बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

खानेपानीको समस्या समाधानका लागि गुरुयोजना आवश्यकः मुख्यमन्त्री पोखरेल*

शनिबार, १२ जेठ २०७५, २० : ४०
शनिबार, १२ जेठ २०७५

दाङ । प्रदेश नंं ५ का मुख्यमन्त्री शंकर पोखरेलले दाङमा खानेपानी सहज आपूर्तिका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

जिल्ला खानेपानी डिभिजन कार्यालय र जिल्ला पानी सञ्जाल, दाङको आयोजनामा आज दाङको तुलसीपुरमा आयोजित खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रममा सो कुरा बताएका हुन् । 

‘पानीको समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुहोस्, त्यसमा प्रदेश सरकारले सहयोग गर्नेछ’, उनले भने । 

प्रदेशका केही जिल्लामा खानेपानीको अवस्था अत्यन्तै दयनीय रहेको बताउँदै पोखरेलले भने, ‘प्रदेश नं ५ का सबै जिल्लामा खानेपानीको सुविधा पुग्न सकेको छैन । समग्र प्रदेशको अवस्था हेर्ने हो भने ८८ प्रतिशत घरपरिवारमा खानेपानी सुविधा पुगेको छ । धेरै घरधुरीमा खानेपानी सेवा उपलब्ध भएको तेस्रो प्रदेशका रुपमा हाम्रो प्रदेश रहेको छ ।’ 

खानेपानी सुविधाका दृष्टिले प्रदेश नं ५ को सबैभन्दा कमजोर जिल्लाका रुपमा दाङ रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यहाँका ५५ प्रतिशत घरधुरीमा मात्र सतहको खानेपानी सुविधा पुगेको बताए । उनले यसतर्फ जिल्लाका स्थानीय तहहरु गम्भीर बन्नुपर्ने बताए । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख चोपप्रसाद धितालले दाङमा समग्रमा ७५ प्रतिशत जनताले खानेपानीको सुविधा पाएको बताए । 

उनले सबैभन्दा ठूलो पानीको स्रोत सतहको पानी ५५ प्रतिशत रहेको र बाँकि अन्य उपभोक्ताले जमिनमुनिको पानी खाने गरेको बताए । 

धितालले खानेपानीको विकल्पमा पातुखोलामा बहुउद्देश्यीय उच्च जलाशयको सम्भाव्यता अध्ययनका साथै गुहार खोला र कटुवा खोलामा पनि उच्च जलाशय निर्माण गर्न सकिने बताए । 

दुई दिनसम्म सञ्चालन हुने कार्यशाला गोष्ठीले जिल्लामा रहेका खानेपानीको दिगो विकास व्यवस्थापनसम्बन्धी ठोस कार्यनीति तय गर्ने बताएको छ । दाङका विभिन्न खानेपानी समितिका २०० भन्दा बढी प्रतिनिधिको गोष्ठीमा सहभागिता रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप