शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्घाटन भएको छ दशकपछि काठमाडौँ–राजविराज नियमित उडान  (फोटोफिचर)

बिहीबार, १० जेठ २०७५, १६ : १४
बिहीबार, १० जेठ २०७५

सप्तरी । काठमाडौं राजविराज हवाई उडान पुनः सुचारु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री रवीन्द्र अधिकारीले एक समारोहका बीच बिहिबार दिउँसो सप्तरीको राजविराजस्थित विमानस्थल उद्घाटन गरेका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले प्यासेन्जर भए पनि नभएपनि काठमाडौँ राजविराज एउटा फ्लाइट नियमित गर्न विमान कम्पनीलाई निर्देशन दिए । उनले बिस्तारै यात्रुहरुको संख्या बढ्ने बताउँदै भने – ‘जबसम्म समयको ग्यारेन्टी हुन्न तब यात्रुले विश्वास गर्दैनन् । विमान उड्ने समय निश्चित गर्नुहोस् यात्रुहरु आफै बढ्नेछन् ।’

उनले जहाज उढ्ने निश्चित समय निर्धारण गरि जहाज उढाउन कम्पनीका प्रवन्ध निर्देशक सुधीर मित्तललाई आग्रह गर्दै यात्रु कम भए विमान कम्पनीलाई सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

असार १ गतेदेखि काठमाडौं राजविराज नियमित हवाई उडान गर्ने सम्झौता भएको बताउँदै मन्त्री अधिकारीले भारतीय तीर्थयात्रीले पशुपतिनाथको दर्शनका लागि सो विमानस्थल प्रयोग गर्ने सम्भाव्यता रहेको भन्दै यात्रु बढाउने अभियान अघि बढाउन पनि आग्रह गरे । 

मन्त्री अघिकारीलाई राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले गरेको काग्रो विमानस्थल बनाउँन गरेको आग्रहलाई सकारात्मक भन्दै त्यो सम्भावना पनि रहेको उल्लेख गरे । 

मन्त्री अधिकारीले नयाँ विमानस्थल बनाउने तर्फभन्दा पनि भएका विमानस्थलको सुधार गर्नतर्फ आफू लागिपरेको उल्लेख गरे । आफूले मन्त्रालय सम्हालेको १ सय दिनभित्र अछामको साँफेबगर र सप्तरीको राजविराजको विमानस्थल सञ्चालन गर्नेबारे बनाएको योजना पूरा भएको बताए । 

उद्घाटन समारोहमा बोल्दै मधसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले राजविराज विमानस्थल सञ्चालनले काठमाडौँसँग सम्बन्ध जोडिएको बताउँदै भविष्यमा उक्त विमानस्थलको सम्पर्क अन्य क्षेत्रसँग पनि जोडिने आशा व्यक्त गरे । 

उनले नेपालका पिछडिएका जिल्लामध्ये बाजुरापछि सप्तरी रहेको उल्लेख गर्दै सप्तरीको विकासका लागि भारतसँग राजमार्गले जोडन पनि आग्रह गरे । उनले सप्तरीदेखि भारतको दरभंगासम्म झन्डै ११ किलोमिटर दुरी रहेको बताउँदै त्यसलाई सडक सञ्जालले जोड्ने हो भने सप्तरीको विकासमा सहयोग पुग्ने उल्लेख गरे । साथै अध्यक्ष यादवले श्री एयरलाइन्सलाई नियमित रुपमा उडान भर्न पनि आग्रह गरे । 

यस्तो छ राजविराज विमानस्थल 

सप्तरीको विसनपुरा गाँउपालिकामा रहेको सो विमानस्थलको २०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहले उद्घाटन गरी सञ्चालनमा आएको थियो । २०४६ सालमा विमानस्थल बन्द हुनुअघि १९ सिट क्षमताको ट्विन अटर विमानबाट समय–समयमा उडान हुँदै आएको थियो । 

अहिले धावनमार्ग, ट्याक्सी–वे तथा पार्किङको कालेपत्रे तथा अन्य मर्मतको काम गरिएको छ । यसका लागि २०७३ असोज १६ गते सम्झौता भएको थियो भने कार्तिक १३ गतेबाट निर्माण शूरु गरिएको थियो । गत बैशाख २९ गते आयोजनाको काम सम्पन्न भएको थियो ।

३० करोड, ३० लाख ७४ हजार ५ सय २८ रुपैँया खर्चमा विमानस्थल तयार पारिएको हो ।  

विमानस्थलमा १५ सय मिटर लम्बाई र ३० मिटर चौडाई कालोपत्रे गरिएको छ भने ट्याक्सी पार्किङ १ सय ५ मिटर लम्बाई र २० मिटर चौडाई र एप्रोन ९० मिटर लम्बाई र ६० मिटर चौडाई कालोपत्रे गरिएको छ । यस्तै धावनमार्गको दुवैतर्फ कच्ची नाला निर्माण गरिएको छ । यो विमानस्थलको धावनमार्गको  लम्बाई अनुसार मझौला किसिमका ७२ सिट वा सो सरहका विमानले दुईतर्फी उडान तथा अवतरण गर्न सक्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । साथै विमानस्थल छेउमा खाली जग्गा आवश्यक पर्ने भएकोले मुआब्जाका लागि ५२ करोड रुपैयाँ विनियोजन समेत गरेको छ । 

श्री एयरलाइन्सको फ्लाइट टेस्ट 
असार १ गतेदेखि नियमित उडान गर्नुपूर्व निजी हवाई कम्पनी श्री एयरलाइन्सले परिक्षण उडान गरेको छ । बुधवार धावनमार्गमा परिक्षण गरेको विमान कम्पनीले बिहिबार बिहान संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री रवीन्द्र अघिकारी,  सो जिल्लाका सांसद रेणु यादव, राष्ट्रिय सभाका सदस्य जितेन्द्र देव लगायतका सप्तरीका सांसदहरु, मन्त्रालयका कर्मचारीहरु तथा सञ्चारकर्मीहरुलाई विमानस्थल लगेको थियो । श्री एयरलाइन्सका निर्देशक सुधीर मित्तलले हवाई उडानका लागि सहयोग गर्न मन्त्री नेता तथा सप्तरीका स्थानीयलाई आग्रह गरे । 

वर्षौँपछि जिल्लामा विमानस्थल सञ्चालनमा आएर जहाज अवतरण गर्न आएको हेर्न विमानस्थलमा परिसरमा स्थानीयबासीको भीड लागेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप