शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एकै पटक दुईजना गर्लफ्रेन्डसँग विवाह गर्दै रोनाल्डिन्हो ?

बिहीबार, १० जेठ २०७५, १७ : २८
बिहीबार, १० जेठ २०७५

एजेन्सी । ब्राजिलियन फुटबलर रोनाल्डिन्होले एकैपटक दुईवटा युवतीसँग विवाह गर्न लागेको समाचार बाहिर आएको छ ।

बेलायती अनलाइन डेली मेलका अनुसार ३८ वर्षीय खेलाडी आफ्नो दुई मङ्गेतरसँग प्रिस्किला काइल्हो र बिट्रिज सोउजासँग रियो दि जनेरियोस्थित आफ्नो ५० लाख डलर पर्ने महलमा बसिरहेका छन् ।
अब उनले दुवैसँग आगामी अगस्तमा विवाह गर्न लागेका हुन् ।

ब्राजिलियन सञ्चारमाध्यमलाई उद्धृत गर्दै खास नाम ‘रोनाल्डो डे एसिस मारेइरा’ भएका रोनाल्डोले आफ्नो घरमा सानो कार्यक्रमबीच विवाह गर्ने समाचारमा भनिएको छ ।

यद्यपि, ब्राजिलमा बहुविवाह गैरकानूनी मानिन्छ र यसबापत ६ वर्षसम्म जेलसजाय हुने व्यवस्था रहेको छ । त्यही भएर रोनाल्डिन्होले विवाह कार्यक्रम आयोजना गरे पनि दुईवटा विवाहलाई आधिकारिक रुपमा दर्ता नगर्ने पनि बताइएको छ ।

बार्सिलोनाका पूर्व स्टारले सन् २०१६ देखि बिट्रिजलाई डेट गर्न शुरु गरेको तर यसबीचमा प्रेमिका प्रिस्किलासँग पनि सम्बन्ध जारी राखेको बताइएको छ ।

रिपोर्टका अनुसार दुवै प्रेमिकाले पकेटमनीको रुपमा आफूखुसी खर्च गर्न १५ सय डलर पाउने गर्छन् ।

उनले कथितरुपमा दुवैलाई एउटै प्रकारको उपहार पनि दिने गरेका छन् ।

ब्राजिलको ओ डिया पत्रिकाका पत्रकार लियो डियासको दाबी अनुसार गत वर्षको जनवरीमा रोनाल्डिन्होले दुवैलाई विवाहको प्रस्ताव गर्दै औँठी दिएका थिए ।

डियासका अनुसार रोनाल्डिन्होकी दिदी आफ्नो भाईको निर्णयबाट असन्तुष्ट रहेकी छिन् र सो विवाह समारोहमा सहभागी हुनेछैनन् ।

रोनाल्डिन्होले मंगनी गरेको खबर गत वर्ष नै आएको थियो । तर, उनले सामाजिक सञ्जालबाट यसको खण्डन गरेका थिए ।

उनले खण्डन गरे पनि उनको विवाहबारे समाचारले ब्राजिलमा निकै चर्चा कमाइरहेको छ । रोनाल्डोका छिमेकी रहेका ब्राजिलियन गायक जर्ज भर्सिलियोले उनको विवाहमा गाउने जिम्मा पाएको समाचारमा दाबी गरिएको छ ।

दुवै प्रिस्किला र बिट्रिज बेलो होरिजोन्टेबाट रहेका छन् जहाँ रोनाल्डिन्होले फुटबल खेलेको क्लब एथ्लेटिको मिनेरियो रहेको छ ।

रोनाल्डिन्होले सार्वजनिकरुपमा दुई महिलासँग सम्बन्ध रहेको स्वीकार नगरे पनि उनका साथीहरुका अनुसार रोनाल्डो जहाँ जाँदा पनि दुवैलाई लिएर हिँड्ने गरेका छन् ।

गत मार्चमा जापानबाट उनको इन्सटाग्राममा जारी गरिएको भिडियोमा दुवै महिलासँगै देखिएका थिए ।

रोनाल्डिन्हो यतिबेला पूर्व फुटबल रोमारियोजस्तै राजनीतिमा आफ्नो भविष्य बनाउने तयारी गरिरहेका छन् । उनी ब्राजिलियन रिपब्ल्किन पार्टीसँग आबद्ध पनि भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप