शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेको विकट डाँडापारिबाट पनि नागरिकता वितरण

बिहीबार, १० जेठ २०७५, १२ : ४१
बिहीबार, १० जेठ २०७५


बनेपा- काभ्रेपलाञ्चोक जिल्लाको विकट डाँडापारिस्थित महाभारत गाउँपालिकाका जनताले अब नागरिकता बनाउनकै लागि जिल्ला सदरमुकाम धुलिखेलसम्म धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । 

बुधबारदेखि महाभारत गाउँपालिकाको बनखुचौरमा इलाका प्रशासन कार्यालय स्थापना गरी विधिवत्रुपमा सेवा प्रवाह शुरु गरेपछि डाँडापारि बासिन्दाका लागि नागरिकता बनाउनकै लागि सदरमुकाम धाउनै पर्ने बाध्यताको अन्त्य भएको हो । 

काभ्रेपलाञ्चोकको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत र जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले कार्यालय उद्घाटन गर्नु भई सेवा शुभारम्भ गरे । 

गाउँमा नै इलाका प्रशासन कार्यालय स्थापना भएपछि पहिलोपटक महाभारत गाउँपालिकाका–६ का मकरबहादुर थिङ र नानीमाया थिङका छोरी अनिता थिङ र छोरा प्रवीण थिङले नागरिकताको प्रमाणपत्र लिएका छन् । इलाका प्रशासन कार्यालय स्थापना गरेर आफ्नै घर आँगनबाट सेवा लिन पाएकोमा धेरै खुशी लागेको उनीहरुको भनाइ छ । 
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सेवाग्राहीले नजिकको ठाउँबाट सेवा पाउने इच्छाअनुसारको सेवा प्रदान गर्न उक्त कदम चालेको बताए। 

“जिल्लाको दुर्गम महाभारत गाउँपालिकाका सबै नागरिकले आगामी दिनमा नागरिकता, नागरिकता प्रतिलिपि, नाबालक परिचयपत्र र मेशिन रिडएबल पासपोर्ट (एमआरपी) का सिफारिशसमेत इलाका प्रशासन कार्यालयबाट उपलब्ध हुनेछ ।” राउतले भने, “प्राप्त सेवालाई दीर्घकालीन रुप दिनको लागि भौतिक पूर्वाधारको व्यवस्था गर्न गाउँपालिकाले आवश्यक व्यवस्थापनमा लाग्नुहोला ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप