शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक टेलिफोनमार्फत व्यवसाय सुरु गर्ने यी व्यक्ति यसरी बने अर्बपती

आइतबार, १३ जेठ २०७५, १० : १५
आइतबार, १३ जेठ २०७५

लुआना फेर्रेइरा, बीबीसी

जब उनी १९ वर्षका थिए, उनले फोनमार्फत अंग्रेजी पाठ्यक्रम बेच्ने जागिर पाए । यसमा समस्या यो थियो कि उनको घरमा फोन नै थिएन तर उनले उक्त काम गरेरै छोड्ने र आफ्नो लक्ष्यबाट पछि नहट्ने सोच बनाए ।

फ्लावियो अगस्तो दा सिल्वा त्यतिबेला रियो डि जेनेरियोमा आफ्नो आमाबुवासँग बस्थे ।

सन् १९९१ मा ब्राजिलमा टेलिफोन लाइन लिने व्यक्ति धनीको सूचीमा पर्दथे । यसका लागि एक लाख रुपैयाँभन्दा बढी तिर्नुपर्दथ्यो । उनको परिवारसँग त्यति पैसा थिएन । यदि पैसा भइहाले पनि घरमा फोन राख्न दुई वर्ष प्रतिक्षा गर्नुपर्दथ्यो ।

त्यतिबेला साधारण मानिसले मोबाइल चलाउने बारे सोच्नै सक्दैनथे । फ्लावियो अगस्तोले आफ्नो जागिर बचाउनका लागि दोस्रो तरिका अपनाए ।

उनले स्यान्टोस ड्युमोन्ट एयरपोर्टको सार्वजनिक टेलिफोन प्रयोग गर्ने सोच बनाए र बिस्तारै एयरपोर्टको टर्मिनल उनको नयाँ अफिस बन्यो ।

सुरुवातः

आज फ्लावियो अगस्तोको आफ्नै विद्यालय छ  जसको नाम उनले वाइज अफ एजुकेशन राखेका छन् । उक्त स्कूलको वार्षिक कारोबार ७७२ करोड भारु छ र आज उनी करिब दुई हजार करोड भारुमा मालिक हुन् ।

४६ वर्षीय यी व्यवसायी भन्छन्, ‘मलाई कुनै शंका छैन कि उक्त एयरपोर्टमा मैले आफ्नो लक्ष्य हासिल गरेँ ।’

जब फ्लावियो अगस्तोले फोनमार्फत बेच्न सुरु गरे तब उनलाई एयरपोर्टको हल्लामा पनि  अंग्रेजी पाठ्यक्रम बेच्ने कला आफूमा भएको महसुस भयो ।

जागिर सुरु गरेको केही समयपछि नै उनी कम्पनीको कमर्शियल डायरेक्टर बने र चार वर्षपछि उनले आफ्नै स्कूल सुरु गर्ने निर्णय गरे ।

उनी भन्छन्, ‘म यसका लागि तयार भएको महसुस गरें । म जुन कम्पनीमा काम गरिरहेको थिएँ, उक्त कम्पनीले कोर्सलाई उत्कृष्ट बनाउनका लागि आवश्यक लगानी गर्न तयार थिएन ।’

‘मलाई प्रोडक्टबारे राम्रो ज्ञान थियो र थाहा थियो कि म त्यसलाई उत्कृष्ट बनाउन सक्छु ।’

सजिलो थिएन बाटोः

यद्यपी, यी सबै फ्लावियोका लागि सजिलो थिएन । उनले अनेकौं चुनौतीको सामना गर्नुपर्यो ।

पहिलो चुनौती यो थियो कि उनलाई अंग्रेजी आउँदैनथ्यो । उनलाई अंग्रेजीका केही शब्द मात्र आउथे ।

दोस्रो चुनौतीे थियो – फ्लावियोले बैंक लोन पाएनन् जसका कारण उनले अन्य व्यक्तिबाट उच्च ब्याजदरमा ऋण लिनुपरेको थियो ।

चुनौतीको सामना गर्दै फ्लावियोले वाइज अफ बिजनेस इंगलिश स्कूलको स्थापना गरे र उनले अन्य कम्पनीको निशानामा रहेकालाई आफ्नो टारगेट अडियन्स बनाए ।

त्यतिबेला धेरैजसो यस्ता कम्पनीले बच्चा र देशबाट बाहिर घुम्न जानेहरुलाई आफ्नो ग्राहक बनाउँथे ।

फ्लावियोले जागिर खोजिरहेका युवालाई आफ्नो ग्राहक बनाए ।

फुटबल क्लबमा लगानीः

सन् १९९५ मा ब्राजिलको अर्थव्यवस्था खस्कँदो थियो । महँगीको दर १४८ प्रतिशत थियो  । यति हुँदा हुँदै पनि उनको स्कूलमा पहिलो वर्ष नै एक हजार युवा भर्ना भए ।

तीन वर्ष पछि फ्लावियो यस्ता २४ स्कूलका मालिक भए । यी स्कूल देशका विभिन्न शहरमा सुरु गरिएका थिए ।

आफ्नो व्यवसायलाई अगाडि बढाउनका लागि उनले सन् २०१२ मा फ्रेन्चाइज मोडलको सुरुवात गरे । त्यसपछि उनको कम्पनीले चारसय अन्य ब्रान्चको स्थापना गरे ।

त्यसपछि फ्लावियोले केही नयाँ गर्ने निर्णय गरे । उनले कम्पनीलाई जुन उचाईमा पुराउन चाहन्थे त्यो हाँसिल गरेको उनले महसुस गरे । त्यसपछि उनले आफ्नो कम्पनीलाई ब्राजिलको एक समूह अब्रिललाई १६४० करोड भारुमा बेचिदिए ।

एक वर्षपछि सन् २०१३ मा उनले ओलान्डो सिटी फुटबल क्लबमा ८२० करोड भारु लगानी गरे । उनले सकर लिगमा उक्त समूह समावेश भएको केही दिन अघि लगानी गरेका थिए ।

अहिलेको समयमा क्लबको मूल्य बढेको छ र आज यसको मूल्य करिब साढे तीन हजार करोड भारु अनुमान गरिएको छ ।

तर उनले लगानीका लागि ओर्लान्डोलाई नै किन छाने ? यस्तो उनले यसकारण गरे किनभने ओर्लान्डो ब्राजिलका मानिसहरुको मनपर्ने स्थान हो ।

त्यसपछि वाइज अपको के भयो ?

जुन कम्पनीले यसलाई किनेका थिए, उनीहरुले त्यसलाई चलाउन सकेनन् र कम्पनीका मालिकले फ्लावियोलाई पुनः आधा रकममा बेच्ने अफर गरे ।

उनले दोस्रोपटक त्यसलाई खरिद गरे र आज यो कम्पनीको ४ सय ४० स्कूल भइसकेका छन् । फ्लावियोले सन् २०२० सम्म ल्याटिन अमेरिकामा एक हजार ब्रान्च खोल्ने लक्ष्य राखेका छन् ।

व्यापार विश्लेषक रिचर्ड मोट्टाका अनुसार फ्लावियो एक ‘बोल्ड व्यापारी’ को रुपमा चर्चित छन् जसले आफ्नो कम्पनीलाई आफ्नो दुरदर्शी सोचले अगाडि बढाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप