बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानको विश्वविद्यालयको फरमानः छात्र–छात्राबीच ६ इन्चको दूरी राख्नू, छुन निषेध

बिहीबार, १० जेठ २०७५, १३ : ५५
बिहीबार, १० जेठ २०७५

पाकिस्तानको एक विश्वविद्यालयले अनौठो निर्देशन दिएको छ । यो निर्देशनको सामाजिक संजालमा निक्कै आलोचना भइरहेको छ । 
पाकिस्तानी पत्रिका डनका अनुसार इस्लामाबादस्थित बहरिया विश्वविद्यालयले पुरुष र महिला विद्यार्थीहरुलाई सँगै रहँदा ६ इन्चको दूरी कायम राख्न निर्देशन दिएको छ ।

गत हप्ता विश्वविद्यालयले कराची, लाहोर र इस्लामाबादमा रहेको आफ्ना तीनै क्यापसका विद्यार्थीका लागि यो नोटिस जारी गरेको हो । ड्रेस कोडबारेमा आएको नोटिसको एक प्रति सामाजिक संजालमा भाइरल भएपछि यसको व्यापक विरोध भइरहेको छ ।
नोटिसमा भनिएको छ “विभागहरुका प्रमुख र सुरक्षाकर्मीहरुले सबैले पुरुष र महिला विद्यार्थी ६ इन्चको दूरीमा बसेको वा उभिएको सुनिश्चित गराउनु पर्नेछ ।”
यसका साथै पुरुष र महिलालाई एक अर्कालाई छुन कडा नियन्त्रण गरिएको छ । यसको उलघंन गर्नेहरु विरुद्ध अनुसन्धानात्मक कारबाही गर्ने चेतावनी दिइएको छ ।
समाचार अनुसार ‘द फेडरेशन अफ अल पाकिस्तान यूनिभर्सिटीज एकेडेमिक स्टाफ एसोसिएशन’ले बहरिया विश्वविद्यालयलाई आफ्नो नोटिस फिर्ता लिन माग गरेको छ । एसोसियशनका अध्यक्ष डा.कलीमुल्लाह बारेचले यो नोटिस बकवास भएको र यसले विद्यार्थीमाझमा भ्रम सिर्जना गर्ने बताए ।
बहरिया विश्वविद्यालयकी प्रवक्ता महविश कामरानले नोटिसको प्रतिरक्षा गर्दै विद्यार्थीबीच अनुशासन कायम राख्नको लागि यो नोटिस जारी गरिएको बताइन् ।
पछिल्लो वर्ष इस्लामाबादमा रहेको इन्टरनेशनल इस्लामिक यूनिभर्सिटीले जारी गरेको एक ड्रेस कोड आलोचनाको केन्द्रमा आएको थियो । उसले महिलाहरुलाई डिप नेक, बाहुला नभएको कपडा, मेकअप, धेरै गहना, अग्लो हिल, क्याप्री प्यान्ट, कसिलो कपडाहरु लगाउन प्रतिबन्ध लगाएको थियो ।
नेशनल युनिभर्सिटी अफ मोर्डन ल्याङ्ग्वेजमा लेक्चरर रहेकी ताहिर मलिकले भनिन् “ विश्वविद्यालयले यो ६ इन्चको दुरी कसरी नाप्नेछ ? यो मैले नबुझेको कुरा हो ।” उनले विश्वविद्यालयको ध्यान शैक्षिक वातावरण निर्माणमा हुनुपर्ने बताइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप