बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

केपी ओलीले कांग्रेसलाई ‘सहयोगी’ भन्दा सिटौलाको आपत्ति, भेटेरै सोधे, ‘तपाईँले के भन्न खोज्नुभएको ?’

शनिबार, १२ जेठ २०७५, १५ : ०४
शनिबार, १२ जेठ २०७५

काठमाडौं–एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा सभामा बोल्दै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसलाई कम्युनिष्टको ‘सहयोगी’ पार्टीको संज्ञा दिएका थिए ।

ओलीको त्यस्तो व्यंग्यप्रति कांग्रेस नेता कृष्ण सिटौलाले आपत्ति जनाएका छन् ।

‘केपी ओलीजीले मनैदेखि हाम्रो पार्टीलाई हेप्न थालेको हो की ?’ शनिवार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै सिटौलाले भने, ‘मनैदेखि हेप्न थालेको हो भने उहाँको पतन शुरु भयो, सत्ताले मान्छेलाई अन्धो बनाउँछ अनि अहंकारले पतन हुन्छ ।’  

प्रधानमन्त्रीले कांग्रेसलाई हेपेर ‘सहयोगी’ भनेपछि नेता सिटौलाले प्रधानमन्त्रीलाई भेटेरै असहमति व्यक्त गरेका छन् । 

‘मैले भेटेरै सोधेँ, जरा–बुट्टा खोजेजस्तो खोज्नुपर्ने, सहयोगी भनेर के भन्न खोज्नुभएको ?’ सिटौलाले भने, ‘उहाँले सहयोगी हैन सहयात्री भनेको प्रतिक्रिया दिनुभो तर जरा–बुट्टा खोजेजस्तो खोज्नुपर्ने भन्ने कुराको उत्तर पाइनँ ।’ 

चीनमा जतिसुकै पार्टी खुलेपनि चिनियाँ कम्युनिष्ट पार्टीको विचारसँग नबाझिनेगरी खोल्नुपर्ने कानुनी प्रावधान रहेको स्मरण गर्दै सिटौलाले नेपालमा कांग्रेस कदापी कम्युनिष्टको सहयोगीको रुपमा मात्र नरहने बरु प्रतिस्पर्धी हैसियमा रहने दाबी गरेका छन् । 

माओवादी र एमालेको बीचमा एकीकरण भएसँगै शान्तिप्रक्रियाको बाँकी काम कसरी टुंगोमा पुग्छ भन्नेबारे सिटौलाले चासो ब्यक्त गरेका छन् । ‘सत्य निरुपण तथा मेलमिलाप आयोग,  वेपत्ता छानविन आयोगले काम टुंगोमा लैजानका लागि तत्कालिन विद्रोहीको तर्फबाट प्रचण्डसँग डिल गर्ने अथवा केपी ओलीसँग कुरा गर्ने ?’ प्रश्नात्मक शैलीमा सिटौलाले भने, ‘पीडित परिवारको ठूलो गुनासो छ, पीडितको गुनासो सम्वोधन गर्नका लागि नेपाल कम्युनिष्ट पार्टीले कस्तो कदम चाल्छ भन्नेमा हाम्रो चासो  छ ।’ 

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगको काममा राज्यले हस्तक्षेप गरेमा नयाँ प्रकृत्तिको समस्या आउने उनको भनाई छ । 
   

विप्लवको मुभमेन्ट डरलाग्दो 

राज्य पक्षको नीतिगत अराजकता र नेकपाका विप्लवको आतंकका कारण राज्यमा अर्को द्वन्द सिर्जना हुन लागेको भन्दै कांग्रेस नेता सिटौलाले सर्वसाधारणले फेरि दुःख पाउन लागेको बताएका छन् । ‘सत्ता पक्षमा देखिएको अराजकता र विद्रोहीको कारण जनता मारमा पर्ने देखिन्छ’ उनले भने, ‘यो समस्यालाई समयमै समाधान गर्न नसकेमा जनता फेरी समस्या भोग्न बाध्य हुनेछन् ।’ 

राज्य पक्षको अराजकताको प्रभाव अहिले शिक्षा, प्रेस र प्रहरी प्रशासनमा देखा परेको उल्लेख गर्दै नेता सिटौलाले विप्लव समूहको विद्रोह पनि आतंकित रुपमा अगाडी बढेको बताएका छन् । 

‘संसदीय निर्वाचनको बेला विप्लवले बम विष्फोट गराएर ठूलो आर्थिक क्षति गराएका छन्’ उनले भने, ‘पछिल्लो सयम कांग्रेसका नेता कार्यकर्तामाथि विप्लव समूहले आक्रमण बढाएका छन् ।’ 

त्यस्तै केन्द्र सरकार र प्रदेश सरकारको दोहोरो निर्णयको चेपुवामा जनता परेको भन्दै कांग्रेस नेता सिटौलाले चिन्ता ब्यक्त गरेका छन् । 

कांग्रेसमा चाकडीबाज धेरै

पत्रकारहरुसँग लामो अनौपचारिक कुराकानी गरेका सिटौलाले नेपाली कांग्रेसमा स्वाभिमानीहरुको जमात घट्दै गएको बरु चाकडीबाजहरुको जमात बढ्दै गएको बताएका छन् ।

 पछिल्लो निर्वाचनमा लज्जास्पद हार ब्यहोर्नुको कारण खुट्याउँदै नेता सिटौलाले भने, ‘टिकट वितरणमा ठूलो गुनासो थियो, हामीले जसको जोत उसको पोत भन्ने नारा ल्यायौं तर निर्णय प्रक्रियामा सामन्ती शैली अपनाएपछि जनता र कार्यकर्तामा हामीप्रतीको गुनासो बढेको थियो ।’ 

कांग्रेसमा तलदेखि माथिसम्म चाकडीबाजहरुको झुण्ड रहेको स्विकार्दै नेता सिटौलाले भने, ‘कांग्रेसको पूरै पंक्ति चाकडीबाज बाट मुक्त हुनुपर्छ, स्वाभिमानी संस्कारको विकास भएमा मात्र हामी दिगो ढंगले अगाडी बढन् सक्छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप