बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किमसँगको भेटवार्ताको समय र स्थानमा ‘कुनै बदलाब भएको छैन’ : ट्रम्प

आइतबार, १३ जेठ २०७५, १२ : १४
आइतबार, १३ जेठ २०७५

न्युयोर्क–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनसँग अर्को महिना गर्ने भनिएको भेटवार्ताको आशा पुनर्जीवित गरेका छन् । शनिबार ह्वाइट हाउसमा बोल्दै उनले रिपोर्टरलाई भने– “जुन १२ मा सिङ्गापुरमा हुने भनिएको भेटलाई लिएर हामी काम गरिरहेका छौं । यसमा कुनै बदलाब भएको छैन ।”

ट्रम्पको यो प्रतिक्रिया शनिबार दक्षिण कोरियाली नेता मुन जाइ–इनले उत्तरका समकक्षीसँगको ‘सरप्राइज भेट’पछि किम अझै पनि आणविक निःशस्त्रीकरणमा प्रतिबद्ध रहेको बताएपछि आएको हो ।
“चियरम्यान किम जोङ उन आणविक निःशस्त्रीकरणमा स्पष्ट छन् तर उनको मुख्य चिन्ता भनेको उत्तर कोरियाले आणविक निःशस्त्रीकरण गरेपछि अमेरिकाले शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्छ कि गर्दैन र किमको शासनको सुरक्षाको सुनिश्चितता हुन्छ कि हुँदैन भन्ने हो ।” मुनले भने ।

बिहीबार ट्रम्पले बहुप्रतिक्षित अमेरिका–उत्तर कोरियाको भेटवतार्ता अचानक रद्द गरेका थिए । भेटवार्ता रद्द गर्ने कारणमा ट्रम्पले उत्तर कोरियाली अधिकारीहरूको अभद्र टिप्पणी र उत्तरको आणविक हतियार त्याग्ने प्रतिबद्धतामा कमी उल्लेख गरेका थिए । 

आइतबार मुनले अमेरिका र उत्तर कोरियाबीचमा ‘धेरै छिट्टै’ व्यावहारिक वार्ता हुने बताएका थिए । मुनले त्यस वार्ताको परिणामले जुन १२ को भेटलाई निर्धारण गर्ने बताए । 

सम्भावित वार्ताबारे टिप्पणी गर्दै ट्रम्पले वार्ताबारेमा ‘धेरै सदभाव’ रहेको बताए । “धेरै मानिस यसमा काम गरिरहेका छन् । यो निक्कै राम्रोसँग अघि बढिरहेको छ ।”

तर उत्तर कोरिया विज्ञहरूले भने यो वार्ताबाट त्यति उत्साही छैनन् । उनीहरू यो वार्ताको महत्व जति छ, त्यो अनुपातमा ट्रम्प प्रशासनले काम नगरिरहेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप