चेपाङ बस्तीमा अनिकाल
–नारायण अधिकारी
चितवन– जिल्लाको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई यतिबेला दुई छाक खान धौ धौ परेको छ । चामलको भात त परको कुरा दुई छाक खोले फाँडो खान पनि मुस्किल भएको छ । राप्ती नगरपालिका वडा नं १० कोराकका पहलमान चेपाङले सिंगो गाउँमै अनिकाल लागेको बताए । जेठ र असार महिना बाँच्न कठिन हुने पीडा सुनाउँदै उनले भने, “कसैका पनि घरमा अन्नपात छैन, जंगलमा गिठा भ्याकुर पाइँदैन परिवारलाई के खुवाउने ? ”
काउलेकी कोपिला चेपाङले पनि दुई छाक खान कठिन भएको बताए । श्रीमान्ले ज्याला मजदूरी गरेर ल्याएको थोरै पैसाले खोले फाँडो खाएर बाँच्नु परेको उन्को गुनासो थियो । एक दुई घर होइन, सबैको पीडा उस्तै छ ।
काउलेका पदमबहादुर चेपाङले यो समस्या पहिलेदेखि हुँदै आएको बताए । स्थानीय तह बने पनि यो समुदायको अनिकालको समस्या टार्न कसैको चासो नभएको उनले बताए । सबैका घरमा खाद्यान्न सिद्धिएको र बारीमा खानेकुरा उत्पादन भइनसकेकाले अनिकाल लागेको उनको भनाइ थियो ।
इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले सबैलाई अनिकाल लागेकाले केही गर्ने उपाय नरहेको बताए । यो समय नै अनिकालको समय भएको भन्दै उनले अबका दिनमा कसरी जीविकोपार्जन गर्न सकिन्छ भन्ने विषयमा स्थानीय तहमा छलफल चलाइएको जानकारी दिए ।
आयआर्जन बढाउन कतिपय ठाउँमा बाख्रा वितरण गरिएको भन्दै वडाध्यक्ष चेपाङले त्यस क्षेत्रका बासिन्दाको आयआर्जन बढाउने कार्यक्रम ल्याउन सकेमा चेपाङ समुदायले अनिकाल व्यहोर्नु पर्ने अवस्था समाधान हुने बताए ।
“चेपाङ बस्तीमा जेठ र असार महिना अन्न बाली भित्रिइसकेको हुँदैन, साग सिस्नु पनि बारीमा हुँदैन । कन्दमूल पनि सकिन्छ ।” नेपाल चेपाङ संघका जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने, “मंसिरमा भित्रिएको अन्न जेनतेन चैत वैशाखसम्म चल्छ । साउनमा मकै नपाकुन्जेल भोकमरी नै हुन्छ ।”
विगतमा यतिबेला फल्ने गरी कागुनो रोप्ने गरिए पनि पछिल्लो समय त्यो खेती पनि राम्रो हुन छाडेपछि उनीहरुले रोप्न छोडेको र पिडालु, जंगली तरुलजस्ता कन्दमूल र चमेरा पनि नपाउने हुँदा संकट परेको उनले बताए ।
यतिबेला चेपाङले निमेक ज्याला र ऋण गरेर खोले फाँडो खाने, माउ सिस्नो खाने, चिउरी मगाएर खाने गर्छन् ।
जिल्लामा चेपाङको जनसंख्या २८ हजार ३६३ छ । उनीहरुमध्ये आधाको आफ्नै नाममा जग्गा दर्ता छैन । उनीहरुको जग्गाबाट भएको उब्जनीले जेनतेन छ महिना चल्ने भएकाले जेठ असारमा अनिकाल नै व्यहोर्नु पर्ने भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश भागबन्डामा कुनै सहमति भएको छैन : प्रवक्ता सापकोटा
-
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला १ लाख ३० हजार
-
‘लन्डन टु पेरिस’को पोस्टरमा रोमान्टिक कबिर र गरिमा
-
समाजवाद निर्माणका लागि बलियो कम्युनिस्ट शक्तिको खाँचो
-
प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन
-
जब कुलदीप यादवले कप्तान ऋषभ पन्तलाई ‘डीआरएस’ का लागि बाध्य पारे