्पनीबाट विमान ल्याउन लागेको पनि जानकारी गराए । 

कार्यक्रममा बुद्ध एअरकी प्रबन्ध अधिकृत आस्था बस्नेतले भाडा किफायती बनाउन केन्द्रित हुने बताइन् । 

यस्तै उनले बुद्ध एयरले एक ट्रभल पोर्टल निर्माण गर्ने योजना पनि प्रस्तुत गरिन् । उक्त पोर्टलले टुर गाइड र होटल व्यावसायीहरुलाई फाइदा पुग्ने उनको विश्वास थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्रवण उप्रेती
श्रवण उप्रेती
लेखकबाट थप