शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

समाजशास्त्रमा एमए सुरेन्द्रको जुस बेचेर मासिक आम्दानी १ लाख

मङ्गलबार, २७ असार २०७४, ११ : २२
मङ्गलबार, २७ असार २०७४

बिहान साढे चार बजे उठ्छन् । झोलाभरि घ्युकुमारी हाल्छन् । ग्राइन्ड मिक्स्चर, २० किलोग्रामको पोर्टेबल जेनेरेटर, प्लास्टिकको टेबल, २० लिटर पानीसहितको मिनरल वाटर जार, जग, चपिङबोर्ड, चक्कु, झन्डै दुई सय प्लास्टिकका गिलास र बीरे नुन जम्मा पार्छन् । त्यसपछि काठमाडौं कोटेश्वरको महादेवस्थानपरिसर पुग्छन् । त्यतिबेलासम्म बिहानको पाँच बजिसक्छ ।


दुई वर्षदेखि उनको बिहानको दिनचर्या यसरी नै बितिरहेको छ । उनले दैनिक चार घन्टा महादेवस्थानपरिसरमा घ्युकुमारीको जुस बेच्छन् । दैनिकजसो सय गिलास बढी घ्युकुमारीको जुस बिक्री हुन्छ । एक गिलासको २० रुपैयाँ पर्छ ।


लमजुङको आफ्नै बारीमा उत्पादित घ्युकुमारीको जुस बेच्न थालेपछि महादेवस्थानपरिसरमा बिहान भीडभाड नै लाग्छ । उनले भने, ‘सबै उमेर समूहका भए पनि ४० माथिका ग्राहक बढी छन् । घ्युकुमारीको जुस खाने ग्राहक बढ्दै गएका छन् ।’ 


छँदाखाँदाको जागिरभन्दा घरमै उत्पादित घ्युकुमारी सदुपयोग गर्न उनी लोभिए । व्यापार अपार हो भन्ने भेउ पाएका उनको तर्क छ, ‘जागिर छाडेको भोलिपल्ट सडकमा भइन्छ । व्यापार प्रवद्र्धन गर्न सके अपार हुन्छ ।’ 


समाजशास्त्र स्नातकोत्तर गर्दै गरेका उनले घ्युकुमारीको जुस बेचेरै मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । दैनिक बिहान चार घन्टा मिहिनेत गरेपछि एक लाख हात पार्न कठिन छैन । तर उनी भन्छन्, ‘कच्चा पदार्थ संकलन गर्न त्यति सजिलो छैन ।’

महिनामा लाख रुपैयाँ आम्दानी गर्न कठिनाइ पनि छ । कसरी ? ‘पानी परेको समय ग्राहक हुँदैनन्,’ उनले दुःखेसो पोखे, ‘जाडो मौसम र चाडबाडमा समेत ग्राहक पाइँदैनन् । पानी परिरह्यो भने कच्चा पदार्थ काठमाडौंसम्म ल्याइपुर्याउन गाह्रो हुन्छ । टिपेको २४ घन्टापछि घ्युकुमारी गर्न मिल्दैन ।’


सकेसम्म यही व्यवसायलाई निरन्तरता दिने सोचेका उनले घ्युकुमारीको जुस बेचेर तीनजनाको परिवार पालेका छन् । साह्रोगाह्रोमा कसैले सहयोग मागिहाले पैसा छैन भन्नुपरेको छैन ।


उच्च रक्तचाप, मधुमेह, दमरोगीदेखि स्वस्थ मानिससमेत उनका ग्राहक हुन् । उनी ग्राहकको स्वास्थ्यप्रति त्यत्तिकै सचेत छन् । उनले सुनाए, ‘घ्युकुमारी चिसो हुन्छ । मात्रा मिलाएर दिन सकिएन भने ग्राहकको स्वास्थ्यमा असर पर्छ । एक गिलास जुस बनाउन ३० ग्राम घ्युकुमारी राख्नुपर्छ । मतलब १२० एमएल पानीमा ३० एमएल घ्युकुमारी राख्दा उपयुक्त हुन्छ ।’


घ्युकुमारी स्वस्थबद्र्धक मानिन्छ । यसमा रोगसँग लड्न क्षमता बढाउने तत्व हुन्छ । उच्च रक्तचाप, मधुमेहका रोगीलाई घ्युकुमारीको जुस लाभदायक हुन्छ । यसले चिनीको मात्रा सन्तुलनमा राख्न त्यत्तिकै सघाउ पुर्याउँछ । भिटामिन र खनिजको मात्रा बढाउने यसको सेवनले कोलस्ट्रोल बढ्न दिँदैन । त्यतिमात्रै होइन, घ्युकुमारी सेवनले क्यान्सर ट्युमर बढ्न दिँदैन । 


घ्युकुमारीको स्वस्थबद्र्ध मानिए पनि डाइलासिस गर्दै आएका मृगौला रोगी, निमोनिया, गर्भवतीले खान हुँदैन,’ उनले सुझाए, ‘युरिक एसिड भएकाले तातोपानीमा मिसाएर खानुपर्छ ।’


महिनामा लाख रुपैयाँ आम्दानी गर्न कठिनाइ पनि छ । कसरी ? ‘पानी परेको समय ग्राहक हुँदैनन्,’ उनले दुःखेसो पोखे, ‘जाडो मौसम र चाडबाडमा समेत ग्राहक पाइँदैनन् । पानी परिरह्यो भने कच्चा पदार्थ काठमाडौंसम्म ल्याइपुर्याउन गाह्रो हुन्छ । टिपेको २४ घन्टापछि घ्युकुमारी गर्न मिल्दैन ।’ कच्चा पदार्थ जुटाउने समस्या भएपछि काठमाडैंको मूलपानीमा तीन रोपनी जग्गामा घ्युकुमारी खेती थालिएको छ । 


स्नातकोत्तर दोस्रो वर्षको नतिजा पर्खिरहेका उनलाई एक ग्राहकले यत्रो पढेकाले के घ्युकुमारी बेचिबसेको भन्दा पनि उनलाई अप्ठ्यारो लागेन । घ्युकुमारीको जुस बेच्दै आएका सुरेन्द्र तिमिल्सिनाले खुसी व्यक्त गरे, ‘तर, म यही व्यवसायमा रमाइरहेको छु । त्यत्तिकै सन्तुष्ट छु ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप