शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अब वैद्य, विप्लव, किराँती र आहुतीले भिन्दाभिन्दै पार्टी चलाउँछन् कि एकता गर्छन् ?

आइतबार, १३ जेठ २०७५, ११ : २३
आइतबार, १३ जेठ २०७५

काठमाडौँ । जेठ २ गतेसम्म पनि मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लव प्रचण्डको नेतृत्वको माओवादी केन्द्रलाई मूलधारको माओवादी मान्न तयार थिएनन् । आफूलाई नै उनीहरू मूलधारको माओवादी ठान्थे । जब जेठ ३ गते तत्कालीन माओवादी केन्द्र र एमालेबीच एकता भयो । वैद्य र विप्लवलाई दाबी गर्न के सहज भयो भने अब उनीहरू नै ‘खास’ माओवादी हुन् । जेठ २ गतेसम्म प्रचण्डले मूलधारको माओवादीको नेतृत्व गरेका थिए । 

वैद्य र विप्लव मात्रै होइन, अब गोपाल किराँती र विश्वभक्त दुलाल पनि प्रचण्डविनाकै ‘माओवादी’ बनाउने दौडमा छन् । यद्यपि किराँतीले माओवादी केन्द्रकै नाममा पार्टी पुनर्गठनको अभियान चलाएका छन् भने दुलाल चाँडै नै पार्टी घोषणाको तयारीमा छन् । 

यस्तोमा अर्को बहस पनि छ । के वैद्य, विप्लव, किराँती र दुलाल मिलेर एउटै पार्टी बनाउलान् ? 

हुन त प्रचण्डले तत्कालीन माओवादीको नेतृत्व गरिरहँदा पनि धेरै पटक फुट र जुटको शृङ्खला भयो । प्रचण्डलाई छाडेर हिँडेकाहरू धेरेजसो पछि पुरानै घर फर्के । मूलधारको माओवादीबाट विभाजन भएर छुट्टै माओवादी गठन गरेका अन्य दल राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी भूमिकामा छैनन् । अहिले उनीहरूले सडकबाटै आफ्ना मुद्दा उठाइरहेका छन् । 

प्रचण्ड र तत्कालीन माओवादीलाई गाली गर्ने मामलामा वैद्य, विप्लव, किराँती र आहुती एक ठाउँ छन् । तर अगाडिको बाटो कस्तो हुन्छ अर्थात पार्टीको कार्यदिशाको सवालमा चाहिँ उनीहरूमा एकरूपता छैन । यस्तोमा उनीहरूबीच एकता त्यति सजिलो पनि छैन । बरु, मुद्दाका आधारमा कार्यगत एकता उनीहरूबीच तत्काल सम्भव हुन पनि सक्छ । 

हुन त हुन त वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच पार्टी एकताका लागि बेला बेला संवाद पनि हुने गरेका छन् । बेला–बेला संयुक्त विज्ञप्ती पनि आउने गरेका छन् । तर अहिलेसम्म उनीहरू एकता गर्ने तहमा चाहिँ पुग्न सकेका छैनन् । 

प्रचण्डले आफ्नो नेतृत्वको माओवादीलाई एमालेसँग एकतामा लगेपछि ‘माओवादी’को नाममा पार्टी बनाउने मैदान खाली छ । यो खाली मैदानमा वैद्य, विप्लव, किराँती र आहुतीले एक्लाएक्लै उत्रिन्छन् कि टिम बनाएर, अहिले नै यकिन गरेर भन्न सक्ने अबस्था छैन् । तर एमाले–माओवादी एकतापछि उनीहरूमाथि एकताका लागि दबाब भने बढ्दैछ । 

तत्कालीन मूलधारको माओवादीबाट छुट्टिएका मध्ये वैद्यले नेतृत्व गरेको नेकपा क्रान्तिकारी माओवादी, विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी अस्तित्वमै छन् । त्यस्तै गोपाल किराँतीले माओवादी केन्द्र पुनर्गठन र विश्वभक्त दुलाल लगायतका नेताले नयाँ वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल निर्माणको अभियानमा छन् । यद्यपि यो पार्टी घोषणा भइसकेको छैन । 
दुलालबाहेकका नेता जनयुद्धकालमा प्रचण्डका सारथी थिए ।

विप्लव नेतृत्वको पार्टीबाहेक अन्य पार्टी खुला राजनीतिमै छन् । तर विप्लव भूमिगत शैलीमा राजनीति गरिरहेका छन् । 

प्रचण्डले माओवादीको विचार, सिद्धान्त र क्रान्तिलाई लत्याएको आरोप लगाउँदै बाहिरिएका यी नेता एमाले–माओवादी एकतामाथि पनि कठोर आलोचना गरेका छन् । तर उनीहरूले प्रचण्ड नेतृत्वको माओवादीलाई लगाएको आरोप मिल्दाजुल्दा छन् । 

एमाले–माओवादी एकताबारे यी पार्टीको धारणा कस्तो ? 

नेत्र विक्रम चन्द विप्लवले विज्ञप्ती जारी गर्दै एमाले र माओवादीबीचको एकतालाई  क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिस्टहरूको गठजोड भनेर टिप्पणी गरे । उनले विज्ञप्ती मार्फत ‘कम्युनिस्ट आदर्शबाट च्यूत भएका अवसरवादी तथा संशोधनवादीको एकता भएको जनाएका थिए ।’

‘यो एकताको सबैभन्दा भद्दा र कुरूप चित्र भनेको प्रचण्ड माओवादीको सम्पूर्ण रूपले विसर्जन हो । प्रचण्डहरू यो आत्मासमर्पणको खाडलमा जाकिन्छन् भन्ने कुरा पहिला नै देखेको र भनेको पनि हो । हामीले उनीहरूको गडबढीलाई विचलन देखेर नै उनीहरूबाट विद्रोह गरेर क्रान्तिकारी पार्टीको पुनर्गठन गर्ने पहल गरेका हौं । अब प्रचण्डहरूमा माओवादीको ‘म’ पनि रहेन ।’ विप्लवको विज्ञप्तीमा छ, ‘उनीहरू प्रतिक्रियावादमा पतन भएको दुस्मनसँग विलय हुन पुगेका छन् । र स्वयम्लाई दलाल पुँजीवादी संसदीय व्यवस्थाको पाले र क्रान्तिको बाधकमा पतन गराएका छन् । अब उनीहरूलाई के भन्ने ? विषय गम्भीर छ । उनीहरूले सोच्लान् बलियो सरकार भएपछि क्रान्तिकारी उग्रवादीहरूलाई दमन गर्न सजिलो हुन्छ । यो उनीहरूको भ्रम र कल्पना मात्र हो । 

वैद्यले वाम एकताका नाममा माओवादी केन्द्रको विलय भएको बताए । युवालाई प्रशिक्षण दिन ओखलढुङ्गा पुगेका वैद्यले पत्रकारहरूसँग कुरा गर्दै एमाले र माओवादी केन्द्रबीच एकता नभएर दक्षिणपन्थी र अवसरवादी धारको मिलन भएको टिप्पणी गरेका थिए । ‘यो एमाले र माओवादीको एकता नेकपा हैन, माओवादी एमालेमा विलय भएको हो, जुन माओवादीले समाजवादका लागि लाग्दै आएको शक्ति विलय भइछाड्यो’, उनले भनेका थिए ।  

नेपालमा संशोधानवादी, अवसरवादी धारको एकीकरण भएकाले अब क्रान्तिकारी कम्युनिस्टहरूको धु्रवीकरणमा नयाँ जनवादी धारको विकास गर्दै नयाँ जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले बताएका थिए । नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादको विरुद्धमा सङ्घर्ष गर्ने उनले बताएका थिए । 

तत्कालीन माओवादी केन्द्रले फागुन १० गते किराँतीलाई पार्टीबाट निष्काशन गरेको थियो । त्यसपछि उनी माओवादी केन्द्रलाई पुनर्गठन गर्ने अभियानम जोडिए । नेता किराँतीले एमाले–माओवादी एकतापछि ‘प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नव प्रतिक्रियावादी कित्तामा पलायन भएको’ आरोप लगाए । एकताको भोलिपल्ट नेता किराँतीले प्रचण्ड नेतृत्वको पार्टीले माक्र्सवाद, लेनिनवाद, माओवादको विचार र बल प्रयोगको सिद्धान्तमा आधारित विचारधारा त्यागेको आरोप लगाएका थिए ।

यी पार्टीमा देखिएका समानता 

एमाले–माओवादी एकतापछि यी पार्टी एकता गर्नुपर्ने सैद्धान्तिक बुझाइमा छन् । 

विप्लवले जारी गरेको विज्ञप्तीमा एमाले र माकेको एकताले क्रान्तिकारीमा नयाँ शक्ति र अवसर पैदा गरेको उल्लेख गरेका छन्् । उनले भनेका छन्, ‘सम्पूर्ण क्रान्तिकारी कम्युनिस्टहरू, इमानदार कमरेडहरू ढिला नगरी ध्रुवीकृत हुने बेला आएको छ । सबैतिर रहेका क्रान्तिकारीहरू माक्र्सवाद–लेनिनवाद–माओवाद र एकीकृत क्रान्तिको मार्गमा गोलबन्द हुन जुटौँ । सच्चा क्रान्तिकारीहरूको एकता त्यही प्राप्त हुन्छ । देश र जनताको वास्तविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजवादमा मात्र सम्भव छ ।’

वैद्यले भनेका छन् ‘एमालेमा विलय भएको पार्र्टीसँग एकता गर्ने कुरै भएन, अब बाँकी दुईवटा नेकपा र नेकपा मसालसँग पार्टी एकताको निम्ति छलफलको प्रकृया अघि बढाएका छौँ,  ‘कार्यगत एकताका लागि सबै क्रान्तिकारी शक्तिहरूलाई गोलबन्द गर्ने दिशामा छौँ’ ।

किराँतीले जारी गरेको विज्ञप्तीमा माओवादी केन्द्रको पुनर्गठनमा जुट्न आग्रह गरेका छन् । उनी तत्कालीन माओवादीमै हुँदा माओवादी केन्द्रको पुनर्गठन अभियान चलाएका थिए । विज्ञप्तिमार्फत नेता किराँतीले माओवादी केन्द्रको पुनर्गठनमा जुट्नसमेत सबैमा आग्रह गरेका छन् । 

नेताहरूको के भन्छन् ? 

सीपी गजुरेल, नेता क्रान्तिकारी माओवादी

पूर्व माओवादी भएकै कारण एकताको आधार बन्छ जस्तो लाग्दैन । पूर्व माओवादी थियो थिएन भन्दा पनि अहिले छ छैन भन्ने कुरा हाम्रा लागि मुख्य हो । पूर्व माओवादीमा भित्र पनि विभिन्न विचार, राजनीतिक मतभेद भएर नै छुट्टै समूह बनेका हुन् ।  

अहिले विप्लव नेतृत्वको पार्टीसँग कार्यगत एकतामै छौं । छलफल पनि गर्दै छौँ । तर अहिले उहाँहरूसँग खासै भेटघाट हुन पाएको छैन । एकताका लागि पछिल्लो समय वैचारिक राजनीतिक छलफल चलेको छैन । अन्य पूर्व माओवादीहरूसँग हाम्रो छलफल भएको छैन । 

तर नेपालमा अहिलेको सम्भावना धु्रवीकरणको छ । माओवादी केन्द्र एमालेमा मिसिइसकेपछि केही असन्तुष्ट साथीहरू क्रान्तिकारी धारमा आउन खोजिरहनुभएको छ । माओवादी केन्द्रले नयाँ ढङ्गले सजिलै क्रान्ति गर्छ भन्ने लागेका केही सच्चा क्रान्तिकारी साथीहरूको मोह भङ्ग भएको छ । अब त्यस्ता साथीहरू धु्रवीकरणमा आउन खोजिरहनुभएको छ । त्यसैले अब धु्रवीकरणको सम्भावना बढेको छ । 

गोपाल किराँती, नेता नेकपा माओवादी केन्द्र

सैद्धान्तिक रूपमा हामी, वैद्य, विप्लव र आहुतीले नेतृत्व गरेका ४ वटा समूहले माओवाद मान्छौँ । सैद्धान्तिक आधारमा हामी एक छौँ । तर आहुतीहरूको समूहले पुनर्गठनभन्दा नयाँ बनाएर जाने भन्ने लाइनमा हुनुहुन्छ । हाम्रो असोजदेखि नै माओवादी केन्द्रलाई नै पुनर्गठन गर्ने भन्ने लाइन हो । 

वैद्य र विप्लव नेतृत्वको पार्टीसँग हाम्रो अन्तर संविधानलाई हेर्ने दृष्टिकोणमा हो । उहाँहरू संविधानलाई खारेज गर्नुपर्छ भन्नुहुन्छ तर हामी गणतन्त्रलगायतका विषयलाई संरक्षण गर्ने र कमजोरी सच्चाउनको निम्ति सङ्र्घष गर्ने भन्ने हो । सैद्धान्तिक आधारमा पार्टी एकताको लक्ष्य हुन्छ हाम्रो तर राजनीतिकलगायत संविधानलाई हेर्ने दृष्ट्रिकोणका कारण तत्काल एकता नहोला । 

वैद्यसँग केही सामान्य छलफल सुरु भएको छ । विप्लव भूमिगत भएका कारण अरू केही सिनियर नेतासँग पनि सामान्य छलफल भएका छन् ।

प्रचण्डहरूले छोडेर गइसकेपछि यही पार्टीमा रहेका साथीहरू महाधिवेशनको छलफलमा छौँ । हामीले महाधिवेशन आयोजक समितिको वैठक आह्वान गरेका छौँ । त्यो वैठकले महाधिवेशनको मिति तोक्छ । त्यसपछि वैद्य विप्लव नेतृत्वसँगको एकताको छलफल गर्ने नगर्ने निर्णय होला । 

तर हाम्रो परिभाषा के हो भने वैद्यहरूले पार्टी विभाजन गर्नुभयो । त्यसपछि वैद्यबाट विप्लवजी अलग्गिनुभयो । आहुतीजीले पार्टी परित्याग गर्नुभयो । त्यसैले सक्कली माओवादी हामी हौं । 

विश्वभक्त दुलाल, आहुती

हामी पुराना पार्टीबीच एकताभन्दा पनि नयाँ पार्टी बनाएर जानुपर्छ भन्ने लाइनमा छौं । हामीले औपचारिक रूपमा पार्टी घोषणा गरिसकेका छैनौं तर अब छिट्टै घोषणा गर्छौं । तर अहिले तत्काल कतै एकताको छलफल भएको छैन । 

मूलधारको माओवादी कहिले छोडेका थिए यी नेताले ? 

वैद्य र विप्लव ०६९ असार ५ मा तत्कालीन माओवादीबाट पार्टी फुटाएर नयाँ पार्टी गठन गरेका थिए । पछि विप्लवले वैद्यलाई छाडेर नेपाल कम्युनिस्ट पार्टी गठन गरे । 

त्यस्तै फागुन १० गते तत्कालीन माओवादी केन्द्रले गोपाल किराँतीलगायतका नेतालाई कारबाही गरेको थियो । उनी माओवादी पुनर्गठनको अभियान छन् । 

एमाले माओवादी एकता प्रक्रियाको केही महिना आफै सक्रिय रहेका आहुतीले एकताको अन्तिम समयमा आएर प्रचण्डलाई अध्यक्ष मान्न नसकिने भन्दै विज्ञप्तीमार्फत पार्टी छोडेको घोषणा गरेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप