शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौंका दुई डिएसपीसहित ८ प्रहरी पुरस्कृत, ‘विभेद गरिएको’ भन्दै असन्तुष्टि

शुक्रबार, ११ जेठ २०७५, १७ : ५७
शुक्रबार, ११ जेठ २०७५

काठमाडौं – महानगरीय प्रहरी परिसर काठमाडौंले उत्कृष्ट कार्य गरेको भन्दै दुई डिएसपीसहित ८ जना प्रहरी कर्मचारीलाई नगदसहित पुरस्कार प्रदान गरेको छ । वैशाख महिनाभर उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत हुनेहरुमा महानगरीय प्रहरी वृत कालिमाटीका प्रमुख (डिएसपी) प्रदिप क्षेत्री, महानगरीय प्रहरी वृत गौशालाका प्रमुख (डिएसपी) अनुपम श्रेष्ठसहित आठ जना रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग बलम्बुकी इन्चार्ज (इन्सपेक्टर) शर्मिला गुरुङ, नगर प्रहरीका इन्सपेक्टर पुष्कर बोगटी, महाराजगञ्ज वृत्तमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) टेक बहादुर कुँवर, बालाजु वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) शिव कट्टेल, प्रहरी परिसर टेकुमा कार्यरत प्रहरी जवान अर्जुन सेठ्ठी र प्रभाग बलम्बुका हवल्दार विक्रम लामा पुरस्कृत भएका छन् ।

उत्कृष्ट कार्य गर्ने डिएसपीद्वय क्षेत्री र श्रेष्ठले समान २५–२५ हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । इन्सपेक्टर गुरुङ र बोगटीले समान १७ हजार नगद तथा प्रमाणपत्र, प्रनानी टेक बहादुर कुँवरले २५ हजार नगद तथा प्रहरी जवान सेठ्ठीले १० हजार नगद तथा उत्कृष्टताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई बिहीबार आयोजित एक कार्यक्रमका बीच महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेल र नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्ञानेन्द्र ढुंगानाले संयुक्त रुपमा पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

एसएसपी पोखरेलले काठमाडौं प्रहरीको कमाण्ड सम्हालेसँगै नेपाल बंगलादेश बैंकले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार वितरण गर्न भन्दै काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार नगद उपलब्ध गराउने सम्झौता गरेको थियो ।

‘विभेद गरिएको’ भन्दै असन्तुष्टि

काठमाडौं प्रहरीले उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्ने नयाँ अभ्यासको शुरु गरेको पहिलो महिना नै ‘राम्रा’ लाई भन्दा ‘हाम्रा’ लाई पुरस्कृत गरिएको भन्दै असन्तुष्टि बढेको छ ।

वैशाख महिनामा उल्लेखनिय काम गरेका महानगरीय प्रहरी वृत महाराजगञ्जका प्रमुख (डिएसपी) योगेन्द्रसिंह थापा पुरस्कार पाउनबाट वञ्चित भएका छन् । वैशाख ३ गते राती बसुन्धरास्थित भित्री सडकमा ढुंगाले हानेर युवती मारेको घटनामा संलग्न युवालाई थापाले केही घण्टामा पक्राउ गरेर सार्वजनिक गरेका थिए ।

हतियार बरामद, फरार अपराधी पक्राउ तथा कर्तव्यज्यानको घटनामा तुरुन्त जरोसम्म पुगेर अपराधीलाई कानुनी कठघरामा ल्याउन सफल डिएसपी थापालाई पुरस्कार नदिएर अन्याय गरेको भन्दै काठमाडौंमा कार्यरत कतिपय अफिसरले असन्तुष्टि व्यक्त गरेका छन् ।

महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रमुख (इन्सपेक्टर) शर्मिला गुरुङलाई पुरस्कृत गरेकोमा पनि आलोचना भएको छ । गत बर्ष सामाखुसीस्थित नेपाल प्रहरी स्कुलमा अध्ययनरत कुन्दन थापाले गुरुङकै टर्चरका कारण आत्महत्या गरेका थिए ।

कुन्दनको शंकास्पद मृत्युपछि एसपी श्याम ज्ञवालीको संयोजकत्वमा बनेको छानविन समितिले तत्कालिन कमाण्डेन्टको व्यवस्थापकीय कमजोरीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै गुरुङलाई विभागीय कारवाहीको सिफारिस गरेको थियो ।

‘कुन्दन प्रकरण’ पछि बलम्बुको प्रमुखको रुपमा सरुवा भएकी गुरुङले आफूभन्दा अघिल्लो इन्सपेक्टरले कार्यालयमा फिट गरेको सिसी क्यामेरा समेत आफैंले राखेको रिपोर्ट बनाएर पुरस्कारको दाबी गरेको काठमाडौं प्रहरीका एक अधिकृतले बताएका छन् ।

वैशाख दोस्रो साता सतुंगलमा आयोजित सार्वजनिक सुनुवाईमा स्थानीय आमा समूहका सदस्यहरुले गुरुङले शान्तिशुरक्षामा तदारुकता नदेखाएको भन्दै उनको आलोचना गरेका थिए ।

काठमाडौं प्रहरीले एसपी रामदत्त जोशीको अध्यक्षतामा ‘पुरस्कार छनोट समिति’ निर्माण गरेको थियो । समितिको छनोटमा महानगरीय प्रहरी प्रभाग नागढुंगाका इन्स्पेक्टर केशवराज भट्ट समेत पर्न नसकेको भन्दै आलोचना भएको छ । भट्टले काठमाडौं भित्रिने सवारी चेकजाँचमा कडाई गर्दै उल्लेखनीय परिणाममा लागुऔषध र भन्सार छलेर ल्याएका सामग्रीहरु बरामद गर्दै आएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) मोहन थापाले मापदण्ड निर्माण गरेर पुरस्कर प्रदान गरिएको दाबी गर्दै उत्कृष्टहरु नछुटेको बताए । उनले भने, ‘पुरस्कार दिने क्राईटेरिया बनाएका थियौं, क्राईटेरिया मिट हुनेहरुले पाएका छन् ।’

एसपी रामदत्त जोशी नेतृत्वको समितिले शान्तिसुरक्षा, अपराध नियन्त्रण र कार्यालय व्यवस्थापन गरी ३ वटा प्रावधान राखेर पुरस्कृत हुने प्रहरी कर्मचारीको छनोट गरेको थियो ।

लामो समयको मेहनतपछि प्रदेशसभाका सांसद तथा गुण्डा नाईके दिपक मनाङ्गे पक्राउ गर्न सफल इन्सपेक्टर रामकुमार राई र प्रनानी दिपेन्द्र चन्द पनि पुरस्कार पाउनबाट बञ्चित भएका छन् ।

त्यस्तै महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्सपेक्टर प्रताप पौडेल पनि पुरस्कारबाट बञ्चित भएका छन् । बसपार्कका होटल तथा गेष्ट हाउसमा हुने अवैध क्रियाकलाप बन्द गराएका थापाको साटो पुरस्कार छनोट समितिले भीड नियन्त्रणको कार्यादेश पाएको नगर प्रहरीका इन्सपेक्टर पुष्कर बोगटीलाई पुरस्कृत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप